• २०८१ श्रावाण १० बिहीबार

प्रकाशन गृह कोपिला किताबद्वारा ५ बालपुस्तक विमोचन

काठमाडौं र प्रकाशन गृह कोपिला किताबले ५ बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका ५ बालपुस्तक ‘बेखामान र राक्षस, साङ्केनको खुलदुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा बुधबार आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरियो ।ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा।डा। ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले छुट्टाछुट्टै पुस्तक लोकार्पण गर्नुभयो ।

कार्यक्रममा कथावाचक समाजका अध्यक्ष प्रा.डा. घिमिरेले कथाका लागि नेपाल समृद्ध देश रहेको बताउनुभयो । यहाँ कथाका लागि अनगन्ती विषय रहेको र कोपिला किताबले ल्याएका यी पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुसमेत प्रस्तुत गरेको उहाँको भनाइ थियो । चित्रमा माध्यमबाट प्रस्ट गरिएको विषयलाई शब्दको गाम्भीर्यले थप प्रभावकारी बनाएको उहाँले जनाउनुभयो । कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताउनुभयो। यसले प्रकाशन गरेका पुस्तक अन्तर्राष्ट्रिय स्तरको रहेको र नेपाली बालसाहित्यले नयाँ फड्को मारेको यसले प्रस्ट्याएको उहाँको भनाइ थियो ।

अक्षर मात्र भएको पुस्तक सबैलाई मन नपर्न सक्छ, तर चित्रसहितको पुस्तकले सबैलाई आकर्षित गर्ने उहाँले जनाउनुभयो । यही विषयलाई बुझेर कोपिला किताबले बालबालिकाका लागि बहुउपयोगी पुस्तक प्रकाशन गरेको उहाँले सो अवसरमा बताउनुभयो । बालबालिकालाई विशेषगरी पुस्तकले मनोरञ्जन दिनुपर्ने नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले जनाउनुभयो । जब पुस्तकका पंक्तिले बालबालिकालाई तान्छ, त्यसपछि उनीहरू पुस्तक पढ्न आकर्षित हुन्छन्, त्यसैले बालपुस्तक सुरुमा मनोरञ्जनात्मक हुनुपर्ने उहाँको टिप्पणी थियो । कोपिला किताबले प्रकाशन गरेका यी पुस्तक मनोरञ्जनात्मकसँगै ज्ञानमूलक पनि रहेको उहाँले जनाउनुभयो ।

जबसम्म बालबालिकालाई पठन संस्कृतिमा ढाल्न सक्दैनौं, तबसम्म साहित्यका पाठक बढाउन सकिन्न । त्यसैले बालबालिकालाई उपयोगी हुने किसिमले आएका यी पुस्तकले साहित्यका पाठक बढाउन सकिने गरी बालबालिकालाई आकर्षित गर्ने उहाँको भनाइ छ । कार्यक्रममा थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुकले बालसाहित्यका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । उहाँले बालसाहित्यका विविध विषयमा प्रकाश पार्नुभएसँगै कोपिला किताबले प्रकाशन गरेका बाल पुस्तक अन्तर्राष्ट्रिय स्तरका भएको बताउनुभयो । कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको दाबी गर्नुभयो । शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने र त्यो अवसर कोपिला किताबले दिएको उहाँको भनाइ छ ।

‘बेखामान र राक्षस’ पुस्तक विक्रम भक्त जोशीले लेख्नुभएको हो । यसमा चित्रकार शोभितमान बनियाले चित्राङ्कन गर्नुभएको छ । यस्तै अर्को बालपुस्तक ‘जन्तर मन्तर’की लेखक बिन्दु शर्मा हुनुहुन्छ । उहाँको लेखनमा चित्रकार एलिना छन्तेलको चित्राङ्कन गर्नुभएको छ । साथै ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेख्नुभएको हो भने चित्रकार प्रकाश रञ्जितले चित्राङ्कन गर्नुभएको छ । यसैगरी अर्को बालपुस्तक ‘अन्नको बखान’को लेखन भने जितेन्द्र बस्नेतले गर्नुभएको हो । यसमा चित्रकार सुमन महर्जनले चित्राङ्कन गर्नुभएको छ । ‘साङ्केनको खुलदुली’लाई भने लेखक सृजना राईले लेख्नुभएको हो भने चित्रकार सुरज राईले चित्राङ्कन गर्नुभएको छ । सबै पुस्तकको सम्पादन बाल कथाकार अनुराधाले गर्नुभएको हो ।

बालबालिकाहरूको मनोविज्ञान बुझेर र त्यस्तो मनोविज्ञानलाई चित्र अनि सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताउनुभयो । ‘बालबालिकाका लागि सबै किसिमबाट उत्कृष्ट पुस्तक प्रकाशन गरौं भन्ने हाम्रो चाहना हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले यी पुस्तकमा बालबालिकाको उमेरअनुसारको भाषा र चित्र समेटेका छौं । उनीहरूले चित्र मात्र हेरेर पनि कथा बुझून् भन्ने उद्देश्य राखेर पुस्तक प्रकाशनमा ल्याएका छौं ।’ बालसाहित्यकार कृष्णदीप सिग्देलले सञ्चालन गरेको कार्यक्रममा उहाँले बालसाहित्यका विविध पक्षमाथि आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा लेखकहरूले समेत आआफ्ना लेखन अनुभूति साट्नुभएको थियो ।


रङ्गहीन जीवन

बेलगाम महिला

आमा

यो पल