समाचार

काठमाडौँ, इतिहास तथा संस्कृतिविद मञ्जुलकुमार याक्थुम्बालाई यो वर्षको बलिहाङ पुरस्कार प्रदान गरिएको छ । ८४ वर्षे मञ्जुल याक्थुम्वाले ‘को हुन किराँत र किराँत लिम्वु ? के हो युमाधर्म ?’ नामक पुस्तक लेखेका छन । थोरै बोल्ने, गहन विचार राख्ने कोटीका लिम्वुसमाजका बौद्धिक व्यक्तित्व याक्थुम्वाको उक्त पुस्तकलाई युगपुरुष सत्यमोहन जोशीले किरात याक्थुङ चुम्लुङ भवन ललितपुरमा समाजका प्रवुद्ध व्यक्तित्वहरूको माझ लोकार्पण गरे ।
लोकार्पणका अवसरमा युगपुरुष जोशीले भने ‘नेवार पनि किराँत भित्र पर्दछ । हार्नेको इतिहास हुन्न भनेझै कालान्तरमा किराँत हौ भन्ने मान्छे छैनन् ।’ कविवर बैरागी काइलाको समिक्षात्मक टिप्पणी थियो ‘किराँत महावंश हो, किराँतमात्र भन्दा अर्थपूर्ण हुन सक्दैन । जस्तो, किराँतराई, किराँतलिम्वु, किराँतयाक्खा र किराँतसुनुवार भन्नुपर्दछ ।’ भाषाशास्त्री प्रा. डा. नोवलकिशोर राईले थपे ‘लिम्बु, राई, याख्खा र सुनुवार न्यूक्लियस किराँत हुन् अन्य समुदायहरू खुल्न सकेका छैनन्, किराँतकालीन इतिहासको सही ढंगले उत्खनन् गरेमा पत्ता लाग्दछ ।’ समीक्षकहरू समाजशास्त्री डा. कृष्ण भट्टचन, डा. चन्द्रकुमार शेर्मा, पुर्वन्यायधिश रामचन्द्र राईले पुस्तकले समुदायको विचमा किराँत, किराँत धर्म र युमाधर्मबारे प्रसस्त वहस पैरवी गराउने विचार व्यक्त गरेका थिए ।
जीवनको लामो समय लिम्वु जातिको उत्थान र जागरणमा सक्रिय रहेका लेखक याक्थुम्वाले १४ वर्ष लिम्वु समुदायको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको अध्यक्षको कार्यभार सम्हाले । ‘पुस्तक लेख्न कुनै शौख थिएन’ उनले भने । जिवनको उत्तरार्धमा लिम्वु समाजमा देखापरेको धार्मिक, साँस्कृतिक विचलनले उनलाई कुत्कुत्यायो अनि समाजको अगुवाको हैसियतले आफ्नो दायित्व ठानेर पुस्तक लेखेको उनले बताए ।
पुस्तकलाई लेखकले तीनखण्डमा विभाजन गरेका छन् । को हुन किराँत ? के हो किराँत धर्म ? र मुन्धुमका महत्वपूर्ण अंशको व्याख्या गरेका छन् । लेखकले किराँत र किराँत धर्मबारे हालसम्म देशी विदेशी लेखक/लेखिकाले लेखेका पुस्तक, मुन्धुम र अन्य धर्मग्रन्थहरूमा उल्लेख भएका प्रमाणहरूको भरपुर अध्ययन गरी प्रमाणहरू पेश गरेका छन् । किराँत, किराँत धर्म, युमाधर्मबारे अध्ययन गर्न चाहने व्यक्तित्वहरू र जिज्ञासु अध्येताहरूको लागि पुस्तक पठनीयमात्र नभई संग्रहनीय छ ।