• २०८२ असार ३१ मङ्गलबार

असार

यादव भट्टराई

यादव भट्टराई

हिलाम्मे गह्राभरि
रोपेर असार
फलाउनु छ मलाई
धान्य मङ्सिर !

आऊ
बाउसे गरेर तिमी
बीज छर
म आली लगाउँछु
तिमी कुलो खन
म नहर बगाउँछु

मनका फाँटभरि
लहलह झुलाउनु छ अमृतबाला

तम्तयार छन् रोपाहारहरू
उमङ्गले नाचिरहेका वैश्यहरू
आँखामा साँचेर
जीवनको सपना
गह्राका डिलमा उभिएर
पर्खिरहेछन् दरसन्तानको
उज्यालो भविष्य !

गाउँतिर
जङ्गल भएका छन् गह्राहरू
धाजा फाटेर
विरक्तलाग्दा बन्जर बनेका छन्
कसले गर्छ बाउसे
कसले राख्छ ब्याड
कुलो कसले खन्छ
कसले लगाउँछ आली !

महिनौँ भयो
सिङ्गै गाउँ
पासपोर्ट बनाउन
सहर पसेको

कङ्क्रिटको जङ्गल हुने सुरमा
योजनाको फाइल बनाउँदै छ सहर
गाउँको पासपोर्टमा
छाप लगाउँछ
सहरले नै
गर्छ भिसाको बन्दोबस्त
ट्रान्जिटबाटै फर्कनु परे पनि
एक पटक
रहर गर्नुको विकल्प देख्दैन
मेरो गाउँ

जब जब असार लाग्छ
हजुरबाले बनाएका
अन्नका रित्ता भकारी र धन्सार
हेरिरहन्छु
फगत
हेरिरहन्छु म !


यादव भट्टराई