हिन्दी कविता

आफ्नै दुनुमात्रै सोझ्याउन
निर्ममतापूर्वक
यी कथित नायकहरुले
दिनदहाडै
दलका दलदलमा
देशलाई लछारपछार पार्दै गरेको
यो बेला
सङ्गीन त छ नै
तर यौटामात्र बाँकी रहुन्जेल पनि
देश दुख्ने छाती
विलुप्त हुने छैन
बन्द हुने छैन पूर्व क्षितिज
उदाइरहनेछ सम्भावनाको रक्तिम प्रभाती !
निमेषभरकै होस्
एउटै चोखो काल भए पनि पुग्छ
महाप्रलयको अकाल रोक्न
आत्मविश्वासयुक्त
एउटै इमानदार काँध भए पनि काफी छ
सिङ्गो यौटा देश बोक्न !
हिमालको मुटुभित्र पनि छ
बडवानल !
वीर नेपाली उठ्नेछ
चढ्दै त्यही ज्वालाको काठी
मलाई पूर्ण विश्वास छ
मेरो यो सुन्दर सपनामाथि !
(कवि बसन्त चौधरीको ‘वसन्त’ नेपाली कविता-सङ्ग्रहबाट साभार)