समाचार

काठमाडौँ ।
पूर्वराजदूत भट्टराईको ‘नन–एलाइनमेन्ट: क्वेस्ट फर एन इन्डिपेन्डेन्ट फरेन पोलिसी’ पुस्तक सार्वजनिक गरिएको छ । नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) ले उक्त स्वतन्त्र परराष्ट्र नीतिको खोजीका लागि असंलग्नताबारे लेखिएको पुस्तक प्रकाशन गरेको हो ।
पुस्तकमा असंलग्न आन्दोलन (नाम) को उत्पत्ति र ऐतिहासिक विषयवस्तु, नाम सम्मेलन बेलग्रेटदेखि बाकुसम्म, नाम र संयुक्त राष्ट्रसंघ, नाम र नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्था, नामको प्रणालीलगायत विषय समेटिएको छ ।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीका अनुसार पुस्तकमा विदेश मामिलाका अनुभवी कूटनीतिज्ञ भट्टराईले असंलग्नताको बहुआयामिक पक्षलाई उजागर गर्न चाहेको टिप्पणी गरे । ‘उहाँले बाङडुङ बेलग्रेडदेखि बाकुसम्म फैलिएको नेपालको सुरुआतदेखि आजसम्मको असंलग्नताको यात्रामा यसको उत्पत्ति, विकास र चुनौतीहरूबारे जानकारी दिनुभएको छ,’ कार्कीले भने ।
लेखक भट्टराईले यो पुस्तक विद्वान् र नेपालको व्यापक परराष्ट्र नीतिमा अन्तर्दृष्टि खोज्ने विद्यार्थीहरूका लागि सान्दर्भिक हुने बताए । भट्टराई सन् २००७ देखि २०१२ सम्म जेनेभास्थित संयुक्त राष्ट्रसंघ (यूएन) का लागि नेपालको स्थायी प्रतिनिधि तथा राजदूतसमेत थिए । उनी दुई प्रधानमन्त्री (सुशील कोइराला र शेरबहादुर देउवा) को परराष्ट्र मामिला सल्लाहकार रहे ।