• २०८१ माघ २ बुधबार

गजलकार खिम केसीको गजलसङ्ग्रह ‘लोरी’ सार्वजनिक

गजलकार खिम केसीको गजल सङ्ग्रह ‘लोरी’ को घोराहीको मालाइन होटलमा एक कार्यक्रमका बीच भव्य र सभ्य रूपमा विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् केन्द्रीय अध्यक्ष तथा वरिष्ठ गजलकार टीकाराम उदासीको अध्यक्षता तथा लोक साहित्य अनुसन्धानकर्ता डा .गोविन्द आचार्यको प्रमुख आतिथ्यता र नायक जीवन लुइटेल र र लोकप्रिय गजलकार प्रदीप रोदन लगाएतको संयुक्त उपस्थितिमा “लोरी’ को विमोचन गरिएको थियोे ।

परम्परागत भन्दा भिन्नै तरिकाले विमोचन गरिएको कार्यक्रममा अभिनेता जीवन लुइटेल, गजलकार प्रदीप रोदन गीतकार प्रकाश केसी गजलकार मनिषा ऋतु लगायतले गजल वाचन गर्नुभएको थियो भने कृतिको समीक्षा गजलकार कपिल अञ्जानले गर्नुभएको थिए । विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले “लौरी “गजल संग्रहभित्र रहेका दुईवटा गजलको साङ्गीतिक रूपमा गायन गर्नुभएको थियो। गजलकार केसीले ‘लोरी’को बिक्रीबाट आउने रकम र त्यसमा आफूले केही रकम थप गरेर बुवा आमाको नाममा चार लाख बराबरको अक्षयकोष राप्ती साहित्य परिषद्को नाममा स्थापना गर्ने घोषणा समेत गरेका थिए ।

प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार तथा लोक साहित्य अनुसन्धानकर्ता डा.आचार्यले गजलकार खीम केसीका गजल गाउन सकिने संरचनामा रहेको बताउनुभयो। केसीका गजलमा अक्षरिक छन्दको प्रयोग रहेको पनि उहाँले जानकारी गराउनु भएको थियो। केसीका रचना संरचना र कलाका दृष्टिकोणले अब्बल रहेको उहाँको भनाइ थियो । राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक सचिव आदिम केसीले गर्नुभएको थियो । प्युठानमा जन्मिएर दाङमा शिक्षा दीक्षा हासिल गरेका गजलकार केसी केही वर्ष यता अमेरिककालाई कर्मथलो बनाउदै आउनुभएको छ ।