• २०८३ श्रावण २९, शुक्रबार

भीम उदासको ‘विदेशमा नेपाल खोज्दै’ माथि परिचर्चा, ‘कुटनीतिज्ञ, कलमजीवी र कर्मयोगी’ व्यक्तित्वको चर्चा

काठमाडौं ।

एनआरएनए अभियन्ता तथा सर्जक भीम उदासद्वारा लिखित कृति ‘विदेशमा नेपाल खोज्दै’ माथि शुक्रबार विशेष कार्यक्रमबीच परिचर्चा गरिएको छ। सिमल बुक पब्लिकेशनद्वारा प्रकाशित कृतिमाथि साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा विभिन्न साहित्यकार, इतिहासविद् तथा स्रष्टाले पुस्तक र उदासको साहित्यिक, कूटनीतिक तथा सामाजिक योगदानबारे चर्चा गरे ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार तथा पूर्व अर्थमन्त्री एस.पी. कोइरालाले भीम उदासको व्यक्तित्वमा तीन ‘क’-कूटनीतिज्ञ, कलमजीवी र कर्मयोगी-विशेषता रहेको बताए । उनले एनआरएन अहिले समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै उदासको पुस्तक आत्मकथाजस्तो रहेको बताए । आत्मकथा सत्यतथ्यमा आधारित हुने भएकाले उदासको लेखनमा इमानदारी देखिने उनको भनाइ थियो। शब्दलाई अत्यन्त मितव्ययी ढङ्गले प्रयोग गरिएको पुस्तक रोचक रहेको पनि कोइरालाले बताए ।

समालोचक प्रमोद प्रधानले प्रत्येक व्यक्तिको आफ्नै कथा र व्यथा हुने भए पनि त्यसलाई अभिलेख गर्न मानिसहरू प्रायः अल्छी गर्ने गरेको बताए । अभिलेख नै पछि इतिहास बन्ने उल्लेख गर्दै उनले उदासले आफू बसेका देश, गरेको काम र त्यहाँ भेटिएका नेपालीका कथा–व्यथालाई अभिलेख गरेर महत्वपूर्ण इतिहास निर्माण गरेको बताए । प्रधानका अनुसार संयुक्त राष्ट्रसंघमा कार्यरत रहँदा उदासले विभिन्न देशमा रहेका नेपालीको खोजी, भेटघाट र संगठन निर्माणमा योगदान गरेका थिए। रुसमा रहँदा उनले रुसी भाषा–साहित्यलाई नेपालीमा तथा नेपाली भाषा–साहित्यलाई रुसी भाषामा अनुवाद गराउन भूमिका खेलेको पनि प्रधानले उल्लेख गरे ।

एनआरएनको अवधारणा निर्माण गर्ने प्रारम्भिक व्यक्तिमध्ये उदास भए पनि उनी संस्थापक अध्यक्ष बन्न नसकेको प्रसङ्गसमेत प्रधानले उठाए। संयुक्त राष्ट्रसंघको जागिरे हुनु र त्यसपछिको राजनीतिक परिस्थितिका कारण उक्त अवसर नपाएको उनको भनाइ थियो । उनले विदेशमा रहेका नेपालीलाई अर्को पुस्तासम्म नेपाली भाषा सिकाउने र जोगाउने तथा विदेशमा नेपालीले आर्जन गरेको रकमलाई देश विकासका क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत उदासको जीवन र कर्मबाट देखिएको बताए ।

इतिहासविद् प्रा. डा. सुरेन्द्र केसीले अन्तर्राष्ट्रिय सेवाका नाममा विदेशमै बसेर उतै हराउने प्रवृत्तिभन्दा फरक ढङ्गले उदासले नेपाल र नेपालीका लागि काम गरेको भन्दै प्रशंसा गरे। एनआरएनको अवधारणा निर्माणमा उदासको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले उक्त अवधारणालाई नेपाली इतिहासको एउटा महत्वपूर्ण पाटोका रूपमा राज्यले अभिलेखीकरण गर्नुपर्ने बताए ।

‘विदेशमा रहेका नेपालीको कथा–व्यथा हो पुस्तक’
लेखकीय मन्तव्य राख्दै सर्जक भीम उदासले ‘विदेशमा नेपाल खोज्दै’ विदेशमा रहेका नेपालीको कथा र व्यथामा आधारित रहेको बताए । उनले विदेशमा रहेका नेपालीको पहिचान, नागरिकता, सीमा, भूगोल, भाषा तथा संस्कृतिसँग जोडिएका विषय पुस्तकमा समेटिएको जानकारी दिए । एनआरएनलाई विदेशमा रहेका नेपालीलाई संगठित गर्ने व्यवस्थित संस्थाका रूपमा उल्लेख गर्दै उदासले विदेशमा बसेर पनि देशको सेवा गर्ने नेपालीप्रति पुस्तक समर्पित रहेको बताए । पुस्तक बिक्रीबाट प्राप्त रकम भोजपुरस्थित विद्याधरी पुस्तकालयलाई हस्तान्तरण गरिने जानकारीसमेत उनले दिए ।

कार्यक्रमको सभापतित्व गर्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले उदास साहित्यिक, कूटनीतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित व्यक्तित्व भएको बताए। म्यानमारका लागि पूर्व नेपाली राजदूतसमेत रहेका उदास स्पष्ट वक्ताका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

लेकालीले ८८‘विदेशमा नेपाल खोज्दै’८८लाई एउटा डायरीजस्तो कृति भएको उल्लेख गर्दै त्यसमा देशप्रतिको माया र पीडा दुवै अभिव्यक्त भएको बताए। उनले वि.सं. २०१९ सालदेखि सुरु भएको उदासको साहित्यिक यात्रासहित उनको व्यक्तित्व र कृतित्वबारे पनि चर्चा गरे । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा साहित्यिक पत्रकार संघका तर्फबाट सर्जक भीम उदासलाई सम्मानसमेत गरिएको थियो । अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रमको सञ्चालन कवि तथा पत्रकार मणि लोहनीले गरेका थिए। कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।