• २०८१ असोज २४ बिहीबार

अमरशाम अन्तर्राष्ट्रिय साँझ

पवन आलोक

पवन आलोक

बेलायतको बकिङघमशायर काउन्टीमा पर्ने एउटा सानो तर सुन्दर नगरी हाई वि कमको मार्लो हिलबाट ओरालो झर्दा झर्दै श्रीलंकाली साथी एच. पी. अमरसेनासँग भेट भयो र उसले दक्षिण अफ्रिकाको बीचमा रहेको देश लेसोथोको अबेल केसी सिजाने र मसँग हात मिलाउँदै अमरशाममा हुने अन्तर्राष्ट्रिय समारोहमा बन्दुला समरनायकेको सट्टा आफू प्रतिनिधिको रूपमा छानिएको कुरा सगर्व घोषणा गर्यो । कुरा के थियो भने यी दुवै श्रीलंकाली साथीहरूको बीचमा नजानिंदो प्रतिस्पर्धा थियो । बन्दुला अलि घमण्डी स्वभावको पनि थियो । जुन कुरा हामी सँगै पढ्ने भएकाले सबैलाई थाहा थियो । बन्दुला अमरसेनाको हाकिम पनि रहेछ । श्रीलंकामा उनीहरू सँगै काम गर्दा रहेछन् ।

हामी तीनै जना स-सानो झोला झुण्ड्याउँदै क्वीन अलेक्जान्ड्रा रोडतर्फ हान्नियौं । अलेक्जान्ड्रा रोडको उत्तरपश्चिमतर्फ रहेको बस स्टेशनमा हामी पुग्दा बिहानको ठीक १०ः२० बजेको थियो । त्यहाँबाट १०ः३४ बजेको बसबाट हामी सबै अमरशाम भन्ने एउटा सानो बेलायती नगरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय साँझमा भाग लिन जानेवाला थियौं । चुरोट तान्दै बस कुरिरहेको बेला पछाडिबाट कसैले मेरो ढाडमा मरून्जेल धाप मार्यो, फनक्क फर्केर हेरेको त घानाको याफोरी यामोआ पो रहेछ । यामोआ निकै मोटो, गाढा कालो, अग्लो र कस्सिएको शरीरको थियो र मसँग निकै मिल्थ्यो । हामीसँगै पढ्थ्यौं । ऊसँगै जानेबाला रहेछ-त्यही समारोहमा । मैले पनि यामोआलाई कस्सेर ढाडमा हानें तर उल्टै मेरै हात झन्झनायो भने उसले कुनै प्रतिक्रियासम्म पनि जनाएन बरू मेरो ठुटो चुरोट मागेर यामोआले तान्न थाल्यो । वास्तवमा म, यामोआ, अबेल र बेलायतको एण्ड्रयू खुबै मिल्थ्यौं । पब र नाइट क्लबमा जाँदा प्राय सँगै जाने गथ्र्यौं ।

अमरशाम जाने बस आयो र ठीक १०ः३४ बजे हामी प्रस्थान गर्यौ । चुरोट खाने भएकोले यामोआ र म पछाडिको सिटमा गएर बस्यौं । (प्रायः बेलायती बसहरूमा चुरोट खानेहरूले पछाडिको सीटमा गएर बस्नुपर्ने हुन्छ) ।

