कविता

मान्छेहरू थोत्रो छाता ओडिरहन
मनपराउँदा रहेनछन्
सायदै यो नैसर्गिक स्वभाव हुनुपर्छ मान्छेको
नयाँ छाता खोज्छन् मान्छेहरू
बजारमा
खर्च गर्छन् नयाँका लागि
ऊर्जा र पैसा
पुरानो कोट लाइरहन मान्छेहरू
रूचाउँदैन रहेछन्
बजारमा नयाँ कोट
सिलाइरहेको देखिन्छ ।
पुरानो जीर्ण पुस्तक हातमा
नसुहाएको विचार गर्छन् मान्छेहरू
त्यसैले पुराणहरू पढ्न
कोही रहर गर्दैन
सिद्धान्त सुगाले जस्तो
रटिरहँदा रहेनछन् मान्छेहरू
बजारमा नयाँ अर्थशास्त्र
खोजेको देखिन्छ ।
केही कुरा नयाँ भइरहनैपर्छ
मान्छेलाई
नयाँ घामको रहर गर्छन्
मान्छेहरू
त्यो घाम पनि आइदिन्छ
मध्याह्न नाघेपछि अवाक् हुन्छन्
त्यस घामसँग
र पुनः नयाँ घामको प्रतीक्षा गर्छन्
मान्छेहरू
त्यो घाम झर्नेबित्तिकै धेरै खुसी साटासाट गर्छन्
मानिसहरू
बिहानै जाडोमा रमाउँछन्
आखिर घाम हो
चैत- वैशाखमा बौलाहा बन्छन्
मान्छेहरू र
अवाक् हुन्छन् त्यस घामसँग
अनि पुनः नयाँ घामको प्रतीक्षामा
स्वर मिलाउँछन्
यसरी पो सिद्धान्तहरू
थोत्रिँदा रहेछन्
र मानिसहरू परिवर्तनको झिस्मिसे सङ्घारमा उभिएर
अर्को, अर्को र अर्को बिहानको प्रतीक्षा गर्दारहेछन्
सायद यो मानिसको नैसर्गिक स्वभाव नै हो
स्वाद फेरिरहने
बजार फेरिरहने
र घाम पनि फेर्नै चाहने
वास्तवमा म पनि ऐले मानिसहरूसँग
परिवर्तनकै सङ्घारमा उभिएर
नयाँ संसार खोजिरहेछु ।
(निरौला स्थापित साहित्यकार हुन्)
[email protected]