डा. हर्षबहादुर बुढामगर
जीवन रहिन्जेलको चलायमान यो नश्वर शरीर खरानी बनेर एकदिन सकिन्छ । खरानी बनेपछि निख्रिएको मात्र देख्ने हाम्रा नेत्र साक्षी हुँदाहुँदै पनि आत्मा जीवितै हुन्छ भन्ने कुरा के हो ? भोग्ने को र देख्ने को छ ? यो त केवल मिथ्या भ्रम जस्तो लाग्छ । रहने भनेको उसले जीवनमा गरेको सत्कर्म चैँ पक्का हो, जसको हामी साक्षी बन्छौँ । तर आत्माको कुराले जहिल्यै हामी रनभुल्लमा परिरहेका हुन्छौँ । किनभने अध्यात्म र वेद-पुराणहरूको सारले पनि शरिर मर्छ तर आत्मा अविनाशी हो, मर्दैन र कुनै प्राणीमा जान्छ भन्ने कुरा सुन्दै आएका छौँ । ‘कसैको सन्तान बनेर आयो ऊ त, दुरूस्त उही स्वभाव छ !’ आदि कुराहरू पनि सुनिन्छन् । के हो के यो जीवनदर्शन ? बुझिन सक्नु रै’छ । यस्ता अनेकौँ तानावानाहरूमा अल्झिएर जीवनले सत्य साबित गर्ने हो । जीवनदर्शनका यस्ता कुराहरू जटिल-जटिल नै हुन्छन् । यस जटिलता भित्र उज्यालो खोज्नु हो भने हर्कबहादुर बुढामगर एक उदाहरण हुन् । उनले पहिले बन्दुक समाएर रणभूमिमा गए र त्यहाँबाट फर्किएर उमेरको उकालोसँगै कलमलाई प्रेम गरेर जीवन बिताउने असाधारण व्यक्तित्व बने ।बन्दुक समाते उनले जीवन बाँच्ने आधार बनाउन भने कलम रोजे चेतनाको दीपशिखा आफूले पनि लिएर अनि अरूलाई पनि बाँड्न । एउटा मानिसको व्यक्तित्व कति हो ? अचम्म लाग्छ कहिलेकाहीँ त ! रणभूमिमा खतरनाक रापिलो कर्म गरेर लामो समय बिताएर पनि अक्षरको शीतल दुनियाँमा भिजेर सिर्जना र शैक्षिक जागरणको सौन्दर्यलाई आत्मासात् गर्ने एक अद्वितीय मानिस डाक्टर हर्षबहादुरको आत्मा को सँग छ होला ? कसैलाई थाहा छ, थाहा छैन । तर डाक्टर हर्षबहादुर आफैँले आफ्नो जीवनकालमा मानव जातिका लागि अनेकन सुकर्म गरेर अमरत्व प्राप्त गरे भन्दा अतिशयोक्ति नहोला ।
१५ वर्षकै उमेरदेखि स्वरोजगार मेलोमा लाग्ने उनी विलक्षण प्रतिभा भएका जुझारू व्यक्तित्व । एक सहासी सिपाही लगनशील शिक्षक, अनुशासित प्राध्यापक, सफल समाजसेवी, कुशल संगठक, चिन्तनशील साहित्यकार, पत्रकार; भाषा, साहित्य, कला र संस्कृतिका अन्वेषक, राष्ट्रवादी नागरिक, जिम्मेवार अभिभावक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिभाशाली चिकित्सक डा. हर्षबहादुर नयाँ पुस्ताका लागि प्रेरक व्यक्तित्व हुन् । आफू र आफ्नो परिवारभन्दा माथि उठेर राष्ट्रका लागि गरेको उनको कर्मले नै डाक्टर हर्षलाई अमर बनाउने सूत्र हो भनेर अब भनिरहनु पर्दैन ।
भारतीय लाहुरे जीवनको अवकाश पछि पठनपाठनमा लागेर विद्यावारिधि गर्ने पहिले लाहुरे हुनु साधरण कुरा हैन । तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ डा. हर्षबहादुर कठिनाइसँगै जुध्दै भए पनि ६३ वर्षको उमेरमा विद्यावारिधि गर्ने एउटा प्रतिभाशाली व्यक्ति भए । अनि शैक्षिक संस्थाहरूको स्थापना गर्ने उज्यालो चिन्तनको चेतना वाफ रे वाफ ठट्टा काम त हैन नि ! शिक्षाको उज्यालोले नै देश र मानव समुदायलाई सर्वाङ्गीण विकासको शिखरमा पुर्याउने कुरा सोच्ने चिन्तक । विविध विधाका साहित्य सिर्जना गरी दर्जनौँ कृति प्रकाशनमा ल्याएर साहित्यकार भई उल्का मच्चाउनु नै उनको जीवनदर्शन बन्यो । यस्ता व्यक्तित्वलाई चटक्क बिर्सनु हो भने उनी सम्बद्ध हरेक क्षेत्र रङ्गहीन हुन्छ भन्दा फरक नपर्ला ।
