• २०८१ फागुन २ शुक्रबार

मृत्युको कारखाना

गोपालकुमार मैनाली

गोपालकुमार मैनाली

म अहिले यतिखेर
यो धर्तीमा उभिएर
दिन- दिनै
महामारीसँग
आत्महत्यासँग
बाढी र पहिरोसँग
गरिबी, विभेद र भोकसँग
अनि,
थरीथरीका मृत्युसँग लडिरहेको छु
र,
तिमीले उपहारमा दिएको
पीडाको मृत्युले
नयाँ मृत्यु भोगिरहेको छु

भो, बन्द गर यो कारखाना !
सभ्यतामा प्रश्न उठेपछि
मानवीयता र संवेदना
विज्ञान र प्रकृतिको भाषामा
जीवनको अर्थ सोध्दा
म मौन देख्छु- समय ।

मृत्युका भुमरीमा बाँच्नेले
अनुत्तरित प्रश्नको
जबाफ खोजेको होइन
मान्छेपिच्छे
मृत्युको परिभाषा
अलगअलग रोजेको होइन
मेरो माग
मृत्युको कारखाना कदापि होइन ।


(मैनाली विगत तीन दशकदेखि सिर्जनाक्षेत्रमा कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]