वसन्तवेला
![](https://aksharang.com/wp-content/uploads/2022/09/08-SEP-THURSDAY-01.jpg)
थाहा छैन कस्तो दिन थियो त्यो, जसको सुरुवात झगडाबाट भएथ्यो र झगडामै गएर समाप्त भएथ्यो । सबैभन्दा मन काटिने कुरा त यो थियो– सामुन्ने उभिँदा टाउको उठाएर राम्ररी बोल्न नसक्नेहरूले आँखा जुधाएर धम्की दिएका थिए । कलियुग लागेकै हो त ? जसको सहारामा दुईखुट्टा टेकेर उभिएको छ उसैलाई ढाल्ने धम्किदिनु भनेको प्रलयको सङ्केत नभएर के हो त ?
त्यो रात पनि म कुनै कोल्टे निदाउन सकिनँ ।
भोलिपल्ट बिहान सबेरै बिनीले मलाई नुहाइधुवाइ गराएर ल्याई र फेरि बेडमै पल्टाई, किनभने ह्विलचेयरमा बस्ने रत्तिभर इच्छा थिएन । मन एकदमै विचलित थियो । हिजोका घटनाहरू दिमागमा घुमिरहेका थिए । म निर्णय गर्न सकिरहेको थिइनँ– यसरी घरका सबै सदस्यसँग एकैपटक झगडा हुनु संयोग मात्र थियो या फेरि म नै ओभर रियाक्ट गरिरहेको थिएँ ? घरका मान्छेहरूको नियत बिग्रिरहेको थियो या सुप्रियाले भनेझैँ शरीरिक अपाहिजले मेरो दिमागमा असर गर्दै थियो ? म आफू पनि महसुस गरिरहेथेँ– म अलि धेरै नै चिडचिड गर्न थालेको थिएँ । तर घरका सदस्यहरूको व्यवहार पनि त कहाँ सहयोगपूर्ण थियो र मप्रति ?
यहाँसम्म कि मेरा हातखुट्टा नचलेदेखि छायाँ बनेर मेरो साथमा रहने वासुसमेत गायब थियो बिनी आएदेखि । कहिलेकाहीँ फोनबाटै कुरा गर्दथ्यो । हालखबर सोध्दथ्यो । बस् । के म एकदमै धेरै अपेक्षा राखिरहेथेँ परिवार र साथीहरूबाट ? या उनीहरू नै मसँग तर्किन थालेका थिए ? के मेरो बिमारी मेरा वरिपरिका सबैका लागि बोझ बन्दै थियो ? नत्र किन यी सबैको व्यवहार मप्रति यति असहयोगी, अनौठो ?
म चिन्तित, आन्दोलित– यो र त्यो सोचिरहेका बेला फुपू पूजा सकेर मेरो कोठामा आउनुभयो । आफ्नै चिन्तामा घेरिएर झोक्राइरहेको म उहाँतिर हेरेर मुस्कुराउन पनि सकिनँ ।
‘के भयो, तिमी ठीक त छौ ?! उहाँले मेरो निधारमा हात राख्दै चिन्तापूर्ण स्वरमा सोध्नुभयो ।
‘ठीक छु फुपू म…।’
‘के ठीक छौ ? अनुहार वर्षौंको विरामीजस्तो देखिन थालेको छ । शरीर पूरै पहेँलिन थालिसक्यो । शरीरमा कतै रगतको थोपा भएजस्तो देखिँदैन । यसरी कसरी चल्छ प्रत्यूष ?’ उहाँको स्वर अवरूद्घ भयो । उहाँले धोतीको सप्कोले आफ्ना आँखा पुछ्नुभयो । मेरो मन भरिएर आयो । मैले असहाय भावले बिस्तारै भनेँ– ‘म के गरौँ फुपू ?’
‘कस्तो के गरौँ ? खुरुक्क आफ्नो राम्रो इलाज गराऊ । यसरी ह्विलचेयरमा बसेर कहीँ जिन्दगी काट्न सकिन्छ ? प्रत्यूष, छहारी जति नै शीतल भए पनि त्यहाँबाट बाहिर निस्कनैपर्छ । किनभने यसरी छहारीमै बसिरहे आफ्नो छायाँले पनि साथ छोडिदिन्छ ।’
‘फुपू !’
‘प्रत्यूष, म बूढीले भनेको मान ! आफ्नो राम्रो इलाज गराऊ !’
‘फुपू, शरीर मात्रै विरामी भए त इलाज गराउन पनि मिल्थ्यो, तर मेरो त मन पनि विरामी भएको छ सायद… ।”
‘प्रत्यूष, त्यसो नभन बा ! त्यसरी हरेस खानु हुँदैन । कस्तोकस्तो असाध्य रोग त निको हुन्छ आजको संसारमा । तिमीलाई त के भएको छ र ? तिमी एकपटक आफ्नै खुट्टामा उभिएको देख्न पाए म पनि ढुक्कसँग चारधाम जाने थिएँ । के गरूँ बा, मेरो त घर भने पनि तिमी, माइती भने पनि तिमी, इष्टमित्र भने पनि तिमी आफन्त भने पनि तिमी ।’ उहाँले फेरि आफ्ना टिलपिल भरिएका आँखा पुछ्नुभयो ।
‘फुपू, तपाईं चिन्ता नगर्नुस् !’ यसपटक मैले उहाँको मन राख्नै भए पनि आश्वासनपूर्ण भावमा भनेँ– ‘वासु आओस् यसपटक, म उसलाई लिएर बाहिर जान्छु ।’
‘चिरायु रहे बा, दीर्घायु रहे ! ईश्वरको कृपाले सधैँ सु–स्वस्थ्य रहे !’ उहाँले मलाई टीका, प्रसाद लगाएर मेरो टाउकोमा हात राख्दै भन्नुभयो– ‘आज भक्तपुरमा भइरहेको यज्ञको अन्तिम दिन । जान्छु, जान्छु भन्दाभन्दै जानै सकेको होइन । सुदर्शनलाई दसपटक छोडेर आ’न भनेँ तर सुनेको होइन । आज त जानैपर्यो भनेर आँटेको…।’ उहाँले खुद्रा पैसा र चामलले भरिएको किस्ती मेरो छेउमा राख्दै मेरो निर्जीव हात समातेर त्यो किस्तीमा भएको चामल र पैसालाई चलाउने कोसिस गर्नुभयो र पुनः भन्नुभयो– ‘तिम्रो नाउँमा पूजा गराउन लागेको छु । ईश्वरको कृपाले मेरो एक मात्र सहारा तिमी…।’
‘किन त्यसो भन्नुहुन्छ फुपू ?’ मैले उहाँको कुरा काट्दै भनेँ– ‘सुदर्शन छँदैछ नि !’
