• २०८३ श्रावण २३, शनिबार

खन्डु गुरुङको कवितासङ्ग्रह ‘देउराली भञ्ज्याङ’ बिमोचित

सिक्किमेलि कवयित्री फुर्वा खन्डु गुरुङ ज्युको कवितासङ्ग्रह “देउराली भञ्ज्याङ” भर्खरै सिक्किमको राभङ्ला स्थितित कम्युनिटी हलमा बिमोचित सङ्ग्रह हो । फुर्बा खाण्डु गुरुङ (शेर्पा) नेपाली साहित्य र काव्य–संसारकी एक प्रखर एवम् समर्पित कवयित्री हुनुहुन्छ । माथिल्लो लिङचोम, पेलिङ (पश्चिम सिक्किम)मा जन्मिनुभएकी गुरुङ पेसाले शिक्षिका हुनुहुन्छ। पेसागत जिम्मेवारीसँगै उहाँले लामो समयदेखि नेपाली काव्य–सिर्जना र विभिन्न सामाजिक तथा साहित्यिक संघ–संस्थामार्फत साहित्य प्रवद्र्धनमा निरन्तर योगदान पु¥याउँदै आउनुभएको छ ।

पेसागत रूपमा शिक्षण जस्तो पवित्र जिम्मेवारी सम्हाल्दै आउनुभएकी फुर्बा खाण्डु गुरुङको मुख्य पहिचान उहाँको अनवरत काव्य–साधना हो। उहाँको औपचारिक साहित्यिक यात्राको सुरुवात सन् १९९७ मा ‘हिमगिरी’ पत्रिकामा पहिलो कविता प्रकाशित भएपछि भएको थियो । प्रारम्भिक चरणदेखि नै जीवन, परिवेश, मानवीय संवेदना र सामाजिक यथार्थलाई आफ्ना सिर्जनामा उतार्न रुचाउने कवयित्रीका हालसम्म तीनवटा प्रमुख कविता–संग्रहहरू प्रकाशित भइसकेका छन् । उहाँको पहिलो कृति ‘छल्किएका अतित अनि वर्तमान’ सन् २००५ मा प्रकाशित भएको थियो भने दोस्रो कृति ‘भावना रुन्छ क्षितिजको अँगालोमा’ सन् २०१४ मा पाठकमाझ आयो । हालै प्रकाशित उहाँको पछिल्लो कृति ‘देउराली भञ्ज्याङ’ ले नेपाली काव्य–संसारमा उहाँको स्थानलाई अझ सशक्त र परिपक्व बनाएको छ ।

सिर्जनात्मक लेखनमा मात्र सीमित नरही कवयित्री गुरुङ विभिन्न भाषा–साहित्यिक तथा सामाजिक संघ–संस्थाहरूमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ पश्चिम सिक्किम साहित्य प्रकाश, गेजिङको ‘साहित्य सचिव’का रूपमा कार्यरत रहनुभएको छ भने विनेसास (भारत शाखा)मा ‘सह–सचिव’को जिम्मेवारी बहन गर्नुभएको छ । यसका साथै उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सक्रिय सदस्य हुनुहुन्छ। सामाजिक उत्तरदायित्व र जागरणका क्षेत्रमा योगदान पु¥याउँदै उहाँले खोरोङ, पश्चिम सिक्किमस्थित ‘मानव प्रगति कर्मठ संघ समाज’को ‘प्रमुख सल्लाहकार’को भूमिका समेत कुशलतापूर्वक निभाउँदै आउनुभएको छ ।

साहित्य, शिक्षा र समाजसेवाका क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई विभिन्न राष्ट्रिय तथा क्षेत्रीय संघ–संस्थाहरूद्वारा समय–समयमा उच्च सम्मान तथा पुरस्कारहरू प्रदान गरिएका छन्। सन् २०१६ मा प्रेस क्लब अफ सिक्किम र चिया कविता समूहद्वारा आयोजित ‘सिक्किम–नेपाल साहित्य उत्सव’मा उहाँलाई सम्मान पत्र प्रदान गरिएको थियो भने सन् २०१७ मा प्रतिष्ठित ‘नेशन बिल्डर अवार्ड’बाट सम्मानित हुनुभयो। यसै गरी प्रेस क्लब अफ सिक्किम (२०१८), चिया कविता सिक्किम (२०२०), काव्याक्षर प्रकाशन गान्तोक (२०२१), कला साहित्य संस्थान नाम्ची (२०२३), पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङ (२०२४), परी प्रकाशन सोरैङ (२०२४), किनार प्रकाशन गान्तोक (२०२४) तथा डिभाइन् थियोलोजिकल ओपन युनिभर्सिटी नाम्ची (२०२५ र २०२६) जस्ता संस्थाहरूले उहाँलाई अभिनन्दन तथा सम्मान अर्पण गरेका छन् । यसका साथै लेप्से संस्थाद्वारा प्रदान गरिने ‘सोशियल ईमेज अवार्ड’ (२०२४) र पद्मश्री केदार गुरुङद्वारा ‘सिक्किमेली गुरुङहरू अनि भेडा पालन उद्योग’ पुस्तक विमोचन कार्यक्रम (२०२६)मा प्राप्त सम्मानले उहाँको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्दछ ।