• २०७९ चैत १२ आइतबार

हत्यारा श्रीमान्

रोशन वली

रोशन वली

क्रुर हिँस्रक जस्तै बनेर
घरमा बसेर
अनाथ बचेरालाई
स्तनपान गराई रहेकी
आमामाथि आक्रमण गरेर
भयङ्कर युद्ध जितेकोआभास गर्दछ
श्रीमान होइन ऊ
एक हत्यारा अपराधी हो !

आफ्नै श्रीमान
श्रीमान रहँदैन त्यो रात
थोरै पिएको भरमा
दुश्मन जत्तिकै
आँखा देखाउँछ
लछार पछर गर्छ
सकुन्जेल कुटपिट गर्छ
हात पात गर्छ
गाली गलौज गर्छ
खुकुरी देखाउँछ
चक्कु देखाउँछ

श्रीमती प्रतिकार नगरी
पति भक्त भएर चुपचाप बस्छे
बरू ज्यान जोगाउन भाग्न खोज्छे
फेरि नजिक आउँछ
र दुश्मन बनेर जगल्टा समाउँछ
फन्फन् घुमाउँछ

मानौं ऊ यसरी आएको छ
कुनै बाघलाई सिकारीले
बन्दुकको गोली हानेर
घाइते बनाएर रगत चुस्न
तम्सिरहेको छ

रगत पिउनकै लागि बार-बार
सिकार गर्न खोज्छ
चिच्याउन, कराउन, बोलाउन, गुहार माग्न नदिएर
फेरि बन्द कोठामा थुन्छ
र मरासन्न कुटपिट गर्छ
श्रीमान होइन ऊ
एक खुङ्खार हत्यारा अपराधी हो !

आफ्नै घर भत्काएर
खै ! कुन विशाल युद्धको
विजय हासिल गर्दै छ ऊ !

लाग्छ ऊ यस्तो शक्तिशाली छ
जसको जिन्दगी कहिल्यै रित्तिन्न,
अजर र अमर छ
कि ऊ कहिलै मर्दैन र त
ऊ आफ्नै बच्चा-बच्ची र श्रीमतीलाई
मारि रहेको छ

छैन अझैसम्म पनि कुनै कानुन
अपराधीलाई हत्कडी लाएर
वर्षौं वर्ष सम्म जेलको कोठरीमा
बस्नु परोस्
बच्चाहरू हुर्किएर जवान बनुन
अनि बुढो हुँदा भनुन
तँ  त्यही अपराधी बाऊ होस्
हाम्रीआमालाई रातमा कुटिरहने

बाउ तिमीले कुन सँस्कार दिलाएका थियौं ?
हामी पनि उस्तै हत्यारा बनेछौँ
तिम्रो हत्या र अपराधको बदला
एक-एक गरेर चुक्ता गर्छौं
तिमी बाउ होइन
एक खुङ्खार हत्यारा र अपराधी हौं


रोशन वली (दाङ घोराही)
[email protected]