‘खै बा, को छ
भनूँ, को छैन भनूँ ? सुदर्शन भए पनि, नभए पनि तिम्रो जुन महत्व छ, जुन स्थान छ मेरो जीवनमा, त्यो अरू कसैले लिन सक्दैन । त्यसैले त भनेको बा, म तिमीलाई यस हालतमा देख्न सक्तिनँ ।’ उहाँका आँखामा फेरि आँसु भरिए । यसपटक मेरो पनि नाक पीरो भयो ।
‘कसरी जानुहुन्छ ?’ मैले प्रसङ्ग फेर्ने उद्देश्यले भनेँ– ‘सुदर्शनले छोड्छ कि ?’
‘कहाँ, उसको काम छ रे, ट्याक्सी लिएर जाऊँ कि भन्ने सोच्या छु । सर–सामानहरू पनि त थुप्रै छन् ।’
‘घरमा यत्रा गाडी हुँदाहुँदै अब तपाईं ट्याक्सीमा जानुहुन्छ मन्दिर ? के कुरा गर्नुभएको फुपू यस्तो ? हातखुट्टा नचले पनि मरिसकेको त छैन नि म !’
‘बाबु के भनेको त्यस्तो ? त्यस्तो भन्नु हुन्न बा !’
‘भानुले पनि त चलाउँछ गाडी । तपाईं मेरो गाडी लिएर जानूस् !’
‘तर बाबु भानुका लोग्ने–स्वास्नी त भानुको बाउ बितेको खबर सुनेर हिजै गाउँ गइसके ।’
‘कति बेला ?’ मैले आश्चर्यपूर्वक सोधेँ– ‘मलाई त कसैले भन्दा पनि भनेनन् ।’ मेरो स्वर अनायास मलिन भयो– ‘घरका मान्छे त घरका मान्छे, अब त नोकर–चाकरले समेत पुछ्न छोडे मलाई ।’
‘होइन होइन बाबु, त्यसो नभन ! माथि आएको थियो तर तिम्रो कोठाको ढोका बन्द थियो रे, तिम्री नर्सले तिमी कसैसँग जरुरी कुरा गरिरहेको बताएपछि हतासिँदै मलाई सोध्न आएको थियो । अब त्यस्तो खबर पाएको मान्छेलाई अड्काइरहन मलाई ठीक लागेन । त्यसैले मैले नै पैसासैसा दिएर विदा दिएकी ।’
‘ओहो !’
‘तिमी कतितिरको चिन्ता लिन्छौ बा, म गैहाल्छु नि कसै गरी…।’
‘तपाईं धनबहादुर काकालाई लैजानस्, गाडी त उनले पनि चलाउँछन् नि ?’ मैले भनेँ ।
‘धनेलाई पनि लगे घरमा को रहन्छ ? तिमीलाई त थाहै छ, अस्ति भर्खर सुप्रियाले मदनलाई निकालिदिई । गङ्गा इन्द्रको व्यवहारदेखि डराएर छोडेर गै । अब बाँकी को छ ? हिजो मात्र सुप्रियाले कुन्नि कताबाट हो ल्याएर एउटा मान्छे त राखेकी छ तर त्यो हेर्दै यति लठ्ठक छ कि मलाई त त्यो हाम्रो घरमा टिक्ला जस्तो लागेको छैन ।’
‘तपाईं चिन्ता नगर्नूस् फुपू, एकै दिनको कुरा त हो, फेरि बिनी पनि त छे ।’
‘…तर प्रत्यूष, तिम्री नर्स पनि त आज जरूरी कामले बाहिर निस्कने कुरा गर्दै थिइन् होइन र ?’
फुपूले भनेपछि बल्ल मलाई याद आयो– बिनीले त अघिल्लै हप्ता आजका लागि छुट्टी मागेकी थिई ।
‘केही छैन फुपू । म त्यही लठ्ठकसँग काम चलाउँला केही घन्टा । तपाईं मेरो गाडीमा काकालाई लिएर जानूस् !’
त्यसपछि फुपूले नमान्दानमान्दै, काकाले तीव्र अनिच्छा देखाउँदादेखाउँदै पनि मैले मेरो गाडीमा फुपूलाई भक्तपुर पुर्याएर ल्याउन काकालाई मनाएँ ।
केही घन्टाकै त कुरा थियो, चलाउँला कसैगरी– मैले सोचेँ ।
फुपू त्यहाँबाट उठ्ने तरखर गर्दागर्दै सुप्रियाले राखेको नयाँ मान्छे हातमा एउटा बडेमानको टिनको बट्टा झुन्ड्याउँदै सोध्दैनसोधी हाम्रोछेउमा ठिङ्ग उभिन आइपुग्यो ।
‘के हो त्यो ?’ फुपूले केही बोल्नुअघि नै मैले सोधेँ ।
‘घ…घ..घिउ सा’ब !’ ऊ हडबडायो ।
‘घिउ ?’ फुपू कराउनु भयो– ‘अनि घिउ किन यहाँ लिएर आएको त ?’
‘…तल म…मान्छे आ’थ्यो, उसले तपैंलाई नै दिनु भन्या’थ्यो…।’ उसले डराउँदै भन्यो ।
मैले वितृष्णापूर्वक फुपूलाई हेरेँ । फुपू थाप्लोमा हात बजार्दै कराउनुभयो– ‘हे ईश्वर ! हैन ए लठ्ठक, घिउ कि त भान्सामा लगेर राख्छन् कि पूजाकोठामा । यहाँ सुत्नेकोठामा बोकेर आउँछन् कहीँ नपाएर ?’
‘…तर तपैँ… तपैँकै हातमा दिनु भनेकाले, म…।’
ऊ मेरो आग्नेय नेत्रको सामना गर्न नसकेर डराएर चुप मात्र लागेन, दुइ कदम पछि सर्यो । म उसलाई एकोहोरो घुरिरहेँ ।
‘जा तल, म आउँछु ।’ फुपू उठ्नुभयो । ऊ तल जान घुम्यो, तर अचानक के भयो कुन्नि– ऊ नराम्रोसँग लड्खडायो । घिउको टिन उसको हातबाट छुट्यो । ठूलो मुख भएको टिन मेरो बेड नजिकै भुइँमा बजारिनेबित्तिकै बिर्को उछिट्टिएर कता पुग्यो कता । घिउ छताछुल्ल भयो ।
‘सत्यानाश !’ म र फुपू एकैपटक करायौँ । पग्लिरहेको घिउ मोटो गलैँचाले यसरी सोस्यो मानौँ सुकेको बालुवाले पानी ।
‘हे भगवान्…!’ फुपू कराउनु भयो– ‘होममा लैजान भनेर मगाएको चोखो घिउ, बजियाले सत्यानाश गरिदियो ।’
पहिलेदेखि डराइरहेको त्यस केटाको सातोपुत्लो उड्यो । ऊ कालोनीलो अनुहार पारेर हलचल नगरी उभिइरह्यो ।
‘ए, के नाम हो तेरो ? घिउको बट्टा उठा अनि निस्की यहाँबाट…।’ म आक्रोशपूर्वक कराएँ– ‘फुपू ! मलाई यो मान्छे मेरो घरमा चाहिँदैन । अहिले, अहिल्यै हिसाब गर्नुस् यसको, अनि…अनि यो कार्पेट झिक्न लगाउनूस् यहाँबाट । उऽऽऽफ यो घिउको गन्ध ! हे भगवान् !’ मैले टाउको दायाँबायाँ चलाएर आफ्नो छटपटाहट जाहेर गरेँ । डरले जड भएको उसले घिउको बट्टा उठायो अनि छिट्छिटो बाहिर निस्कियो ।
‘तर प्रत्यूष, आज तिमी एक्लै हुन्छौ घरमा, आज एक दिन तिमी यसैसँग काम चलाऊ, म भरे–भोलि यसलाई फिर्ता पठाइदिन्छु ।’ फुपूले ऊ बाहिर निस्केपछि भन्नुभयो ।
‘जेसुकै होस् फुपू, यो मान्छेलाई मेरो घरमा एक निमेष पनि देख्न चाहन्नँ म । भरे–भोलि होइन आज, अहिल्यै त्यसलाई विदा गर्नूस् र कमललाई भनेर कुनै समय मिलाएर यो कार्पेट झिकिदिन भन्नूस् प्लिज ! अनि तल गएर बिनीलाई माथि पठाइदिनूस् । म तल जान चाहन्छु ।’
केही बेर दयनीय भावले मलाई एकोहोरो हेरर फुपू घिउ पोखिएको ठाउँमा टेक्नबाट जोगिँदै बाहिर निस्कनुभयो । केही बेरमै बिनी मेरो बेडरुमको ढोकामा देखापरी । मेरो ओछ्यानतिर बढेकी बिनीलाई लक्ष्य गर्दै मैले भनेँ– ‘उताबाट आऊ, यहाँ सबै घिउ पोखिएको छ ।’
‘घिउ ? यहाँ ?’ उसले भुइँतिर हेर्दै भनी– ‘खै कहाँ ? कसले ल्यायो बेडरुममा घिउ ?’
‘सुप्रियाको जमुराले ।’ मैले दिक्क मान्दै भनेँ– ‘आजकल यस घरमा जेजे भैरहेछ, सबै विचित्र भैरहेछ । अपत्यारिलो भैरहेछ । थाहा छैन बजियाले कति लिटर घिउ यहाँ घोप्ट्याएर गयो । केही नभए नि दस लिटरको टिन त थियो होला त्यो । अब यो यत्रो अजङ्गको कार्पेट पो कसरी झिकेर सफा गर्ने हो ? बिनी, मलाई तल लिएर हिँड न, प्लिज ! म यो ताजा घिउको गन्धमा बस्न सक्तिनँ । मलाई यस्तो अनूभूति भैरहेछ यहाँ– मानौँ चितामा म सुतिरहेको छु ।’
‘छिः के बोलेको त्यस्तो ?’ उसले हातको ट्रे साइडको टेबलमा राखी अनि मेरो निधारको पसिना पुछ्दै सोधी– ‘के भैरहेछ तिमीलाई प्रत्यूष ? किन यो एयरकन्डिसन रुममा पनि पसिनाले भिजिरहेछौ तिमी ?’
‘थाहा छैन मलाई के भैरहेछ, तर अहिले लाई मलाई तल लिएर हिँड, प्लिज ! नत्र निसास्सिएरै मर्नेछु म यो घिउको तीव्र गन्धमा !’
‘ओके, ओके, काम डाउन !’ उसले हिजै मात्र आइपुगेको नयाँ ह्विलचेयरको बक्स मेरो बेड नजिकै तान्दै भनी– ‘मलाई यो ह्विलचेयर फिक्स गर्नदेऊ । तिम्रो पुरानो ह्विलचेयरको ब्रेकले राम्रोसँग काम गरिरा’ छैन ।’ त्यसपछि उसले काकाको मद्दतले नयाँ ह्विलचेयर फिक्स गरी । पुरानोलाई फोल्ड गरेर बेडको साइडमा लगेर राखी । दुवै मिलेर मलाई तल लगेर लिभिङ्रुममा राखेपछि मैले सोधेँ– ‘आज घरमा किन यति शान्ति ? कहीँ कुनै आवाज सुनिँदैन त ? कहीँ सुप्रिया विरामी त छैन ?’
