• २०८१ फागुन ६ मङ्गलबार

अनौठो माया’ उपन्यासको अन्तरक्रिया एवम् अडियो सार्वजनिक

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को उपन्यास ‘अनौठो माया’को अन्तरक्रिया एवम् अडियो सार्वजनिक गरिएको छ । उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार महर्जनको काठमाडौंमा एक समारोहबीच उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले चार दशक लामो साहित्य यात्रा र कला क्षेत्रमा लागेर नेपाली साहित्य क्षेत्रमा आफ्नो महत्त्वपूर्ण योगदान दिनुभएकोमा महर्जनलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

३२ जति कृतिका स्रष्टा प्रसिद्ध साहित्यकार अमरको यस कृतिमा प्रमुख नायक गीतकार उमेश ‘भावुक’, प्रसिद्ध गायिका अन्जली, नायककी आमा, कैदी मनिष र डिएसपी सूर्यकमल लगायतका पात्रहरूको परिवेष र परिस्थिति वपरिपरीमा उपन्यास रहेको पत्रकार गीता अधिकारीले बताउनुभयो । यस्तै, कार्यक्रममा पत्रकार चक्रप्रसाद पोखरेलले साहित्यकार महर्जनको कृति ‘अनौठो माया’का विषयमा चर्चा गर्नुभयो ।

ओएसनेपालको तर्फबाट विवेक कार्कीले आफ्नो धारणा राख्दै ओएसनेपालले प्रकाशित गरेको ‘अनौठो माया’ उपन्यासका बारेमा बोल्दै साहित्यमा धेरै समय खर्चंदै नेपाली साहित्यलाई मात्रै नभएर नेपाली गीत, सङ्गीत क्षेत्रमा पनि आफ्नो अमूल्य योगदान दिनु भएकोमा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा चर्चित एवम् विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले कथावस्तु अनुसार धेरै पृष्ठको उपन्यासभन्दा सरल र सबै कथा समाबेश गरेर पाठक माझ पुरयाउने साहित्यकार अमरको खुवी रहेको धारणा राख्नुभयो । सङ्गीतकार एवम् गायक सूर्यकमल राईले अरु उपन्यास भन्दा फरक शैलीमा सरल तरिकाबाट उपन्यासमा कथा समेटिएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमरले सबैको मन जित्ने जिकिर गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रमपछि उपन्यासको अडियो उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीबाट लोकार्पण गरिएको थियो । पुस्तकमा मात्रै नभएर उपन्यासको अडियो छोटो समयमै सबैले सुन्न सक्ने र पुस्तक प्राप्त नभएको खण्डमा पनि अडियोबाट उपन्यासको मजा लिनसक्ने लेखक महर्जनको भनाइ थियो । उपन्यासको अडियोमा कृष्णराज अधिकारीको आवाज रहेको छ ।