उक्त अन्तर्राष्ट्रिय साँझ सन् १९८५ को २ नोभेम्वरदेखि ३ नोभेम्वरसम्म अमरशाममा मनाइने भएको थियो । हामीलाई बताइए अनुसार उक्त समारोहमा बेलायतको विभिन्न भागमा अध्ययनरत ६० भन्दा बढी मुलुकका विद्यार्थी प्रतिनिधिहरूले भाग लिनेवाला थिए । बेडफोर्डमा छँदा पनि कलेजमै आयोजना गरिएको एउटा अन्तर्राष्ट्रिय साँझमा मैले भाग लिएका थिएँ र त्यहाँ भएका जति हामी सबै नेपाली विद्यार्थीहरू मिलेर निकै आकर्षक ढङ्गले हाम्रो नेपाली स्टल तयार गरेका थियौं । हाम्रो स्टलको निकै प्रशंसा पनि भएको थियो । तर यो छुट्टै किसिमको आयोजना थियो । त्यसैले म मा कताकता एक प्रकारको हड्बडाहट र उत्सुकता व्याप्त थियो । म प्रायः यात्रामा एक्लै बस्न रूचाउँछु, एक्लै यात्रा गर्दा विभिन्न रचनाहरूको गर्भाधान हुने गर्छ । तर कागजमा उतार्न तत्काल नसकेपछि त्यो तुहिन्छ । यामोआ फेरि प्रायः बोलिराख्नु पर्ने खालको मान्छे-कचकच गरेको गर्यै हैरान गर्यो । बोलेको छ छ । कलेजमा पनि प्रायः त्यसै गर्छ । साह्रै अल्छे पनि छ । कलेजमा प्रायः निर्धारित समयमा आउँदैन र ढिलो आएको बेलामा प्रोफेसरलाई देखेपछि खुट्टा खोच्याउँदै क्लासभित्र पस्ने गर्छ ।  एउटा न एउटा बिरामीको बहाना गर्ने गर्छ । अनि प्रोफेसर गए पछि ठीक दुरूस्त हुने गर्छ । हाम्रो हाँस्यको स्रोत पनि छ यो यामोआ ।

हाम्रो बस निर्धारित स्टपहरूमा रोकिंदै अगाडि बढ्दै थियो । बसमा २/४ जना पंक्स केटा-केटीहरू पनि थिए । कपाल पूरै खौरिएका तर टाउकाको बीच भागमा लहरै रङ्गीन र लामा लामा प्वाँखहरू टाँसेका र अनुहारभरि विभिन्न रंगहरू पोतेका । तिनीहरूले लगाएका लुगा पनि त्यस्तै खालका थिए र बेला बेलामा अनौठा हर्कतहरू पनि गर्ने गर्थे । बेलायतमा सार्वजनिक ठाउँमै पनि म्वाई खानु, अँगालो हालेर हिंड्नु जस्ता कुराहरू सामान्य मानिंदा रहेछन् र त्यस्तो अवस्थामा तिनीहरू तर्फ फर्केर हेर्नु पनि असभ्यता मानिंदो रहेछ ।

हाम्रो बस एउटा सुन्दर सहरभित्र पस्यो र १०/१५ मिनेटपछि एउटा बिसौनीमा रोकियो । त्यही सहरको नाम अमरशाम रहेछ र हामीले ओर्लनु पर्ने बिसौनी पनि त्यही रहेछ । हामी ओर्लिए पछि आयोजकहरू मध्येका २/३ जना व्यक्तिहरूले हाम्रो स्वागत गरे । त्यही बेला अमरसेना र मलाई सोध्दै एक जोडी बूढाबूढी हाम्रो अगाडि आए । हामीसँग परिचय भएपछि हाम्रो स्वागत गर्दै उनीहरूले १/१ वटा फूलका गुच्छा हामीलाई दिँदै हात मिलाए र आफ्नो कार तर्फ बढ्न हामीलाई अनुरोध गरे । त्यो अवधिमा यिनै दम्पतिले अमरसेना र मेरो आतिथ्य गर्ने भएका रहेछन् । विभिन्न मुलुकका अरू प्रतिनिधिलाई स्वेच्छाले विभिन्न व्यक्तिले आतिथ्य दिने व्यवस्था रहेछ । बूढाको नाम एलान वेल्च र बूढीको मार्गरेट रहेछ । दुवैजना अवकाश प्राप्त शिक्षक रहेछन् । बूढो चाहिं अझै पनि केन्याको राष्ट्रपतिको निजी स्कुलमा प्राधानाध्यापक रहेछन् र हाल विदामा बेलायत आएका रहेछन् । दुई जना छोरा भए पनि दुवै अन्यत्रै बस्दा रहेछन्- आ-आफ्ना केटी साथीसँग । व्यवहार हेर्दा ती बृद्ध दम्पति अत्यन्त असल लाग्यो । यिनीहरूको आतिथ्यले म निकै प्रभावित भएँ । उनीहरूको घर, कम्पाउण्ड, कार र घरभित्रको सजावट हेर्दा निकै सम्पन्न पनि रहेछन् भन्ने लाग्यो ।

