समाचार
काठमाडौँ ।
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण तथा कृति लोकार्पण समारोह काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचान तथा सामूहिक स्मृतिका आधार भएकाले यसको संरक्षण र प्रवद्र्धन सबैको साझा दायित्व भएको बताएका छन् ।
अर्यालले गुठीले २०४९ सालदेखि नेपाली भाषा, साहित्य, लोकसाहित्य, लोकगायन, कला, संस्कृति, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा योगदान पु¥याउने स्रष्टा र प्रतिभाहरूलाई सम्मान गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए। उनले प्रविधि र विश्वव्यापीकरणको तीव्र विस्तारका बीच मौलिक भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण अझ आवश्यक बनेको उल्लेख गरे । गुठीका संरक्षक अमिर प्रताप जङ्गबहादुर राणाले नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी केवल पुरस्कार वितरण गर्ने संस्था नभई संस्कार, सिर्जना र सामाजिक उत्तरदायित्वलाई पुस्तान्तरण गर्ने अभियान भएको बताए ।
गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपालले भाषा, साहित्य, कला, संस्कृति र शिक्षाको क्षेत्रमा योगदान पु¥याउने प्रतिभाहरूलाई सम्मान गर्ने अभियानलाई थप प्रभावकारी बनाइने बताए । कार्यक्रममा विभिन्न विधाका स्रष्टा तथा प्रतिभाहरूलाई नूर–गङ्गा प्रतिभा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । साथै विभिन्न कृतिको लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा साहित्यकार, कलाकार, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