‘घरमा कोही छैन ।’ थाहा छैन कताबाट हो भर्खर भित्र पसेको सुदर्शनले भन्यो ।
‘कोही छैन ? कोही छैन भन्नुको मतलब ? अनि यो के हालत बनाएको तिमीले आफ्नो ? सुदर्शन ! यति बिहानैबिहानै पिएर आएका छौ कि क्या हो ?’
‘के गरुँ, हिम्मत बटुलिरहेछु कैयौँ दिनदेखि । तर जब म यहाँ, यस घरभित्र पस्छु, मेरो हिम्मत यहाँको चिसोपनले जमेर बरफ बन्छ । सबै निस्किए, म त भन्छु तिमी पनि निस्क यहाँबाट । यस मसानमा कहाँ कतिबेला गिद्घ…।’ फुपूलाई भान्साबाट निस्कँदै गरेको देखेर ऊ हडबडाएर चुप मात्र लागेन, भर्याङतिर लम्कियो । म उसको नाम लिएर कराई रहेँ तर उसले फर्केर हेरेन ।
‘फुपू ! के भन्छ यो सुदर्शन, ठीक त छ यो ? कहीँ कुनै गलत नसा या कुनै…।’
‘तिमी कसकसको चिन्तामा टाउको दुःखाउँछौ बा ? छोड त्यसको कुरा, थाहा छैन कसकसको सङ्गतमा हिँड्छ अचेल । त्यसैले त भनेको तिमी ठीक हौ छिट्टै । त्यसपछि सबै ठीक हुन्छ । बाबु, नियम–कानुन नभएको देश र परिवार सम्हाल्ने मूली नभएको घर उस्तै हुन्छ । त्यसैले तिमी आफ्नो फिक्री गर !’
‘तर फुपू, सुदर्शन…।’
‘केही भएको छैन सुदर्शनलाई ।’ यसपटक उहाँले अलि कडा स्वरमा भन्नुभयो– ‘अलि दिन भयो मैले खोजखबर राखेकी छैन । एकपटक अगाडि राखेर हप्काएपछि ठेगानमा आइहाल्छ । तिमी चिन्ता नगर !’
म केही बोलिनँ ।
फुपू पूजाका सर्दाम ठीक गर्न पूजाकोठातिर लाग्नुभयो । बिनीले अमलेट, टोस्ट र कफी ल्याएर मेरो अगाडि राखी । उसले पहिलो टुक्रा मेरो मुखमा राख्न नभ्याउँदै फोनको घन्टी बज्यो । ऊ हातमा लिएको टुक्रा फिर्ता प्लेटमै राखेर फोन उठाउन गई । केही बेर सुनेर उसले कर्डलेस फोन ल्याएर मेरो कानमा लगाइदिई । फोन ‘सगुन गोल्डमार्ट’ बाट आएको थियो । त्यसका मालिक मेरा बुबाका अभिन्न मित्र मात्र थिएन, उनको परिवारसँग हाम्रो राम्रो पारिवारिक सम्बन्ध पनि थियो । बुबा बित्नु भएपछि भोज–भतेर, गेट टुगेदर छाँटिए पनि उनीहरूसँगको हाम्रो सम्बन्ध उस्तै प्रगाढ थियो । आज पनि हाम्रो सबै सुन–चाँदीको किनमेल सगुनसँगै हुन्थ्यो ।
यति बिहानै आएको उनको फोनले आश्चर्यित हुँदै मैले फोन सुनेँ । हालचाल सोधपुछ गरेर सकेपछि सगुनका मालिक शरणमान वैद्य अङ्कलले केही हिचकिचाउँदै भने– ‘राजा ! (उनी मलाई सधैँ त्यसरी नै सम्बोधन गर्दथे) भन्न जरुरी नभए म तिमीलाई डिस्टर्भ गर्ने थिइनँ, तर फेरि मेरो मनले भन्यो तिमीलाई अहिल्यै सचेत गराउनु जरुरी छ ।’ उनी एक्कै छिन अडिए अनि गम्भिर हुँदै भने– ‘राजा, प्रद्युम्नको घडी मकहाँ आइपुगेको छ, म…।’
‘मेरो घडी ?’ म उत्तेजित स्वरमा कराएँ– ‘आई मिन बुबाको घडी ?… कसले ल्यायो त्यहाँ ?’
‘हिजो कसैले बेच्न ल्याएको रहेछ, मेरो साथीकोमा । घडीमा प्रद्युम्नको नाम देखेर मेरो साथीले मलाई फोन गर्याे, म दौडीदौडी उसकोमा पुगेँ । त्यस घडीलाई मैले नचिन्ने कुरै थिएन । बेलायत गएको बेला प्रद्युम्न र मसँगै गएर किनेथ्यौँ त्यो घडी । कैयौँपटक तिम्रो अनि कैयौँपटक प्रद्युम्नको हातमा देखेको छु मैले त्यो घडी । अनि बेच्न ल्याउने व्यक्ति पनि त अपरिचित थिएन । ऊ पनि त परिवारकै सदस्य…।’
‘को, को थियो त्यो ?’ म रिसले चुर हुँदै कराएँ– ‘सुमन्त ! सुमन्त नै थियो, होइन अङ्कल त्यो ?’