लन्च (दिनको खाना) पछि ती दम्पतिले हामीलाई घुमाउन लगे । पुरानो अमरशाम सहर, सुन्दर गाउँहरू एवं चर्चहरू हेर्दै हामी बेलायती प्रधानमन्त्रीको सप्ताहान्त बिताउने ठाउँ “चेकर्स” पनि पुग्यौं-नजिकै पर्दो रहेछ त्यो । एल्सवरी नजिकैको विशाल पार्कमा पुगेर एकैछिन सुस्तायौं पनि । बेलायती पार्कहरू प्रायः आँखैले नभ्याउने गरी फैलिएका हुन्छन् । त्यसमा पनि यो झन ठूलो झैं लाग्यो । सप्ताहान्त भएकोले प्रशस्त जोडीहरू कोही बेञ्चमा, कोही चउरमा बसेर पे्रमालापमा व्यस्त देखिन्थे, आम्मै नि ! कस्तो साह्रो निचरेको त्यसले, कागती निचोरेझैं निचर्दै म्वाई खाँदैछ- शायद त्यो केटी त्यसको केटी साथी होली । एउटा बुढो अंग्रेज कुकुरलाई डोर्याउँदै त्यही जोडी नजिकैबाट जाँदैछ, नदेखेको झैं अभिनय गर्दै । बूढाले शायद आफनो जवानी याद गर्दै होला । करिब ४ बजे हामी फक्र्यौ र मार्गरेटले कफी पिउने आग्रह गरेपछि एलानले स्लाइडहरू देखाउन थाले । उनीहरूको पारिवारिक घटनाहरूका स्लाइडहरू, बेलायतका विभिन्न सुन्दर एवं ऐतिहासिक स्थानहरूको बारेमा खिचिएका स्लाइडहरू ।

डिनर (बेलुकीको खाना) पछि एलानले हामीलाई नजिकैको पबमा लिएर गए । त्यहाँ एक दुई अन्य दम्पतिहरू सँग परिचय भयो । एउटा जोडी त नेपाल पनि आइसकेको रहेछ- मसँग भेट भएकोमा निक्कै खुशी भयो । एक एक पिन्ट बियर खाएर एलानको घरमा फक्र्यौ र अमरसेना र म आ-आफ्ना राष्ट्रिय पोशाक लगाएर अन्तर्राष्ट्रिय साँझ आयोजना गरिएको ठाउँतिर लाग्यौं । समारोह स्थल अत्यन्त झकिझकाउ थियो- सुन्दर ढङ्गले सजाइएको । विभिन्न देशका विद्यार्थी प्रतिनिधिहरू आ-आफ्नो राष्ट्रिय पोशाकमा धमाधम आउँदै थिए । आयोजकहरूले हाम्रो स्वागत गरे पछि विभिन्न मुलुकका विद्यार्थी प्रतिनिधिहरूसँग हाम्रो चिनजान गराइयो । त्यहाँ मेक्सिको, जापान, फ्रान्स, स्वीजरल्याण्ड, फिनल्याण्ड, मोरक्को, अल्जेरिया, साउदी अरेविया, सुडान, भारत, श्रीलंका, घाना, जाम्बिया आदि मुलुकका एवं नेपालको म एक जना समेत करीब ५० देशका विद्यार्थीहरू थियौं । स्थानीय युवा युवतीहरूको पनि ठूलो संख्यामा सहभागिता थियो । तर सबै मिलाउँदा केटीहरू नै धेरै थिए । धेरै जसो भर्खरका र सुन्दर देखिन्थे । कसैले लामा लामा हरिया, राता र नीला कुण्डल लगाएका थरिथरिका आधुनिक फेसनयुक्त ती सुन्दरीहरू मध्ये पनि अल्जेरियाकी फराह सबैकी आकर्षणकी केन्द्र बनेकी थिर्ई- ऊ वास्तवमै निकै सुन्दर थिई, मानौं भगवानले वर्षौं लगाएर उसलाई बनाएको होस् । वातावरण हेर्दा लाग्थ्यो, यहाँ कुनै फेशन शो हुन गइरहेछ । यो समारोह क्रिस्चियन सोसाइटी र स्थानीय समाज सेवीहरूको संयुक्त समितिले आयोजना गरेको रहेछ । सबै देशका विद्यार्थीहरूसँग एक आपसमा परिचय भएपछि भारतकी प्रतिनिधि विजयालक्ष्मीसँग पनि मेरो परिचय भयो । तिनी तमिलनाडुकी रहिछन् र लण्डनमा पढ्दै रहिछन् । तिनले साडी लगाएकी थिइन र मेरो पोशाकबाट यहाँ नेपाली पनि आएको रहेछ भन्ने (नेपाली राष्ट्रिय पोशाकबारे कसरी कसरी तिनलाई जानकारी रहेछ– म त सुखद आश्चर्यमा परें) थाहा पाएपछि खुशी हुँदै म बसेको लहरमा आफैँ आएर परिचय गरिन् । छिमेकी देशको भन्ना साथ कत्रो आत्मियता हुँदो रहेछ । परदेशमा सकभर आफ्नो मुलुकको, त्यो नभए छिमेकी मुलुकको, त्यो पनि नभए आफ्नै महादेशको मान्छे भेटिंदा पनि साह्रै नजिकको लाग्दो रहेछ । आफ्नै मान्छे भेट भए झैं लाग्ने । झन आफ्नै देशको मान्छे भेट्दा त आफ्नै घरको परिवारसँग भेट भएझैं  महसुस हुँदो रहेछ ।

