हिन्दी कविता
काठमाडौं ।
वाङ्मय विमर्श तथा साहित्य संवादको आयोजनामा लघुकथा लेखन कार्यशाला मा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । नेपाली समय साँझ ६ः४५ बजे सुरु भएको कार्यशालामा नेपाली भाषाको लघुकथामा विद्यावारिधि गर्नुभएका डा. पुष्करराज भट्टले प्रशिक्षण दिनुभएको थियो ।
विश्वका विभिन्न देशबाट सहभागी साहित्यकारलाई प्रशिक्षण दिँदै डा. भट्टले लघुकथा छोटो आकारमा महत्वपूर्ण विषय र गहिरो सन्देश प्रस्तुत गर्ने विधा भएको बताउनुभयो। लघुकथाले सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक तथा सांस्कृतिक विकृति र विसङ्गतिमाथि प्रभावकारी ढङ्गले प्रहार गर्न सक्ने उहाँको भनाइ थियो। शीर्षक, पात्र, घटना, द्वन्द्व, दृष्टिकोण र अन्त्यको संरचनामा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यशालामा डा. भट्टले कथाकार विनयकुमार कसजु र ध्रुव मधुकर्मीका एक–एक लघुकथा वाचन गरी तिनको संरचना र विशेषतामाथि चर्चा गर्नुभयो। अनेसासका संस्थापक होमनाथ सुवेदीले कार्यक्रमको प्रशंसा गर्दै कविताको भावपूर्ण र अर्थपूर्ण अंशजस्तै लघुकथाले पनि छोटो आकारमा प्रभावकारी भाव व्यक्त गर्न सक्ने धारणा राख्नुभयो ।
कार्यशालामा डा. छत्रपति दाहाल, प्रा. डा. पशुपति फुयाल, प्रह्लाद पोख्रेल, डा. कृष्ण शाह यात्री, सहदेव कोइराला, श्री पोख्रेल, गङ्गा अभिलाषी, भैरव ढकाल, शर्मिला पोख्रेललगायतले लघुकथाको आकार, शब्दसीमा र लेखन प्रविधिसम्बन्धी जिज्ञासा राखेका थिए। सहभागीका जिज्ञासाको जवाफ दिँदै डा. भट्टले लघुकथाको शब्दसीमा निश्चित नभए पनि नेपालमा विगतमा २५० देखि ३०० शब्दसम्मका र पछिल्लो समय करिब १०० शब्दका रचनालाई समेत लघुकथा भन्ने गरिएको बताउनुभयो । एकै बसाइमा करिब ३ देखि ५ मिनेटमा पढिसकिने कथा पनि लघुकथाका रूपमा लिइने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यशालामा होमनाथ सुवेदी, सङ्गीता ठाकुर, देवेन्द्र पराजुली, तारा उप्रेती, चन्द्र राई, कमला उप्रेती, मुक्ति गौतम, रेनु उप्रेती, मदनराज थापा, ललिता दोषी, जानकी कर्माचार्य, बुलबुल जी, वन्दना घिमिरे, प्रा. डा. हिरण्यलाल ज्ञवाली, जिबू अजिब, कल्पना तामाङ, गोकुल अधिकारी, शर्मिला पोख्रेल, लक्ष्मी बास्तोलालगायतका स्रष्टाको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा वाङ्मय विमर्श तथा साहित्य संवादका तर्फबाट सुरेन उप्रेतीले प्रशिक्षक डा. भट्ट तथा सहभागीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
