• २०८१ असोज २९ मङ्गलबार

नेपाली रैथाने जडीबुटी सार्वजनिक

२३ जेठ २०७९ काठमाडौँ

डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, पुस्तकको प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल, विश्लेषक आमोद पोख्रेल, समीक्षक राजकुमार बानिया र शङ्कर तिवारीले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका थिए ।

पुस्तकमा तितेपाती, धुर्सेली, खिर्रो, रुद्राक्ष, कुश, टिमुर, दूबो, मोरिङ्गा, सिमललगायत औषधीय गुणले भरिपूर्ण जडिबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ । पुस्तकको विमोचन गर्दै पूर्वमन्त्री थापाले प्रचुर सम्भावना भएको जडिबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताए ।

जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले पुस्तकले रैथाने जडिबुटीका बारेमा खँदिलो जानकारी दिएको बताए । नेपालमा प्राप्त औषधीजन्य जडिबुटीको ‘क्लिनिकल ट्रायल’ गर्नसके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो ।

पुस्तकका लेखक घिमिरेले नेपालको जडिबुटीलाई नेपालमै अनुसन्धान गरेर यही खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने राय प्रकट गरे ।