हाम्रो राष्ट्रिय पोशाकको निकै प्रशंसा भयो । अरू देशको पोशाकको तुलनामा चिटिक्कनै देखिंदो रहेछ- हाम्रो राष्ट्रिय पोशाक । कतिपय अफ्रिकी मुलुकको त साह्रै भद्दा खालको लाग्यो ।

“रिसेप्सन” सुरू भयो । बियर पिउनेले बियर, साइडर पिउनेले साइडर, वाइन पिउनेले वाइन पिउन थाले । गफ गरेको नभन्नु होला, हाम्रो राष्ट्रिय पोशाकको कारणबाट म त्यहाँ आकर्षणको केन्द्रनै भएको थिएँ । एकछिन पछि नाचको कार्यक्रम रहेछ । स्टेजबाट उद्घोषिकाले आ-आफ्नो जोडी छानेर हलको बीचमा रहेको डान्सिङ् फ़्लॊर (नाच्ने ठाउँ) मा आउने आग्रह गरेपछि जोडीहरू बन्दै गए र नाच्ने ठाउँमा लाइन लाग्दै गए । परेन के फसाद ! आफूले जिन्दगीमा कहिल्यै यसरी नाचेको छैन, त्यो पनि केटीहरूसँग जोडी बनाएर त झन् कुरै भएन । म हातमा बियरको ग्लास लिंदै सकभर कसैले नदेखुन भनेर बिस्तारै पछि सर्दै कुनातिर लागें । अलि पर अमरसेना म जस्तै अर्को कुनामा उभिइरहेको देखें । विजयालक्ष्मी पनि मेरो नजिकै उभिइरहेकी । अरू पनि थुप्रै केटाकेटी नाच्न नपरोस् भनेर हामी जस्तै पछाडि कुनातर्फ सर्दै उभिइरहेका, म मात्र एक्लो रहेनछु भनेर ढुक्क भएँ । हामी त एशियन न पर्यौं । हामी प्रायः एशियनहरू साह्रैनै पिछडिएका पो छौं त ! अल्जेरियाकी फराहलाई नाचौं भनेर अनरोध गर्ने केटाहरूको लाइनै लागेको देखियो- ऊ पनि निकै “फरवार्ड” देखिन्थी तर पनि सबैलाई इन्कार गर्दै थिई । नाच सुरू भैसकेको थिएन, वास्तवमा निकै थोरै जोडीहरू मात्र फ्लोरमा थिए । संकोच मान्ने म मात्रै कहाँ रहेछु र ? मनमनै खुशी भएँ, नत्र हीनता बोधले मलाई सताउनु सम्म सताउने थियो होला ।

