समाचार
तिलोत्तमा ।
तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा ,तिलोत्तमा साहित्य सङ्गमको २३ औं शृङ्खला आज शनिबार शहीद गङ्गालाल पुस्तकालय, तिलोत्तमा–१ ड्राइभरटोलमा सम्पन्न भएको छ ।
तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले साहित्य सङ्गमले रचनाहरूको मिहिन समीक्षा गरी परिष्कृत बनाउन र नवपुस्ताका साहित्यकारहरूलाई मञ्च प्रदान गर्दै साहित्यतर्फ आकर्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
कार्यक्रममा लक्ष्मण ज्ञवाली, रमेश समर्थन, उद्धव देवकोटा, नारायण प्रसाद भण्डारी, ढालानन्द चालिसे, श्रीराम नेपाली, सङ्गम अनुरागी, डि.आर. न्यौपाने, अनन्त देव गौतम, सन्देश पाण्डेय, खगेन्द्र बस्याल , रामप्रसाद बस्याल लगाएत विभिन्न साहित्यकारहरूले आ–आफ्ना विविध मौलिक रचनाहरू वाचन गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार रमेश समर्थनले वाचित रचनाको समीक्षा गर्दै सङ्गममा विविधतायुक्त मौलिक रचनाहरू प्रस्तुत भएको र निरन्तर सङ्गममा सहभागी हुँदा सृजनाकर्मीका सिर्जनामा थप निखार आउने कुरामाआफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा सहिद गङ्गालाल पुस्तकालयका पूर्व अध्यक्ष, साहित्यकार तथा प्रेस सेनानी अर्जुन ज्ञवालीको असमायिक निधन भएकोमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका व्यक्तित्व र कृतित्वमाथी चर्चा गरिएको थियोे ।
कार्यक्रममा शहीद गङ्गालाल पुस्तकालयका आजीवन सदस्यद्वय उमापति न्यौपाने र गोपालमणी गौतमले पुस्तकालय तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानसँग हातेमालो गरी अगाडि बढ्न सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सर्जकहरूको उल्लेखनीय उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन कवि उद्धव देवकोटाले गर्नुभएको थियो। साथै उहाँले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने गरेको जानकारी पनि दिनुभयो ।