‘सुमन्त होइन राजा, सुदर्शन !’ शरण अङ्कलको गम्भीर स्वरले मानौँ छाँगाबाट खसेँ म ।
‘अङ्कल म पछि कुरा गर्छु तपाईं सँग, अहिले…।’
‘घडी यहीँ छ । सुरक्षित छ । तिमी जतिबेला चाहन्छौ लिएर जान सक्छौ, तर अर्कोपटकका लागि सचेत रहनु किनभने बेच्न जाने मानिस हरेकपटक चिनजानकै ठाउँमा पुग्छ भन्ने छैन । तिम्रो परिवारसँग परिचित हुन्छ भन्ने पनि छैन । सो बेटर बी केयरफुल ।’
‘आई विल अङ्कल, धन्यवाद !’ मैले बिस्तारै भनेँ । बिनीले फोन मेरो कानबाट हटाउनेबित्तिकै म उग्र स्वरमा गर्जिएँ– ‘सुदर्शनऽऽऽ…..!’ मेरो चिच्याहट सुनेर सबैभन्दा पहिले त फुपू नै पूजाकोठाबाट बाहिर निस्कनुभयो ।
‘के भयो बाबु ?’ उहाँले चिन्तापूर्ण स्वरमा सोध्नुभयो– ‘किन यस्तरी चिच्याएको ?’
‘फुपू, तपाईं चिच्याउने कुरा गर्नुहुन्छ, यदि म उठ्न मात्र सक्ने भए केके गर्थें, मलाई नै थाहा छैन ।’
‘के भयो त्यस्तो प्रत्यूष ?’ यसपटक फुपू र बिनी दुवैले एक स्वरमा सोधे ।
‘ऊ त्यसलाई सोध्नूस् !’ मैले भर्खरै तल झरेर लिभिङ्रुमतिर आइरहेको सुदर्शनलाई लक्षित गर्दै भनेँ ।
‘के गरिस् ए सुदर्शन तैँले त्यस्तो ! प्रत्यूषलाई यति बिधी उग्र बनाउने गरी ?’ फुपूले सुदर्शनलाई हेर्दै कडा स्वरमा भन्नुभयो ।
‘म…मैले केही गरेको छ… छैन ।’ उसले फुपूसँग आँखा जुधाउन हच्किँदै भन्यो ।
‘अनि बुबाको घडीचाहिँ के मैले लगेर बेचेँ हिजो ?’ म फेरि कड्किएँ । फुपूका आँखा आश्चर्य र अविश्वासले विस्फारित भए । उहाँले पालैपालो मलाई अनि सुदर्शनलाई हेर्नुभयो । सुदर्शनको पसिनाले भिज्दैगएको नीलोकालो अनुहार देखेर उहाँको आँखामा रिस र अफसोचका रेखा कोरिए । उहाँले अहिलेसम्म आश्चर्यले खुलिरहेको मुख बन्द गर्नुभयो र वेगका साथ सुदर्शनतिर बढ्नुभयो । सुदर्शन डराएरपछि हट्यो तर पनि ऊ फुपूको प्रचण्ड झापडबाट बँच्न सकेन । ऊ डगमगाएर साइडको पिलर थाम्न पुग्यो ।
‘कुलङ्घार ! यही दिन देखाउन बाँकी थियो तैँले मलाई ?’ फुपू उसमाथि अझै जाइलाग्दै कराउनुभयो– ‘जसले आश्रय दियो, सहारा दियो, उसैको पिठ्यूँमा छुरा हान्ने नीच काम कसरी गरिस् हँ, तैँले ?’ फुपूको अर्को झापडले सुदर्शनको ओठ काटिएर रगत बग्न थाल्यो । मलाई थाहा थिएन– त्यति निरीह देखिने मेरी फुपू त्यति शक्तिशाली हुनसक्नुहुन्छ भनेर । सुदर्शन थरथर काँपिरहेको थियो । अनायास मलाई उसमाथि दया लागेर आयो । अतः मैले बिस्तारै भनेँ– ‘भैगो फुपू, छोड्नोस् अब, विचरा रगताम्ये भैसक्यो ।’
‘विचरा ? यो चोर विचरा ? मेरो भाइको चिनो, हिम्मत कसरी भयो यसको त्यसलाई छुने ? म आज छोड्दिनँ यो चोरलाई…।’
‘फुपू बिन्ती ।’ बिनीले फुपूलाई समात्दै भनी– ‘छोड्दिनूस् न प्लिज ! नहुने गल्ती त भै नै हाल्यो, अब आइन्दा उहाँले त्यस्तो गर्नुहुन्न ।’
‘गर्नका लागि मैले यसलाई टिक्न दिए पो यहाँ ?’ फुपूले अझै सुदर्शनतिर झम्टँन खोज्दै भन्नुभयो– ‘निस्की…निस्किहाल यहाँबाट । म चाहँदैचाहन्नँ तँजस्तो कृतघ्न, कुलङ्घारको छायाँ पनि मेरो भाइको घरमा परोस् । हे ईश्वर ! यो कस्तो दिन देख्नुपरेको ? जसको छायाँमा पालियो उसैको जरो खन्ने सन्तानलाई किन वास दियौ भगवान् मेरो गर्भमा ? विधवा त बनाएकै थियौ तिमीले, यस्तो सन्तानको आमा बनाउनुभन्दा किन मेरो कोख पनि बाँझै रहन दिएनौ ?’
‘फुपू, फुपू त्यसो नभन्नूस् !’ बिनीले उहाँलाई सम्हाल्दै सहानुभूतिपूर्ण स्वरमा भनी । सुदर्शन लडखडाउँदै, सम्हालिँदै मूलढोकातिर बढ्यो । ओठबाट बगेको रगतलाई सेतो सर्टको बाहुलाले पुछ्ने कोसिसमा ऊ त्यसलाई झन् जताततै लतपत्याइरहेको थियो । फुपूको पहुँचबाट टाढा पुग्नेबित्तिकै उसले फर्केर विचित्र भावले मलाई हेर्यो अनि उच्चस्वरमा भन्यो– ‘मलाई अपसोच छ प्रत्यूष, सायद अब तिमीलाई कसैले बचाउन सक्दैन । मलाई अपसोच यसमा छ कि तिमी त्यो देख्न, सुन्न सक्दैनौ, जुन म देख्छु, सुन्छु । मृत्युको त्यो गन्ध तिमी महसुस गर्न सक्दैनौ, जुन पल–प्रतिपल तिमीतिर बढिरहेछ । तिमी अपाहिज हुँदा पनि चेतेनौ प्रत्यूष ! तर अब त मलाई लाग्छ, तिमीसँग समय नै छैन चेत्न र सम्हालिनलाई । मलाई साँच्चै अपसोच छ कि…।’
‘हे भगवान् !’ फुपू कङ्कला शब्द रुँदै, फलाक्दै आफूलाई बिनीको पकडबाट फुत्काएर फेरि सुदर्शनलाई झम्टन लम्कनुभयो– ‘तेरो सत्यानाश होस् सुदर्शन ! मुखमा आएको बोलेर किन पहिल्यैदेखि विरामी मेरो भाइलाई डराउँछस् ? कुलङ्घार, तेरै दिन सकिएजस्तो छ आज । पख, आज म छोड्दिन तँलाई ! तेरो यो हिम्मत ? मेरो भाइका लागि अशुभ बोल्छस् ? पख् ! म तेरो जिब्रो थुत्छु आज…!!’
तर फुपू सुदर्शनको नजिक पुग्नुभन्दा पहिल्यै बाहिरतिर दगुर्यो । म, बिनी र केही बेरअघि मात्र भित्र पसेका धनबहादुर काका स्तब्ध भएर ढोकातिरै हेरिरह्यौँ ।
त्यसपछि फुपूलाई सम्झाइबुझाइ गरेर पूजामा पठाउन केही बेर लाग्यो । सुन्निएका आँखा र अत्यधिक चिन्ताका साथ फुपू पूजामा जान निस्कनुभयो । आज पूजाको अन्तिम दिन नभएको भए सायद उहाँ जानु हुने नै थिएन । धनबहादुर काका फुपूलाई पूजामा छोडेर होमका लागि घिउ खोजेर फुपूलाई बुझाउन जाने जिम्मेवारीका साथ फुपूसँगै निस्किए, तथापि घरमा मलाई एक्लै छोडेर जाने उनको इच्छा पटक्कै थिएन ।
फुपूसँगै बाहिर निस्किएका धनबहादुर काका केहीबेरपछि फर्किएर आए ।
‘के भयो काका ? फुपू खै ? तपाईं किन…।’
गाडीमा होइबक्सन्छ । हजुरलाई माथि हजुरको कोठामा पुर्याएर आउन मर्जी भएकोले…।’
‘काका ! म माथि जान्नँ । त्यो घिउको गन्धमा म सास पनि राम्ररी फेर्न सक्दिनँ ।’ मैले काकाको पूरा कुरा सुन्दैन सुनीकन भनेँ ।
‘तर सानो राजा… आज घरमा कोही हुँदैनन्, हजुरलाई यसरी तल एक्लै छोडेर मैसाब जान मानिबक्सन्न । मैले त भनेको हुँ तर…।’
‘काका ! फुपूलाई भन्दिनूस्– तपाईंले प्रत्यूषलाई माथि पुर्याएर आउनुभयो भनेर । यसरी दुवैको कुराको मान रहन्छ । तपाईं पनि प्रत्यूषको पटक्कै चिन्ता नलीकन जानूस् ।’ यसपटक बिनीले आस्वश्त भनी– ‘यहाँ म छु ।’
काकाले कृतज्ञतापूर्वक बिनीतिर टाउको झुकाए र बाहिर निस्किए ।
पछाडि बिनीले मलाई फेरि ख्वाउने कोसिस गरी तर मेरो मन यस्तरी भाँडिएको थियो, केही खाने त के, त्यहाँ बसिरहने इच्छा पनि थिएन ।
म ‘खुइऽऽऽय’ ‘खुइऽऽऽय’ सुस्केरा हालिरहेँ । विचलित, कहिले यता अनि कहिले उता लैजान बिनीलाई आग्रह गरिरहेँ । पहिलोपटक मलाई त्यो घर त्यति ठूलो अनि हिस्सीहीन महसुस भैरहेथ्यो । कहीँ कुनै चहलपहल, कहीँ कुनै आवाज थिएन । यस्तो लागिरहेथ्यो– म घरमा नभएर रित्तो श्मशानमा छु, जहाँ न कुनै मूर्दा छ, न मूर्दाको आशमा मडारिइरहेका गिद्घहरू । तथापि श्मशानको वीभत्सता, शून्यपन र चिसोपना म हरक्षण अनूभूत गरिरहेथेँ । घरिघरि सुदर्शनको रगताम्ये अनुहार आँखामा उदाउँथ्यो अनि मेरो मन यति विचलित हुन्थ्यो कि पेटका आन्द्राहरू बटारिएर आउँथे । बान्ता होला–होलाजस्तै हुन्थ्यो । के थियो आखिर सुदर्शनको भनाइको अर्थ ? के ऊ धम्की दिँदैथियो मलाई ? या अरू नै केही सङ्केत गर्दैथियो ?
मेरो छटपटी पलपल बढि नै रह्यो । अचानक मलाई ख्याल आयो– बिनीलाई पनि त जरुरी कामले बाहिर जानु थियो आज !
मैले उसलाई सम्झाउँदै भनेँ– ‘तिमी कति बेला जान्छ्यौ ?’
‘कहाँ ?’ उसले सोधी ।
‘तिमीले नै भनेकी होइन, आज तिम्रो जरुरी काम छ भनेर ?’
‘त्यो त हो कि तर यत्तिका भाँडभैलोपछि तिमीलाई एक्लै छोडेर कसरी जानसक्छु म ?’