रित्तिइसकेको बियरको ग्लास पुनः भरेर फर्केको मात्र के थिएँ, एउटी अन्दाजी १७/१८ वर्षकी राता कुण्डल लगाएकी ठीकै कदकी कालो बुट लगाएकी तर आकर्षक देखिने केटी सरासर म तिर आई र दुवै हातले मेरो एउटा हात समाएर “के म तपाईसँग नाच्न सक्छु ?” भनेर अनुरोध गरेपछि मेरो हंशले ठाउँ छाड्यो । के जवाफ दिने भनेर म पिरोलिन सम्म पिरोलिएँ । जुन कुरा नहोस् भन्ने सोचेको थिएँ- त्यही भयो । किन आएछु नि म यो ठाउँमा ? यसरी बित्याँसमा परिएला भन्ने सोचेको भए त हाइ वि कममै पबमा बियर तानेर सप्ताहान्त बिताउने थिएँ । यहाँ किन आउँथे र । अन्तर्राष्ट्रिय साँझ भनेर के के न होला भनेर पो आएको । नाच हुनु त सामान्य हो तर कसैले नाच्न अनुरोध गर्ला र आफ्नो स्वेच्छा बेगर नाच्नै पर्ने स्थिति आउला भन्ने सपनामा पनि सोचेको थिइन । बेडफोर्डमा आयोजित अन्तर्राष्ट्रिय साँझमा त अरूले नाचेको हेरेर रमाइलो मान्दै बसेको थिएँ । कसैले आएर नाच्नु पर्छ भनेर अनुरोध पनि गरेको थिएन, त्यस्तै ठानेको थिएँ यहाँ पनि ।

तर नहुनु त भइसकेका थियो । उसले “प्लीज…” भनेर पटक पटक अनुरोध गरिसके पछि मैले हुन्न भनेर इन्कार गर्नु त ठूलै असभ्यता जस्तो हुन्थ्यो साथै मेरो नामर्दियै पनि । जिन्दगीमा मलाई यत्रो ठूलो संकट कहिल्यै आइलागेको थिएन । सामान्यतया पश्चिमी संसारमा पनि नाच्नको लागि केटाले नै केटीसँग अनुरोध गर्नु पर्नेमा उल्टै केटीले नै आएर नाच्न अनुरोध गर्दा पनि मैले अस्वीकार गर्नुको मतलब मैले आफ्नो पुरुषत्व माथिको हाँक सम्झें । म हुतिहारा भनाईंन चाहन्नथें । त्यसैले आफ्नो संकोचलाई भित्र भित्रै दबाएँ र हाँस्दै मैले “हुन्छ” त भनें तर मेरो मुटु भने कामेको काम्यै थियो । त्यो नोभेम्बरको जाडोमा पनि चिटचिट पसिना आइरहेको थियो । हामी दुवै जना फ्लोर तर्फ लाग्यौं । चिनजानपछि मैले हामी एशियनहरू अलि संकोच मान्छौं, वास्तवमा मलाई त नाच्नै आउँदैन भनेर उसलाई भनें ।

“मलाई पनि त कहाँ आउँछ र ?” संगीतको तालमा हल्लिने त हो नि भनेर उसले भनेपछि मलाई अलि हल्का महसुस भयो । त्यो केटी फिनल्याण्डकी रहिछ र म्यान्चेस्टरमा पढ्दै रहिछ अनि नाम रहेछ- जुली । मंचबाट नाच शुरू गर्ने घोषणा भयो र सँगीत बज्न थाल्यो तर सजिलो के भयो भने उद्घोषिकाले यो हात यसरी कम्मरमा राख्ने, फलानो खुट्टा पहिले चाल्ने आदि कुराहरू माइकबाटै भनेपछि त्यसै गरें मैले । अनि उसको समेत हेरेपछि खासै गाह्रो परेन । पहिलो राउण्ड स्क्वायर डान्स (वृत्त नृत्य) सकेपछि जुलीले भनी “तपाई त नाच्नमा निकै सिपालु पो हुनुहुँदो रहेछ त । तपाई कोही जान्ने भन्दा कम हुनुहुन्न । किन मलाई ढाँटेको ? दोस्रो राउण्ड पनि नाचौं है ”

