• २०८३ श्रावण २०, बुधबार

नवयुवा लेखक विम्ब पन्थीको ‘वन वे टिकट’ विमोचित

घोराही ।

नवयुवा लेखक विम्ब पन्थीको तेस्रो उपन्यास ‘वन वे टिकट’ शनिबार घोराहीमा विमोचन गरिएको छ । अध्ययन मञ्च दाङको आयोजनामा सर्वोदय पुस्तकालय तथा वाचनालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. धरनीकुमार शर्मा, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, थम्मन बस्नेत, लेखक विम्ब पन्थी तथा उहाँका मातापिता डा. नारायण पन्थी र कल्पना सुवेदीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले युवा पुस्ताको चेतना लोभलाग्दो र सम्भावनायुक्त रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई सुन्न र पढ्न आवश्यक रहेको बताउनुभयो । ‘किताब पढ्ने संस्कृति थप मजबुत बनाउन यसखाले कार्यक्रम निकै महत्त्वपूर्ण हुन्छन् । प्राज्ञिक व्यक्तित्वहरूले यस्ता कार्यक्रमको निरन्तर अगुवाइ गर्न पनि जरुरी छ,’ उहाँले भन्नुभयो । उपन्यासमाथि समीक्षा गर्दै थम्मन बस्नेतले २० वर्षीय युवाले गहिरो विषयवस्तुमा कलम चलाउनु उल्लेखनीय भएको बताउनुभयो । उहाँले उपन्यासमा नेपाली समाजको यथार्थ चित्रण गरिएको धारणा राख्नुभयो ।

‘वन वे टिकटले केही आशा, केही सपना, केही पैसा र केही खुशी प्राप्त गर्न विदेशिने नेपाली युवाहरूको व्यथालाई गहिरोसँग छोएको छ,’ बस्नेतले भन्नुभयो । डा. टीकाराम उदासीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा लेखक विम्ब पन्थी, डा. नारायण पन्थी र सुरेशकुमार पाण्डेलगायतले मन्तव्य राख्नुभएको थियो । अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । ‘वन वे टिकट’ पन्थीको अङ्ग्रेजी भाषामा प्रकाशित तेस्रो उपन्यास हो । यसअघि उहाँका ‘पर्ल’ र ‘लुङ्ग्री’ गरी दुई उपन्यास प्रकाशित भइसकेका छन् । पुस्तकको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ ।