वसन्तवेला

काठमाडौंमा सम्पन्न भएको एक कार्यक्रममा डा. राजु अधिकारीका तीन पुस्तक एकैसाथ विमोचन गरिएको छ । अधिकारीद्वारा लिखित ‘परिवार सुख’, ‘संस्कारीबन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ पुस्तक संस्कृति विद्गोविन्द टन्डन, साहित्यकार तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलियाले संयुकरुपमा लोकार्पण गरेका थिए ।साथै तीनै जना वक्ताले उल्लिखित तीन फरकफरक पुस्तकको महत्व र आवस्यकता माथि आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा डा. गोविन्द टन्डनले अधिकारीको पुस्तक ‘संस्कारी बन्ने काइदा’ माथि आफ्ना विचार राखेका थिए ।यो पुस्तक अहिलेको समयमा अतिनै सान्दर्भिक रहेको उनको भनाइ थियो । ‘किनभने हामीले आफ्नो संस्कृति अनि धर्म-परम्परा बिर्संदै गएका छौं,’ उनले भने, ‘यसमा राज्यले पनि ध्यान दिएको छैन ।अहिलेको शिक्षाले सूचना त दिएको छ । यसले मानिसलाई सफल पनि बनाउला ।तर असल बनाउँदैन । अधिकारीजीको ‘संस्कारी बन्ने काइदा’ले सफलमात्र होइन, मानिसलाई असल पनि बनाउँछ ।’
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’बारे समीक्षा गरे । पुस्तक पढ्दै गर्दा उपहार होस्त यस्तो भन्ने अनुभूति हुने उनले बताए । कुनैपनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुने र बाहिरी आवरणमा मात्र ध्यान दिन नहुनेमा पुस्तकले जोडदिएको थपलियाको भनाइ छ । साहित्यकार डा. तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’को समीक्षा गरे । पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालो तिर लगिरहेको अवस्थामा अधिकारीको यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने उनको भनाइ थियो ।
खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जिवनशैली, आखि र रोज्ने के ?, तपाईंका लागि योग, जिन्दगी रिल्याक्स प्लिज !, संस्कारी बन्ने काइदा, परिवार सुख, हजुरलाई विशेष उपहार, विवाह अगाडि विवाह पछाडि, बालबालिका र योगाभ्यास, सुयोग्य सन्तति, नैतिक सुखवाद र जीवनमूल्यहरू पुस्तक प्रकाशन गरिसकेका अधिकारी वाग्मती सफाइ महाअभियानका अवधारणाकार समेत हुन् । राष्ट्रिय युवाप्रतिभा पुरस्कार र भागीरथी पुरस्कार (भारत)बाट सम्मानित अधिकारीले भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामबाट योगविज्ञान विषयमा स्वर्ण पदक समेत पाएका छन् ।