‘तिमी त भन्थ्यौ एकदमै जरुरी काम छ भनेर ।’
‘यतिबेला तिम्रो साथमा हुनुभन्दा ठूलो र जरुरी मेरो अर्को कुनै काम छैन प्रत्यूष ।’
‘बिनी !’ मेरो स्वर थरथरायो ।
‘तिमी आफूलाई सम्हाल प्रत्यूष । दुई दिनमा तिम्रो अनुहार यस्तो भैसक्यो कि चिनि नै छोडिसक्यौ । झगडा सबै घरमा हुन्छ । यस्ता झगडालाई लिएर मान्छेले यति धेरै आन्दोलित पनि हुनुहुँदैन कि…।’
‘यस्तै झगडा हुन्छ सबैको घरमा ? यस्तै भाँडभैलो भैरहन्छ सधैँ ? थाहा छैन बिनी के भइरहेछ यहाँ ?’ मैले असन्तोष व्यक्त गरेँ– ‘मेरो घरको वातावरण सधैँ असामान्य रहँदैआएको छ । तर यति असाधारण त सायद पहिले कहिल्यै भएको थिएन । यो सबै हुनुको कारण मैले बुझ्न चाहेर पनि बुझ्न सकिरहेको छैन । झन् यो दुई–तीन दिनयता त यहाँ जेजे भइरहेको छ, त्यसले साँच्चै डराउन थालेको छु म । कसैको कुभलो गरेको याद छैन । सके र पुगेसम्म मैले त सधैँ सबैसँग राम्रो व्यवहार गर्ने कोसिस गरेँ । सबैलाई मद्दत गर्न, काम लाग्न कोसिस गरेँ । यति हुँदाहुँदै पनि स्थिति यस्तो भएको छ– म आँखा बन्द गर्न पनि डराउन थालेको छु अचेल । थाहा छैन यही आँखा बन्द गरेको पल नै मेरो जीवनको अन्तिम पल पो हुने हो कि न ?’
‘हैट ! के बोलेको त्यस्तो ?’ उसले मेरो अगाडि उभिएर मेरो टाउकोलाई अँगाली । मेरो मनले कामना गर्यो– म आफ्नो हात उठाएर उसलाई कसेर अँगालौँ । मैले कोसिस पनि गरेँ तर मेरा हात उठेनन् । उसले मेरो केश मुसारिरही । म आफ्नो डाँको छोडेर रूने इच्छालाई बलात् रोकिरहेँ । यति बिधी रुन्चे त म पहिले कहिल्यै थिइनँ । मान्छे शरीर र मनले पनि कमजोर नै हुनुपर्ने रहेछ सायद आँसुले भिजिरहन । नत्र विरामी हुन थाल्नुभन्दा पहिले मलाई मेरो आँखा रसाएको पनि कमै याद छ ।
निकै बेर त्यतिकै बित्यो । ऊ मबाट अलग भै । आफ्नो सलको फेरले मेरो डबडबाएको आँखा र अनुहार पुछिदिई । मेरो केश मिलाइदिई अनि हलुकासँग मेरो टाउकोमा चुमी । मेरो आँसु फेरि उम्लिएलाजस्तै भयो । तिनलाई रोक्ने प्रयासमा मेरो अनुहार बिग्रियो ।
‘बस्, वश गर प्रत्यूष ! म तिमीलाई यति कमजोर भएको देख्न सक्तिनँ ।’ ऊ मेरोअगाडि टुक्रुक्क बसी अनि मेरो अनुहारलाई आफ्ना दुई हातले थामेर मेरा आँखामा हेर्दै भनी– ‘मलाई थाहा छैन मृत्युको भयले किन यति डरमर्नु पार्छ मान्छेलाई ? तर के डराएर, रोएर मृत्यु टर्छ र ? अनि कसैको धम्कीले पनि त कोही मर्दैन ? तिम्रा लागि विधाताले आजको दिन अन्तिम भनेर तोकिदिएको रहेछ भने पनि तिमी के गर्न सक्छौ भन त ? के तिमी यसरी सोच्न सक्दैनौ कि यो आजको दिन पनि कैयौँ घन्टाको छ । अनि यी घन्टाहरूमा कैयौँ पलहरू छन् । तिमी यी एकएक पल समेट, एकएक पल बाँच, ता कि वर्षौंका इच्छाहरू पलमा खर्च गर्न सक । प्रत्यूष, हरेस खाएर तिमी कहिले माथि उठ्न सक्दैनौ बरू अझै तल पर्छौ, अनि जो तल पर्छ उसमाथि खुट्टा राख्नेहरूको कमी हुँदैन यहाँ ।’
अब मैले आँसु थामिरहन सकिनँ । आँसुको वेग वर्षाको वेगलाई चुनौती दिँदै बर्सियो ।
‘यति बेला तिमी त्यसै कमजोर छौ, त्यसमाथि यसको, त्यसको कुरा सुनेर धैर्य छोड्न थाल्यौ भने त कसरी चल्छ भन त ? यति बेला त तिमी यही सोच कि तिमी के गर्न चाहन्छौ ? तिम्रो मन के चाहन्छ ? सारा संसारको बारेमा सोच्न छोडिदेऊ । आफ्नैबारेमा मात्रै सोच प्रत्यूष ! मानिसले कहिलेकाहीँ स्वार्थी पनि हुनसक्नुपर्छ नत्र जीवनको कुनै न कुनै मोडमा गएर यो पछुतो अवश्य हुन्छ– किन हामीले आफ्नोबारेमा समयमै सोचेनौँ ? दुनियाँको नियम अपनाउन सिक । ‘हाम्रो’ मात्र होइन ‘मेरो’ भन्न पनि सिक र यो ‘मेरो’ लाई जोगाउन, बचाउन पनि सिक ।’ उसले केही क्षण चुपचाप मलाई हेरिरही अनि फेरि भनी– ‘ओके, छोड यी सब कुरा । तिमी मलाई यो भन– अहिले, यो पल, तिम्रो मनले के चाहन्छ ?’
म केही बोल्न सकिनँ । किनभने मेरो मनले जे चाहन्थ्यो, चाहिरहेको थियो, म उसलाई भन्नै सक्थिनँ ।
‘कम अन प्रत्यूष, एउटा जाबो इच्छा बताउन पनि यत्रो बेर लाग्छ र ? मलाई त एक पल लाग्दैन आफ्नो इच्छा व्यक्त गर्न ।’ उसले भनी ।
‘टाइम लिएको होइन, कामना गरिरा’छु– चिताएको, इच्छाएको पूरा गर्नसकूँ भनेर । तर बिनी, हरेक इच्छा व्यक्त गर्न तिमीले भनेझैँ सजिलो पनि कहाँ हुन्छ र ? त्यसो हुने भए तिमी भन्न सक्छ्यौ यति बेला तिम्रो मनले के इच्छा गरिरहेको छ ?’
“‘यतिबेला त मेरो मनले यही भनिरहेछ कि म कसै गरी तिम्रा आँखाबाट घरिघरि बगिरहेको आँसु रोक्नसकूँ ।’ ऊ घुँडा टेकेर अलिकति उठी अनि दुवै हातले मेरो अनुहार थामेर बिस्तारै भनी– ‘अनि यतिबेला त म केवल यही कोसिस गर्नसक्छु– आफ्ना ओठले तिम्रा यी अनमोल आँसु टिपूँ अनि तिनलाई फेरि कहिल्यै झर्न नदिऊँ ।’
त्यसपछि मैले कुनै प्रतिक्रिया जनाउनुभन्दा पहिल्यै उसले आफ्ना ओठले मेरो आँखा ढाकिदिई ।
म ह्विलचेयरमा थन्किएदेखि पहिलोपटक आफ्नो सर्वाङ्ग थरथराएको महसुस गरेँ । के मेरो शरीर स्वाभाविक अवस्थामा फर्कने प्रक्रियामा थियो ? या सायद त्यो मेरो भ्रम मात्र थियो ? उसले निक्कैपटक पालैपालो मेरा आँखामा चुमी अनि अन्त्यमा मेरो निधारमा चुमेर भनी– ‘तिमी मेरो पहिलो ग्राहक हौ प्रत्यूष, जसले मलाई रुन बाध्य गरेन, कुनै चोट, कुनै पीडा पनि दिएन । बरू आफ्नै आँसुले मेरो आत्मासम्म भिजाइदियो ।’
‘बिनी !’ मैले महसुस गरेँ उसको गला अवरूद्घ हुँदैथियो । तर फेरि उसले तुरुन्तै सम्हालिँदै भनी– ‘अब तिमी भन, यति बेला तिम्रो मनले के चाहिरहेछ, के खोजिरहेछ ?’
मेरो मनले यतिबेला यही चाहिरहेको थियो नि– कसै गरी म उठ्नसकूँ अनि उसलाई आफ्नो अँगालोमा तबसम्म बाँधिराख्नसकूँ जबसम्म मेरो प्राण पखेरुले मेरो शरीरको साथ छोड्दैन । तर मैले उसको अगाडि आफ्नो त्यो इच्छा व्यक्त गर्न सकिनँ । यति नै भनेँ– ‘यतिबेला त म यही चाहिरहेछु कि म ड्राइभ गर्न सक्दो हुँ त…!’
उसले आश्चर्यपूर्वक मलाई हेरी अनि सोधी– ‘किन ? कहाँ जान चाहन्छौ तिमी ड्राइभ गरेर ?’
‘पशुपति ।’
‘पशुपति ?’ उसले दोहोर्याई ।
‘बिनी मेरो मन यति अशान्त छ कि मेरो दिमागले काम गरिरहेको छैन । म चाहन्छु केही बेर यस्तो ठाउँमा गएर बसौँ, जहाँ केही क्षणलाई नै सही, यस घरको चिसोपना बिर्सन सकूँ । तर…तर…।’
‘त्यसका लागि तिमी यति हताश हुन जरुरी नै छैन । तिम्रा यस्ता सानातिना इच्छा त म पनि पूरा गर्न सक्छु ।’ उसले मुस्कुराउँदै भनी ।
‘कसरी ?’ मैले उत्साहरहित स्वरमा सोधेँ– ‘तिमी मलाई उठाएर गाडीमा त राख्न सकौली । तर बिनी, गाडी कसले चलाउँछ ? काका पनि त छैनन् घर ।’
‘तिम्रो प्रश्नको जवाफ मसँग छ तर यसमा दुईवटा, होइन, होइन तीनवटा प्रब्लेम छन् ।’
‘के–के ? छिटो भन न, म…।’
‘प्रत्यूष…! गाडी त मलाई धेरथोर चलाउन आउँछ तर मसँग लाइसेन्स छैन ।’
‘तिमीलाई गाडी चलाउन पनि आउँछ ?’ मैले आश्चर्य व्यक्त गरेँ । ऊ अप्ठ्यारो मान्दै मुस्कुराई ।
‘अरू ? अरू बाँकी दुईवटा प्रब्लेम पनि भनिहाल न त !’
‘म तिम्रो ट्रक जत्रो जिप चलाउन सक्दिनँ सायद, मैले त खालि सानो गाडीको कुरा…।’
‘द्याट्स नो प्रब्लम, किनभने मेरो एउटा गाडी काकाले लगेका छन्, अर्को सर्भिसिङ्का लागि गएको छ, त्यसैले त्यो कुरा छोड । अर्को…?’
‘अनि अर्को, घरमा कोही छैनन् । तिम्री धर्मपत्नी र श्रेया मनकामना गएका छन् । मामा र सुमन्त तिमीसँग भनाभन भएदेखि घर आएका छैनन् । काम गर्नेहरू पनि केही छैनन् । यत्रो ठूलो घर यसरी खाली…।’
‘केही फरक पर्दैन ।’ मैले उसको कुरा बीचैमा काटेर भनेँ– ‘सुप्रिया, फुपू र काकासँग घरको साँचो छ । अरू आए भने या त कुर्छन् या फर्केर जान्छन् । मेनगेट र मूलढोकाको एक्स्ट्रा साँचो मेरो बेडरूमको कुनै ड्रअरमा हुनुपर्छ । त्यो खोज…।’
क्रमशः
९विगत डेढ दशकदेखि उपन्यास र कथाका विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँच कृति प्रकाशित छन् । उनको आख्यान–शृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ । ०
[email protected]