समाचार
![](https://aksharang.com/wp-content/uploads/2023/11/16-NOVEMBER-2023-02.jpg)
टेलिभिजनको च्यानलमा
अचानक देखियो
एउटा श्वेत पोसाकधारी अरबी शेख
अर्को पीत वस्त्रधारी भारतीय मजदूर
एउटा कोर्रा हानिरहेको छ
आफ्नो अहंकार र राक्षसी प्रवृत्तिमा ओर्लिएर
अर्को निरीह छ/असहाय छ
एकोहोरो रोइरहेकोे छ
चिच्याइरहेको, छटपटाइरहेको छ
मानिस–मानिसबीचको होइन
यहाँ मालिक र दासबीच व्यवहार लागू भइरहेको छ
भूगोल, देश, जात र संस्कृतिबीचको विभाजन भइरहेको छ
मजदूर भारतीय
मालिक अरबी
र भूगोल, देश, जात र संस्कृतिमाथि एकसाथ बर्सिरहेको छ कोर्रा
प्रति सेकेण्ड एक कोर्राका दरले
थाहा छैन मजदूुरको कसुर
बर्सन छाडेका छैनन जीउमाथि कोर्रा
के त्यही हो मजदुरको नियति ?
मालिकको धर्म त्यही भन्छ त इस्लामले ?
पराई भूमिमा कतिन्जेल सहनु कष्ट
यसको जवाफ पाउन सकिएला ?
मैले अचानक सम्झेँ–
एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ
विमल निभाको पुरानो कविता
तर एउटा मजदुर तीस सेकेन्डमा तीस कोर्रा खाँदै छ
प्रति सेकेण्ड एक कोर्राका दरले ।