कविता
अहिले पनि
मुर्माटपको शिरमा
हिउँ पहिले पर्छ
र सरकार पछि आउँछ
बाटोभन्दा पहिले
हल्ला आइपुग्छ
र हल्लालाई पछ्याउँदै
बाटो आउँछ
तर त्यो बाटो
अधिकारको बाकस बोकेर गुड्दैन
परम्पराको झुम्रो हल्लाउँदै हिड्छ
र घरघर पुगेर भन्छ-
मुर्मा,
तिम्रो शरीरबाट बगेको रगत
रोग हैन
देवताले पनि छुन डराउने दोष हो
मुर्माटप पुगेपछि
धेरै कुरा बुझ्न गाह्रो हुन्छ-
जुलुसमा हिडिरहेको बेला
शरीरमा घाउ लागेर बगेको रगत
वीरताको रङ हुन्छ
त्यही रगत
झण्डामा पोतियो भने
आस्थाको रङ बन्छ
इतिहासका पानामा
क्रान्तिको अनुहार हुन्छ
तर महिलाको शरीरबाट
हरेक महिना चुपचाप बग्ने
त्यस्तै रगत
कसरी अछूत हुन्छ ?
पुरुषहरू
आफ्नै सुविधा अनुसार
कुराको पोया बटार्छन्
र वंशको कुरा गर्छन्
मुर्माटप
रगत बगाउँछे
त्यही रगतबाट
वंशले भविष्य पाउँछ
र आफ्नै निरन्तरता लेख्छ
तर जब ऊ
रगत बगाउन थाल्छे
पाँच दिनका लागि
छुन नहुने बनाइन्छे
आफ्नै घरभित्र
निर्वासन भोग्छे
मुर्माटप
दुखेको आफ्नो पेट समातेर
रातभरि छटपटिन्छे
तर पेटको दुखाइभन्दा
बढी पोल्छ उसलाई
काखमा बोकेर हुर्काउने
उसको बुबाको स्पर्श
पाँच दिनसम्म
ऊबाट छुट्टिएको पल
आमाले नै
उसको ओछ्यान
अलग्याएको क्षण
कहिलेकाहीँ
पितृसत्ता
पुरुषको अनुहारमा आउँदैन
त्यो परम्परा बनेर
आमाकै हातबाट
छोरीमाथि बज्रिन्छ
संसारका सबै मानिस
महिलाको
रातो अँध्यारोबाट
उज्ज्यालोतिर आएका हुन्
तर इतिहास लेख्नेहरूले
सायद
पितृसत्ताकै पुरानो मसी
प्रयोग गरे
त्यसैले इतिहासमा
पहिलो युद्ध लेखियो
पहिलो विजय लेखियो
पहिलो राजा लेखियो
तर जीवन सुरु गर्नका लागि
महिलाले बगाएको
पहिलो रगत कहिल्यै लेखिएन
र
इतिहास लेख्नेहरूले
इतिहासलाई
यी प्रश्न पनि
कहिल्यै सोधेनन्-
महिलाको शरीरबाट
बग्ने रगत
अशुद्ध हो भने
मानव सभ्यता
कसरी पवित्र भयो?
ऊ महिनावारी हुँदा
छुन नहुने भए
मानव अस्तित्वलाई
पहिलो स्पर्श
कसले दियो ?
हरेक क्रान्ति
रातो हुन्छ
भन्न सकिन्न
नयाँ क्रान्ति
कस्तो हुनेछ ?
तर
सबैभन्दा पुरानो
सबैभन्दा निर्मल
र सबैभन्दा निख्खर रातो
क्रान्ति त
त्यही हुनेछ-
जुन हरेक महिना
महिलाको शरीरबाट
रगत बनेर बग्छ
र
पितृसत्ताको
पुरानो फोहोर पखाल्दै
आफ्नै रगतले
मानव सभ्यताको
निरन्तरता लेखिरहन्छ ।
***
– बालकृष्ण कट्टेल