समाचार
भरतपुर ।
स्रष्टा सञ्जीव पौडेलको संस्मरणात्मक निबन्ध कृति ‘छोटु’ (२०८१) लाई ‘भरतपुर प्रज्ञा पुरस्कार–२०८२’ प्रदान गरिएको छ । निबन्ध विधातर्फको यस पुरस्कारको राशि नगद २५ हजार ७८ रुपैयाँ रहेको छ । भरतपुर महानगरका स्रष्टाहरूले अघिल्लो वर्ष प्रकाशित गरेका विविध विधाका उत्कृष्ट कृतिहरूलाई पुरस्कृत गर्ने महानगरको नीति अनुरूप पौडेललाई यो सम्मान प्रदान गरिएको हो। लमजुङको अलैंचेमा वि.सं. २०१९ मा जन्मिएका पौडेल हाल भरतपुर–१०, स्याउलीबजारमा बसोबास गर्दछन् । पुरस्कृत कृति ‘छोटु’मा लेखक पौडेलको आफ्नै अभाव र संघर्षपूर्ण बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी जीवनकथा समेटिएको छ ।
बुबाको अनुहार समेत देख्न नपाएका पौडेललाई विधवा आमाले ज्याला–मजदुरी गरेर हुर्काएकी थिइन्। आर्थिक अभावका कारण १० वर्षकै कलिलो उमेरमा कामको खोजीमा भारत पुगेका उनी त्यहाँ एक पञ्जाबीको घरमा बालश्रमिकका रूपमा कार्यरत थिए, जहाँ उनलाई ‘छोटु’ नामले बोलाइन्थ्यो।
सोही बाल्यकालीन पीडा, व्यथा र कठोर संघर्षलाई चिर्दै पौडेलले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्न सफल भए । कृषि विकास बैंकको अधिकृतबाट सेवानिवृत्त भएपछि उनी सोही बैंकको सञ्चालक समितिको सदस्य जस्तो गरिमामय पदमा समेत पुग्न सफल भएका छन् ।
सरल र सरस शैलीमा लेखिएको यो कृतिले मानिसमा आत्मविश्वास र दृढ संकल्प भएमा जस्तोसुकै बाधा पार गरेर उन्नति गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । कृतिमा लेखकले आफ्नी आमाको साहस र श्रीमती मीना अधिकारीको त्याग एवं सहयोगप्रति पनि कृतज्ञता प्रकट गरेका छन् ।
