• २०८१ मंसिर २९ शनिवार

बोखिमको उपन्यास ‘गोधूलि गीत’ लोकार्पण

काठमाडौं ।

दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच कवि श्यामल, आख्यानकार नवीन विभास, कवि नरेन्द्रकुमार नगरकोटी र आख्यानकार भानु बोखिमले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा भानु बोखिमस“ग पत्रकार, निबन्धकार दीपक सापकोटाले अन्तरक्रिया पनि गरेका थिए ।

‘गोधूलि गीत’ युद्धको सजीव दस्तावेज भएको श्यामलले बताए । ‘सरल भाषामा माओवादी युद्ध बुझ्न यो उपन्यास पढ्नुपर्छ’, उनले भने, ‘अति सामान्य मान्छेको युद्धकालीन आख्यान हो यो, जसलाई थाहा छ व्यवस्था ठिक छैन, अत्याचार ठिक छैन, परिवर्तन चाहिन्छ । जीवन्त रुपमा युद्धको अक्षरीकरण गर्छ उपन्यासले ।’

नवीन विभासले भने, ‘उपन्यास रोल्पाका ईश्वरी बुढामगर, धनबहादुर, कुमार, खड्गबहादुरहरुको जीवनको एक समयको भयानक कथा हो ।’ उनले भने, ‘कसरी ईश्वरी बुढामगरहरु र ईश्वरीका बा धनबहादुरहरु विद्रोह गर्न पुग्छन् ? परिवर्तनको लागि इमानदार मान्छेहरु, जो ससाना सपनाहरु बोकेर युद्धमा सामेल भए, ती कसरी तड्पिए र पिल्सिए ? तिनका जिन्दगीमाथि किताबले प्रश्न गरेको छ ।’

‘युद्धका असरबिचको यात्रापछि रोल्पा र तपाईंको पात्र ईश्वरीलाई कस्तो देख्नुभयो ?’ दीपक सापकोटाको प्रश्नमा भानु बोखिमले भने, ‘कसैलाई युद्ध मन परोस् वा नपरोस्, यसले कसैलाई लाभ होला कसैलाई क्षति, तर युद्धले सबै जनतालाई भयानक असर गरेकै हुदोरहेछ’, उनले भने, ‘मेरा पात्रहरु भयानक संकटबाट गुज्रिए । म चाहन्छु, उनीहरुको सपना पूरा होस् ।’ कलम प्रकाशनले प्रकाशन गरेको उपन्यासको मूल्य ६९५ रहेको छ ।