समाचार
यो कोलाहल, यो भीड,
यो ठेलमठेल, यी अपरिचित,
यो माछा बजार हो जस्तो छ,
यो व्यापार र मोलमोलाइहीनता,
उनीहरूको ठगी र यिनीहरूको निरीहता,
यो सरकार हो जस्तो पनि छ,
यी शङ्ख, घण्ट र तिनका ध्वनि,
यी भजन, यी क्रन्दन र भव्यता,
यो मन्दिरजस्तो पनि छ,
तर, खोजिएको त्यो यो होइन, अर्कै हो,
जहाँ शब्दहरू ध्वनिविहीन हुन्छन्,
जहाँ अनुभूतिहरू अभिव्यक्तिविहीन हुन्छन्,
जहाँ आरोहहरू ईर्ष्याविहीन हुन्छन्,
जहाँ अवरोहहरू विलापविहीन हुन्छन्,
सायद त्यो त्यस्तो ठाउँ हो-
जसलाई मलामीहरूले पनि छाडेर जाने गर्छन् ।
हो, त्यो त्यही हो, त्यो त्यस्तै ठाउँ हो,
त्यो आनन्दको सागरसँगै छ ।
…………………………
श्रवणकुमार ढुंगाना