हाइकु

विकास
दशकौँपछि
तिलस्मी सपना बोकेर
बुल डोजर लिएर
गाउँ पस्यो
र,
ढालिदियो
हजुरबुबाले आस्थाले रोपेको
बाटो छेउको वरपिपलको चौतारी ।
पुरिदियो
बाजे, बराजुहरूको पसिनाको बुँदले भरिएको
काकाकुल गाउँको साझा इनार ।
भत्काइदियो
एउटा बलियो विश्वासको
जगमा उभिएको
पुस्तैनी किलो
बाटो छेउको बाटुले घर ।
उखेलिदियो
कला, सभ्यता र सम्पदाका धरोहर
पार्टी ,पौवा र सतल ।
विकास
दशकौँपछि गाउँ पस्यो
र
रोपिदियो
एउटा कलहको बिउ
थोपरिदियो मुआब्जाको लालच
र देखायो समृद्धिका सपनाहरू ।
आजकल देखिदैन
हरिया खेत र खलियानहरू
हराउँदै गए
सिमसार र बुट्यानहरू
कङ्क्रिटका जङ्गलहरूले
भरिएका छन् फाँटहरू
बढेको छ जग्गाको भाउ
खस्केको छ मान्छेको भाउ
फराकिला भएका छन् बाटाहरू
साँगुरिँदै गएका छन् मनहरू
फैलिएका छन् गोरेटाहरू
खुम्चिएका छन् सम्बन्धहरू
सम्पन्नताले उँचाइ छुँदै जाँदा
खस्किँदै गएका छन्
संवेदनाहरू
मेटिएको छ पहिचान
हराएको छ मानवता
हो, वास्तवमै
विकास आएपछि
सुरु भएको छ
प्रकृतिको विनाश ।
किशन पौडेल, हेटौंडा–४