काठमाडौँ /१३ फागुन, २०७८
कोभिड- १९ का कारण विगत दुई वर्षदेखि स्थगित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गर्दै आएको ‘राष्ट्रिय रनिङ् सिल्ड खुल्ला दोहोरीगीत प्रतियोगिता’ यस वर्ष आयोजना गरिने भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाका लागि क्रमशः अढाइ लाख, डेढ लाख, एक लाख र ५० हजार राशिका यी पुरस्कार यस वर्ष क-कसले हात पार्ने हुन् ?साङ्गीतिक बजारमा यसको चर्चा शिखरमा छ ।
पुरस्कारबाहेक प्रत्येक समूहमा दुई पुरुष र दुई महिलालाई उत्कृष्ट भेषभूषाका लागि समेत आकर्षक पुरस्कार रहेको यस प्रतिष्ठानको विज्ञप्तिमा जनाइएको छ । यसले दोहोरी गीतसँगै नेपाली संस्कृतिको आकर्षण रहने निश्चित छ । विज्ञप्ति अनुसार प्रतियोगिता चैत १६ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ ।