• २०८१ चैत ३ सोमबार

ब्ल्याकहोल ब्लूज

धनराज गिरी

धनराज गिरी

अर्को भोर पढी चढी शिखरमा मार्कोसको पीरमा
हेरी मास्क कथा उही विरहका जेनी पुगी भीरमा
सीताराम कथा सकेर पढियो चर्को उही वेदना
अर्को बोध सुबोध भो मगजमा पीडा परीको घना

स्नेहाको पिरती खती हुन गयो प्रेमी उडे जेटमा
आयो पत्र गयो सखा गगनमा आक्रान्त भो भेटमा
माया भो पतिको सुपुत्र घरको प्रेमी बढी सम्झिने
भित्री पीर कडा अचेतमनमा लेखेर धोका दिने

इन्द्रेणी भनियो कथा प्रणयको लीला भयो सक्कियो
पैलो चाहत ब्ल्याकहोल सजनी खम्बा थियो मक्कियो
प्यारी नन्द उता उही कहरमा उस्तै कथा जानियो
थाहा भो पतिको कडा वचनले आफ्नो भने धानियो

प्यारा केशवजी हरेक रचना लागे मलाई सही
राम्रो निर्णयले निसाफ हुन गो आनन्द खाता बही
माया प्रेम कता बिबाह गरिने यस्तो हुने लोकमा
यस्तो हुन्छ कथा अनन्तभवमा धेरै हुने शोकमा

जानेमा पतिले कथा विगतको सम्बन्ध पोलिन्छ रे
लोग्नेको पनि हुन्छ चाल रसिलो धोका बढी दिन्छ रे
राखे गोप्य सबै विचित्र रमिता बोले खरानी भयो
मर्यादा घरको सकिन्छ कवि जी राजा न रानी, गयो !!


धनराजगिरी