विस. २०५९ सालतिर उनलाई यदाकदा नेपाल प्रज्ञा- प्रतिष्ठान आउँदा–जादाँ देख्थेँ । उज्यालो कान्तिमय अनुहार भएका मोटामोटा, होचा सुकिलो पहिरनमा आफ्नै सुरमा एक्लै प्रफुल्ल मुद्राका हिँड्ने मानिस परिचित नभए पनि किन हो चिरपरिचितको आभास हुन्थ्यो मलाई उनमा । उनीसँग बोल्न चाहान्थेँ तर संकोचले पछि हट्थेँ । तीनचारपटकको झम्काभेटपछि एक-आपसमा मुस्कुराउँदै मैले दुई हात जोडेर नमस्कारको आफ्नो शिष्टाचार देखाउन थालेँ । भरखर काठमाडौँमा आफ्नो परिवेश बनाउँदै गरेकी म । प्रायः स्रष्टाहरूसँग उति चिनजान नै थिएन । गीतकार दिदी उन्नति बोहरासँग पनि हल्का चिनजान हुन थालेको थियो । तर बुबाछोरी भन्ने कुराबाट म अनभिज्ञ थिएँ । डा. हर्षबहादुरलाई अर्कै रूपले चिन्थेँ, उन्नति दिदीलाई अर्कै रूपले । समयले उन्नति दिदीे र मेरो साहित्यबाट सुरू भएको मित्रता अनौठोरूपले नजिक हुँदै गयो । यही सिलसिलामा सादा जीवन र उच्च विचार भएका डा. हर्षबहादुर बुबा र उन्नति दिदी छोरी भएको थाहा पाए । त्यसपछि देखि भेट हुँदा अलिअलि कुरा गर्न थाल्यौँ । डा. हर्षबहादुर र म एकैपटक एउटै मञ्चबाट पुरस्कृत हुने संजोग पनि जुरेको सम्झनामा ताजै छ । डा. हर्षबहादुर अन्तर्राष्ट्रिय स्तरमा दरिने क्षमता हुँदाहुँदै पनि आफूलाई चुपचाप एकसुरे भएर जीवनलाई हिँडाइरहे । आफ्नो आदर्शलाई जोगाउँदै सकारात्मक भावको चिन्तनमा लागिरहे। अन्ततः उनको विविध आयामप्रतिको समर्पण नै जीवनदर्शन बन्यो ।
दोस्रो विश्वयुद्धताका नै भारतीय सेनामा प्रवेश गरी प्रतिष्ठा हासिल गरेका उनले समयको किनारमा बन्दुकको युद्ध छाडेर कलमको चिन्तनमा जुट्दै साहित्य र समाजसेवा समर्पित हुनपुगे । उनको जीवनयात्रा हरेक पुस्ताले पढ्नु पर्ने सुन्दर पाठ हो । मगर समुदायका लाहुरे उनी पहिलो विद्यावारिधि गरेर मगर जातिका लागि मात्र नभई संसारभरका नेपालीहरूकै लागि गौरव बनेको कुरा कुनै समय इतिहास अवश्य लेखिने छ ।
डा. हर्षबहादुर बुढामगरको जन्म विस. १९८४ साल कात्तिक ३ गते धौलागिरि अञ्चल, बाग्लुङ जिल्ला गलकोट हरिचौर गाविस वडा नं. ६ कौलेनी गाउँमा देवीकला र भक्तबहादुर बुढामगरका सन्तानका रूपमा भएको थियो । उनी जन्मिएको नौ महिनामा नै बुबाको कर्मसँग जोडिएर, भारतको डिगबोईमा आमाबुबाको साथ लागेर गए । बुबाआमाका एक मात्र सन्तान उनी दुई वर्षको उमेरमा पिताको बात्सल्यबाट वञ्चित भए । बाल्यकाल रमाइलो हुँदाहुँदै पनि बुबाको मृत्युपछि उनको जीवनको आयामै परिर्वतन भयो । विकट ठाउँमा जन्मिएका उनले आमाको माया, स्नेह र प्रेरणा अनि आफ्नै परिवेशको प्रभावबाट जीवनमा सङ्घर्षको यात्रा गरे । उनकी ममतामयी आमा देवीकलासँगै धर्मआमा र माइजूहरूको छाहरीमा बाल्यकाल हुर्कियो ।