जुलीको प्रशंसा सुनेर मेरो भूईमा खुट्टा रहेन । म अब एकदम उत्साहित भएँ र पुनः जुलीसँगै अर्को राउण्ड पनि नाचें । प्रत्येक पटक संगीत थामिए पछि अर्थात् राउण्डै पिच्छे जोडी बदल्दै नाच्नु पर्ने प्रचलन रहेछ । परम्परागत “स्कटिश कन्ट्री डान्स” पनि नाच्न भनियो, नाचियो । गोलो राउण्ड बनाएर केटा र केटीले कम्मरमा हात राखेर अगाडि बढ्दै निहुरिनु पर्ने अनि पछाडि पाइला सार्नु पर्ने । यही क्रम धेरै राउण्डसम्म चल्यो । त्यतिञ्जेलसम्म मैले चेशमकी क्रिस्टिन, मेक्सिकोकी सु, फ्रान्सकी …..नाम बिर्सें, कोलम्बियाकी मेरी, अल्जेरियाकी फराह (पछि केटाहरूले तानेर ल्याएछन् फ्लोरमा, सुरूमा थुप्रै अनुरोधको बाबजुद पनि ननाच्ने भनेर इन्कार गर्दै थिई) अनि अन्त्यमा विजयालक्ष्मीको अनुरोधमा एक राउण्ड ऊसँग पनि नाचें । संकोच हटेपछि त नाची नै रहुँ जस्तो लाग्दो रहेछ । एउटा युद्ध नै जितें कि झैं लाग्ने । मन त्यसै त्यसै रमाएर आउने । अमरसेना भने धमाधम फोटो खिच्दै थियो । यामोआ चाहिं बियर पिउनमै मस्त थियो, नाचेको देखिंन । सुरूमा म एकछिन नाची सकेपछि विजयालक्ष्मीले ठानिछ- मैले नाच्न अनुरोध गर्न आउला भनेर । तर मैले ठानें- भारतीय केटी हो मान्ली नमाल्ली । यहाँ यत्तिका केटीहरू हुँदाहुुँदै मैले त्यति आवश्यक पनि ठानिनँ । पछि निकै चित्त दुखाउँदै थिई । छिमेकी भएर पनि वास्ता गरेन भन्ने खालको आशय थियो उसको ।

पुनः “रिफ्रेसमेन्ट” सुरू भयो । जुली, विजयालक्ष्मी र क्रिस्टिनासँग ठेगानाहरूको आदान प्रदान भयो । नेपालबारे जुली, क्रिस्टिना र फराहले थुप्रै प्रश्नहरू गरे । क्यानाडाको मार्कले पनि मेरो ठेगाना लियो- अर्को हिउँदमा ऊ नेपाल घुम्न जाने योजना बनाउँदै रहेछ ।

एकैछिन पछि फेरि अर्को नाच सुरू हुने घोषणा भयो । आ-आफ्ना जोडी सहित पुनः फ्लोरमा जानु भनिएपछि विजयालक्ष्मी हत्त र पत्त मेरो हात समाउन आइपुगी र यो नाच झण्डै “म्युजिकल चेयर” जस्तै खालको रहेछ- सबै जोडी गोलाकार भएर हात समाएर उभिनु पर्ने, अनि एक जना केटालाई बीचमा उभ्याईंदो रहेछ । संगीत सुरू भएपछि जोडीहरू कम्मर समाउँदै घुम्दा रहेछन् अनि संगीत थामिए पछि बीचको केटाले घुमिरहेका जोडीमध्ये एक जना मन पर्ने केटी छान्नु पर्ने रहेछ अनि छानिएकी केटीको केटा चाहिं बीचमा जानु पर्ने नियम रहेछ । त्यही क्रममा उसले पनि अरूको जोडी मध्येकी केटी छान्दै नाच्ने, घुम्ने प्रचलन रहेछ । यही क्रममा मेरो जोडी बनेकी विजयालक्ष्मीलाई एउटा केटाले छान्यो र म बीचमा पुगें । संगीत सुरू भयो र थामिंदा मैले जुन केटीलाई छोएँ त्यो त मोटी न मोटी पो परिछ । मैले वास्तवमा छानेको अर्कैलाई थियो तर घुमिरहने क्रममा अर्कै पो आइपुगिछ । घुम्दै गरेको अवस्थामा यही नै छान्छु भनेर सम्भव नहुँदो रहेछ । त्यो मोटी दङ्ग परि । खुशी भई र भनी “ओ हाउ चाअमिङ् ! थ्याड्ढस फ यो सेलेक्सन” त्यसो भन्दा म पो लाजले रातो न पिरो भएँ ।

