• २०८३ असार ३, बुधबार

डा. चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक लोकार्पण

स्वर्गीय डा. चन्द्रप्रसाद गुरुङको पुस्तक ‘अन्नपूर्णको स्याहार’ विश्व वातावरण दिवसमै अन्नपूर्ण सङ्ग्राहलयमा सार्वजनिक गरिएको छ । अनुवादक तीर्थ गुरुङले ‘केयरिङ फर द अन्नपूर्ण’लाई नेपालीमा अनुदित गरेका हुन्, र यसले संरक्षण इतिहासलाई उजागर गर्छ । संरक्षण क्षेत्रमा डा. गुरुङको योगदानलाई अझै उचित पहिचान नभएकोमा चिन्ता व्यक्त गर्दै पूर्वसांसद मनबहादुर गुरुङले महत्त्वपूर्ण ठानिएको बताए ।

अन्नपूर्ण (कास्की)– समुदायमा आधारित संरक्षण अवधारणाका प्रणेता स्वर्गीय डा चन्द्रप्रसादगुरुङको चर्चित कृति ‘केयरिङ फर द अन्नपूर्ण’को नेपाली अनुवाद ‘अन्नपूर्णको स्याहार’ पोखरामा सार्वजनिक गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण सङ्ग्राहलयमा आयोजित समारोहबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समन्वय समितिका अध्यक्ष एवं पूर्वसांसद मनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा. रविन कडरिया, संरक्षणविद् डम्मरकुमारी गुरुङ र चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानकी अध्यक्ष शिखा गुरुङ खेतानले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाभएका डा. गुरुङको यो पुस्तक उनको निधनपश्चात् फेला परेको पाण्डुलिपिमा आधारित छ । सोही दुर्घटनामा डा. हर्क गुरुङ, मिङ्मा नोर्बु शेर्पालगायतका संरक्षणविद्ले ज्यान गुमाएका थिए । साहित्यकार तीर्थ गुरुङले अनुवाद गरेको यो पुस्तकलाई चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आर्थिक सहयोगमा प्रकाशित यस कृतिले नेपालको संरक्षण इतिहास र डा. गुरुङको योगदानलाई जनमानसमा पुर्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

कार्यक्रममा पूर्वसांसद मनबहादुर गुरुङले एक्याप आदिबासी जनजाति, सीमान्तकृत समुदाय, दलित, विपन्न र राज्यको पहुँचभन्दा टाढा रहेका नागरिकको बसोबास रहेको विशेष क्षेत्र रहेकाले यो क्षेत्र अति नै महत्वपूर्ण रहेको बताए । करिब ४० वर्षअघि विकास र संरक्षणको अवधारणासहित सुरु भएको यो आयोजनाले प्रकृति, संस्कृति र कृषिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ थियो । मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले डा. गुरुङले सुरु गरेको सामुदायिक संरक्षण अभियानका बारेमा चर्चा गरेका थिए । नेपालको पर्यटन र संरक्षण क्षेत्रमा डा. चन्द्र गुरुङको योगदान अतुलनीय भए पनि त्यसको उचित पहिचान अझै हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । चन्द्र गुरुङ मेमोरियल फाउन्डेसन र अन्य सरोकारवाला निकायले मिलेर पर्यटन र संरक्षणको माध्यमबाट स्थानीयको जीवनस्तर सुधार्न थप सक्रिय हुनुपर्ने अवस्था छ ।

चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानका सचिव डा. रोशन शेरचनले डा. चन्द्र गुरुङले पुर्याएको योगदानलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको जानकारी दिए । यसले नेपालको संरक्षण इतिहासका लुकेका पक्षलाई उजागर गर्ने उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष शिखा गुरुङ खेतानले फाउण्डेसनले डा. चन्द्र गुरुङको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।