• २०८३ भाद्र ४, बिहीबार

उषा मलाहाको नयाँ तीज गीत ‘चट्टै परेर’ सार्वजनिक

काठमाडौं ।

नारी पर्व तीज नजिकिँदै गर्दा नेपाली मौलिक तीज संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गायिका उषा मलाहा ‘सिम्रन’ को नयाँ तीज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ । गायिका मलाहाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा तीजको मौलिकता, माइतीको माया, साथी–सङ्गीको सम्झना तथा विगतका आत्मीय स्मृतिलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

आधुनिकताको प्रभावसँगै मौलिक तीज गीत तथा परम्परागत सांस्कृतिक अभ्यास ओझेलमा पर्दै गएको अवस्थामा सार्वजनिक गरिएको ‘चट्टै परेर’ ले नेपाली समाजको मौलिक तीज संस्कृतिलाई गीत–सङ्गीतमार्फत पुनः स्मरण गराउने प्रयास गरेको छ। ठेट नेपाली शब्द र भावनाको प्रयोग गरिएको गीतमा तीजको सांस्कृतिक महत्वसँगै माइतीप्रतिको आत्मीयता र चेलीका भावनालाई अभिव्यक्त गरिएको छ ।

गीतमा डीपी खनालको शब्द, देबेन्द्र बरालको संगीत, विश्व अधिकारीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतको रेकर्डिङ सुवास सिन्चुरीले अमेरिकास्थित एसएम स्टुडियोमा गर्नुभएको हो ।
त्यस्तै, गीतको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन र विवेक सुनारको सम्पादन रहेको छ। भिडियोमा सुनिशा बजगाईं, सुशीला थापालगायत कलाकारले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गर्नुभएको छ भने निर्देशन शान थापाको रहेको छ ।

मौलिक नेपाली सांस्कृतिक परिवेश, तीजका परम्परागत भाव र चेली–माइतीबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको गीतले नेपाली मौलिक तीज संस्कृतिको संरक्षण र पुस्तान्तरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।