नाचहरूको क्रम राती १२ बजेसम्म चलिरह्यो । पछि म चाहिं थाकेर छेउ लागें – एकछिनमा नाच पनि सकियो र आयोजकहरू एवं सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरूसँग मीठो निद्राको कामना गर्दै आपसमा बिदा लियौं । रात त्यसरी नै बित्यो ।

३ नोभेम्बरको बिहान ब्रेअकफास्ट पछि भेला हुने भनिएको ठाउँमा हामी पुग्दा सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरू आइसकेका रहेछन् । सबैसँग अभिवादनको साटासाट पछि चेशम (अमरशामसँगै जोडिएको सानो सहर) र आसपासको “कन्ट्री साइड” मा घुम्ने कार्यक्रम थियो । म प्रायः सबैसँग घुलमिल भइसकेको थिएँ । जुली, सू र मेरीका साथै यामोआ, मार्क र म एउटा टोली जस्तै बनाएर घुम्यौं । चेशमको एउटा स्थानीय क्लबले  हाम्रो सम्मानमा एउटा कार्यक्रम राखेको रहेछ । त्यहाँ उपस्थित रहेका देशकामध्ये चिठ्ठा हालेर जुन जुन देश पर्छ, ती देशका प्रतिनिधिले आफ्नो मुलुकको बारेमा बोल्नु पर्ने गरी जम्मा १० वटा देशका प्रतिनिधिलाई ५/५ मिनेट बोल्ने समय छुट्याइएको रहेछ- सबै मुलुकको सम्भव नहुने भएकोले । चिठ्ठामा नेपाल पनि पर्यो र नेपालबाट म मात्रै भएकोले मैले नेपालबारे केही बोल्नै पर्यो । स्थानीय पत्रकार एवं टि.भी. सम्वाददाताहरूले मैले बोली सकेपछि निकै प्रश्नहरू गरेका थिए । नाइजेरियाको एडवर्डले विदेशी विद्यार्थीहरूको तर्फबाट आयोजकहरूलाई धन्यवाद ज्ञापन गरेपछि त्यो कार्यक्रम सकियो र जलपानको कार्यक्रम सुरू भयो । फोटोहरू खिचिए । करिब ३ बजे सम्पन्न कार्यक्रम सकिएपछि सबैसँग हात मिलाएर विदा हुने क्रम सुरू भयो । मैले विदा हुनु अघि एलानलाई भादगाँउले टोपी र मार्गरेटलाई नेपालको सानो झण्डा उपहार दिएँ एवं हार्दिक आतिथ्यको लागि धन्यवाद पनि दिएँ । तर अमरसेना र म दुवैलाई हाई वि कमसम्म आफ्नै कारमा पुर्याईदिन्छौं भनेर एलान दम्पतीले भनेका हुँदा पुनः धन्यवाद दिएँ । सम्पूर्ण कार्यक्रम यसरी सकियो ।

यो अन्तर्राष्ट्रिय जमघटमा भेला भएका कैयौं मुलुकका साथीहरूसँग निरन्तर सम्पर्क रहिनै रहेको छ । बिदाई वास्तवमा नरमाइलो हुन्छ । प्रायः सबैको अनुहार मलिन देखिन्थ्यो । सारै खल्लो र नमज्जा लाग्यो । श्रृष्टिको नियम यस्तै छ- ढिलो छिटो मात्र हो विछोड त हुन्छ नै, यस्तै भेटघाट र रमाइलो सधैं कहाँ भइरहन्छ र ? को कहाँ को हो ? को कहाँबाट आएको हो ? क्षणिक भेट भएर छुट्टिनुपर्ने । फेरि भेट हुने हो वा नहुने हो, के थाहा ? यत्रो विशाल संसारका विभिन्न कुनामा बस्ने मानिसहरूको बारम्बार भेट भइरहनु सम्भव पनि त छैन । एलानको कारमा मार्लाेहिल फर्किंदा यस्तै यस्तै सोचिरहेको थिएँ । अमरसेनाले मार्लोहिल आइपुग्यो भन्दा पो झल्याँस्स भएँछु । एलान दम्पतीलाई अमरसेना र मैले बिदाई हातहरू हल्लायौं अनि जोन नर्थ हल तर्फ लाग्यौं ।

१० नोबेम्बर, १९८५
अक्सफोर्ड, बेलायत


पवन आलोक, चर्चित साहित्यकार
[email protected]