समाचार
काठमाडौं ।
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड ‘इन्फा अवाड्र्स नेपाल–२०२६’ मा फिल्म ‘ऊनको स्विटर’ ले सर्वाधिक नौ विधामा अवार्ड जित्दै आफ्नो दबदबा कायम गरेको छ । इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न भव्य समारोहमा नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता, संगीतकर्मी तथा प्राविधिकहरूको उल्लेख्य सहभागिता थियो ।
नवीन चौहान निर्देशित ‘ऊनको स्विटर’ ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट गीतकार, उत्कृष्ट पटकथा र उत्कृष्ट संगीतकार गरी महत्वपूर्ण विधामा अवार्ड हात पारेको हो । समारोहमा ‘ऊनको स्विटर’ उत्कृष्ट चलचित्र घोषित हुँदा निर्देशकतर्फ नवीन चौहान उत्कृष्ट बन्नुभयो । सोही फिल्मबाट मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट अभिनेतामा भने ‘परान’बाट नीर शाह र ‘ऊनको स्विटर’बाट विपिन कार्की संयुक्त विजेता बन्नुभयो ।
‘ऊनको स्विटर’कै ‘काफ्ले’ गीतका लागि झुमा लिम्बुले उत्कृष्ट पाश्र्व गायिका तथा ‘फूलहरू’का लागि सुजन चापागाईंले उत्कृष्ट पाश्र्व गायकको अवार्ड जित्नुभयो । ‘फूलहरू’ गीतकै लागि हर्क साउद उत्कृष्ट गीतकार घोषित हुनुभयो । पटकथातर्फ नवीन चौहान र सुरजले अवार्ड प्राप्त गर्नुभयो ।
‘जेरीः अन टप’ र ‘द ब्लू लाइट’ पनि अब्बल
अवार्ड समारोहमा ‘जेरीः अन टप’ ले प्राविधिक तथा अभिनय विधामा आफ्नो प्रभाव देखाएको छ । फिल्मबाट निमेष रेग्मीले उत्कृष्ट छायांकन, निमेष श्रेष्ठले उत्कृष्ट सम्पादन तथा आँचल शर्माले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड प्राप्त गर्नुभयो । त्यस्तै ‘द ब्लू लाइट’ बाट मोहक श्रेष्ठले उत्कृष्ट पाश्र्व संगीत तथा श्रृष्टि श्रेष्ठले उत्कृष्ट खलपात्रको अवार्ड जित्नुभयो । चरित्र अभिनयतर्फ ‘श्री बुकुरो’बाट लक्ष्मी गिरी उत्कृष्ट चरित्र अभिनेत्री र ‘हर्ष’बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता घोषित हुनुभयो । ‘राम नाम सत्य’बाट श्री श्रेष्ठले उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड हात पार्नुभयो । ‘अभिमन्यू’बाट प्रकाश दाहाल उत्कृष्ट सह–अभिनेता, ‘माइतीघर’बाट श्यामश्री शेर्पा उत्कृष्ट नव–अभिनेत्री तथा ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडी उत्कृष्ट नव–अभिनेता घोषित हुनुभयो । ‘मोहर’को ‘चाहिँदैन मोहर’ गीतका लागि रामजी लामिछाने उत्कृष्ट नृत्य निर्देशक बन्नुभयो ।
मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
समारोहको विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । उहाँलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद राशिसहित दोसल्ला र ताम्रपत्र प्रदान गर्दै सम्मान गरिएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक टंक भट्टराईलगायतले श्रेष्ठलाई सम्मान गर्नुभएको थियो । उक्त अवार्ड ओमेगा इनकर्पोरेशन्सले प्रायोजन गरेको थियो ।
कविता नेपाल ‘पर्फमर अफ द इयर’, पल शाह लोकप्रिय अभिनेता
समारोहमा अभिनेत्री कविता नेपाललाई ‘पर्फमर अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो । अभिनेत्री उषा उप्रेतीले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गर्नुभयो । त्यस्तै ‘जेरीः अन टप’बाट जस्सिता गुरुङ लोकप्रिय अभिनेत्री तथा पल शाह लोकप्रिय अभिनेता घोषित हुनुभयो । जुरी अवार्डतर्फ ‘सिटामोल’बाट सौगात मल्ललाई अभिनेता, ‘रमिताको पिरती’बाट सुदीप्ता अधिकारीलाई निर्देशक तथा ‘गुन्यु चोलो’बाट समुद्र भट्टलाई चलचित्रतर्फको अवार्ड प्रदान गरिएको थियो । यसैगरी कान्समा सफलता हासिल गरेको नेपाली फिल्म ‘एलिफेन्टस इन द फग’ लाई विशेष सम्मान गरिएको थियो ।
बेलायतपछि काठमाडौंमा तेस्रो संस्करण
इन्फा अवाड्र्सका अघिल्ला दुई संस्करण बेलायतमा आयोजना गरिएको थियो । तेस्रो संस्करण भने नेपाली फिल्म क्षेत्रका कलाकार तथा चलचित्रकर्मीको उत्साहजनक सहभागिताबीच काठमाडौंमा आयोजना गरिएको हो । राष्ट्रिय गानको सामूहिक प्रस्तुतिपछि दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्य–दृश्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसपछि सांगीतिक प्रस्तुति, नृत्य तथा हास्यव्यङ्ग्यसहित अवार्ड वितरण समारोह अघि बढाइएको थियो । समारोह सन्दिप क्षेत्री र ओशिन सिटौलाले रमाइलो शैलीमा सञ्चालन गर्नुभएको थियो । कलाकार, निर्देशक, निर्माता, संगीतकर्मी तथा प्राविधिकहरूको उपस्थितिले समारोहलाई नेपाली चलचित्र क्षेत्रको उत्सवकै रूपमा प्रस्तुत गरेको थियो ।
समारोहमा दीया मास्के, पल शाह, कविता नेपाल, उषा उप्रेती, तेरिया मगर, एलिशा शर्मा, समर्पणलगायतका कलाकारले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिनुभएको थियो । संगीतकर्मी बाबुल गिरी र रिहानको सांगीतिक प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो । स्थापित कलाकारदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई एउटै मञ्चमा सम्मान गरेको इन्फा अवाड्र्स–२०२६ ले नेपाली चलचित्र क्षेत्रको विविधता, सिर्जनशीलता र सम्भावनालाई उजागर गरेको छ । अवार्डले कलाकार तथा प्राविधिकहरूको सिर्जनात्मक योगदानलाई सम्मान गर्नुका साथै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारमा समेत जोड दिँदै आएको आयोजकले जनाएको छ ।
यस वर्षको समारोहलाई व्यवस्थित र आकर्षक बनाउन इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक आशिष पन्तले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले कार्यक्रमको आन्तरिक व्यवस्थापनदेखि समारोहको सुरुआतदेखि स्क्रिप्ट लेखनसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो। समारोहको समापनमा आयोजक संस्था इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक पाल्देन लामाले समारोहमा उपस्थित सम्पूर्ण कलाकार, चलचित्रकर्मी तथा दर्शकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । नेपालमा पहिलोपटक इन्फा अवाड्र्स आयोजना गरेर भव्य रूपमा सम्पन्न गर्न पाएकोमा उहाँले आयोजकका तर्फबाट सबै सहयोगी तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपाली चलचित्र क्षेत्रको सम्मान र प्रवद्र्धनका लागि आगामी दिनमा पनि इन्फा अवाड्र्सलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
