काठमाडौँ
साहित्यकार नेत्रप्रसाद गौतमका तीन कृति ‘नेत्रका तीन खण्डकाव्य, मेरो इतिवृत्रि र भूत पिसाच’ सार्वजनिक गरिएको छ । शनिबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ८१ वर्षीय गौतमका तीन कृति एकसाथ लोकार्पण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लेखक गौतमको उमेर ढल्के पनि साहित्य सिर्जनामा उनको सक्रियता देखेर आफू उत्साहित भएको बताए । उनले स्वास्थ्यले साथ दिएसम्म गौतमले अझै पनि साहित्य कृति दिन सक्ने भन्दै प्रशंसा गरे । समीक्षक रवीन्द्र भट्टराईले लेखक गौतमका कृतित्व र व्यक्तित्वबारे चर्चा गरेका थिए । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहरा लगायता नेताहरुले पनि धारणा राखेका थिए ।
गौतम एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्रकुमार गौतमका पिता हुन् ।