उनको शिक्षा विस. १९९२ मा हिन्दी र उर्दू मिडिल इङ्लिस स्कुल भारतको डिगबोईबाट सुरू भयो । डा. हर्षबहादुरले विसं २००९ मा सैन्य तालिममा हुँदा नै शिक्षा दीक्षाको चाँजो मिलाएर द्विुतीय श्रेणीमा म्याट्रिक उत्तीर्ण गरे । अनि सैन्य जीवनबाट स्वेच्छिक अवकाश लिए पछि सन् २०१९ मा इलाहावादबाट द्वितीय श्रेणीमा आइए उत्तीर्ण गरे । अनि २०२३ मा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर द्वितीय श्रेणीमा नै उत्तिर्ण भए भने २०४७ सालमा ६३ वर्षको उमेरमा पटना विश्वविद्यालय भारतबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेर विद्यावारिधिको उपाधि हासिल गरे ।
२००७ साल भाद्र महिनामा २२ वर्षको उमेरमा बाग्लुङ साङ्गेकोट गाउँका टेकबहादुर आलेकी माइली छोरी पुष्पावती आलेसँग उनको दाम्पत्य जीवन सुरू भयो । उनका उन्नति, प्रभा, लेखा, विनीता, यमुना, धर्म नामका छ छोरीहरू र रत्नबहादुर र देवविक्रम दुई छोरा गरी आठ सन्तान भए । कडा अनुशासनका अनुयायी डा. हर्षबहादुरले परिवारलाई पनि अनुशासित बनाए । सामान्य भन्दा पनि सामान्य अवस्थाबाट जीवन सुरू गर्ने डा. हर्षले आफ्नो जीवनकालमा नै परिवारको आर्थिक अभावलाई पूरा गर्नसक्ने आय आर्जन गरेका थिए ।
यो संसारको सृष्टि मानिस जन्मन्छ विना नामले आवाजसँगै सास र आशा लिएर तर जब मृत्यु हुन्छ तब नाम हुन्छ सास र आवाज हुन्न । मान्छेले जीवनकालमा जस्तो कर्म गर्छ, त्यही आधारमा उसको नाम सुकीर्ति याविकृतिसँग जोडिन्छ । अन्ततः जन्म र मृत्युबीचको समयको जीवनयात्रामा नै हरेक व्यक्तिले आफूले गरेका कर्मबाट आफ्नो व्यक्तित्वको निर्माण गर्दछ । आफ्नै कर्मले आफ्नो इतिहास निर्माण गर्ने डा. हर्षबहादुरको साहित्यिक र साहित्योत्तर गरी दुई तहको व्यक्तित्व रहे पनि समयअनुसार बहुआयामिक पाटामा विभाजित छ।
सामाजिक व्यक्तित्वका रूपमा लोकप्रिय डा. हर्षबहादुरले अनेकौँ सङ्घसंस्थाहरूमा रहेर नेतृत्व गरे । नेपाल भूतपूर्व सैनिक सङ्गठन, नेपाल स्काउट, खेलकुद परिषद्, बालसङ्गठन, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सङ्घसंस्थाहरूमा आवद्ध भई ऊर्जाशील रही नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्र सेवाको क्षेत्र उल्लेख्य कार्य गरे । तीन दर्जनभन्दा बढी सङ्घसंस्थामा विभिन्न पदभार ग्रहण गर्ने डा. हर्षबहादुर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सभा, सम्मेलनमा सहभागी हुनु तथा गोष्ठीपत्र लेखन र प्रस्तुति गर्न दुई दर्जन जति मुलुकको भ्रमण गरे ।
विसं. १९९९ मा विद्यार्थी कालदेखि नै कविता विधाबाट साहित्य सिर्जना आरम्भ गर्ने डा. हर्षबहादुर पछिल्लो समयमा विभिन्न विधाका साहित्य सिर्जना र प्रकाशन, गोष्ठी र सेमिनारहरूमा सक्रिय रहे । उनले कविता, कथा, उपन्यास, जीवनी, स्मरण, निबन्ध र शब्दकोषका गरी लगभग दुई दर्जन कृतिहरूको रचना गरे । उनले आफ्नो मातृ भाषासँगै नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा कलम चलाएका छन् । उनी कुनै न कुनै रूपले परोपकार गरिरहन्थे । उनलाई परोपकार गर्दा सन्तोषको अनुभूति हुन्थ्यो । जीवनलाई विभिन्न आयममा हिँडाउन खप्पिस डाक्टर मगरको राजनीतिमा पनि लगाव थियो । उनले राजनीतिप्रति अभिरुचि राखेर राष्ट्रिय जनता पार्टी दर्ता गरे । तर केही समयपछि नै यस यात्रालाई पूर्णविराम दिए ।
शिक्षा नै मानिसको चेतनाको मूलधार हो भन्ने मान्यता राख्ने डा. हर्षबहादुरले बाग्लुङको भरत चैतन्य मिडिल स्कुलमा प्राध्यापक भएर काम गरे । विस. २०१४ सालमा पक्लिहवा हाइस्कुल (पक्लिहवा माध्यमिक विद्यालय) को स्थापना गरे । त्यस्तै २०१७ सालमा रुपन्देही जिल्ला बृटिस क्याम्प सिविलमा जनसम्पर्क अधिकारी रहेकै वेला २०२४ मा सिद्धार्थ कलेज (भैरहवा बहुमुखी क्याम्पस) को स्थापना गरेर संस्थापक क्याम्पस प्रमुखका रूपमा पदास्थापित भए ।
उनी २०२९ मा तत्कालीन राजदरबारको प्रमुख निजी सचिवालय अन्तर्गत जाँचबुझ केन्द्रका विशेष अधिकृत भएर १८ महिना काम गरे । २०३५ देखि स्काउट, वन बसोवास आयोग, भूपू सैनिकजस्ता निकायमा गरी करिब ४५ वर्ष जागिरे जीवन व्यतीत गरे ।
हिम्मतका र चेतनाका अनेकौँ काम गरे तापनि चुपचाप गुमसुम बसिरहने डा. हर्षबहादुरको व्यक्तित्व र कृतित्वबारे काम गर्नु पर्छ बैनी भनेर एक दिन साहित्यकार, कलाकार दिदी भद्रकुमारी घलेले भन्नुभयो । उहाँबारे उति जानकारी पनि छैन भनेर दिदीलाई भनेँ । उहाँले उन्नतिजीसँग सल्लाह गर्नु र सोच बनाउनु भन्ने सल्लाह दिनुभयो र भद्रा दिदीको यो प्रस्ताव जस्ताको त्यस्तै उन्नति दिदीलाई सुनाएँ । उन्नति दिदी त्यसवेला मौन रहनुभयो । कुरा बुझ्दा डा. हर्षबहादुरले भैरहवाका एक सन्निकट हितैषीलाई यो काम जिम्मा लगाइसकेका रहेछन् । उसो त उन्नति दिदीलाई पनि आफ्ना बुबाका बारे आद्योपान्त जानकारी थिएन सायद । तर उनको आफ्नो जीवनबारेको अभिलेख आफ्नै जीवनकालमा पढ्ने अभीष्ट भने पूरा हुन सकेन । मृत्युको मुखमा पुग्दा पनि किताब किताब भनेर छटपटाएको क्षण सम्झेर उन्नति दिदी अहिले पनि वेलावेला भावुक बन्नु हुन्छ ।
जीवनको अन्तिम सत्य मृत्यु नचाहेर पनि स्वीकार्नु पर्ने सृष्टिको नियम हो । सक्रिय यात्राको ८३ औँ वर्षको उकालीमा हिँड्दै गर्दा उनले विसं २०६७ माघ १४ गते काठमाडौँमा जीवनको अन्तिम सास फेरे । त्यस पश्चात् उन्नति दिदीकै पहलमा उनको नाममा ‘डा. हर्षबहादुर स्मृति प्रतिष्ठान’ को २०६७ सालमा स्थापना भयो, जसमा केही परिवारिक सदस्य र केही हामी आबद्ध छौँ । अनि प्रतिष्ठानको प्रयासमा २०७३ सालमा पहिलो लाहुरे ‘विद्यावारिधि हर्षबहादुुर बुढामगर उनको व्यक्तित्व र कृतित्व स्मृतिग्रन्थ’ प्रकाशन भयो । यसमा डाक्टर हर्षका विविध आयामहरू समेटिएको छ । यसले उनीबारे अध्ययन गर्नेलाई निश्चय नै केही सहयोग गर्नेछ ।
यिनै शब्दहरू द्वारा डाक्टर हर्षबहादुर बुढामगरलाई हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
लक्ष्मी उप्रेती
[email protected]