• २०८३ श्रावण १०, आईतवार

डा. बरालको ‘गाँस, वास र जिन्दगी’ माथि विमर्श सम्पन्न

काठमाडौँ ।

कृषि वैज्ञानिक डा. जीत बरालको संस्मरणसंग्रह ‘गाँस, वास र जिन्दगी’माथि विमर्श सम्पन्न भएको छ । काठमाडौंमा आयोजित विमर्श कार्यक्रममा कृतिमाथि वक्ताहरू डा. अशोक थापा, डा. नम्रता पाण्डे र नियात्राकार प्रतीक ढकालले आफ्ना धारणा राखे ।

यो पुस्तक लेखक बरालको ‘बियोन्ड द ब्रेडः टु वल्ड्र्स, वन विट्नेश’को नेपाली अनुवाद हो । अनुवाद शरद ऋतुले गरेका हुन् । समालोचक डा. थापाले बरालको संस्मरण गरिबी, वियोग र अनेकौँ अप्ठ्यारालाई चिरेर आफ्नो सपना साकार गर्ने एक स्वप्नजीवीको जीवनकथा भएको बताए । आमा र दिदीको सहयोग र प्रेरणाबाट सफलताको चुलीसम्म पुगेका बराल धेरैका निम्ति प्रेरणा भएको उनको मूल्यांकन थियो ।

वक्ता डा. पाण्डेले बरालको सम्पूर्ण जीवनकथा उत्प्रेरक रहेको बताइन् । नारीपात्रलाई पनि उनको भूमिकाका निम्ति जस दिइएको उनले उल्लेख गरिन् । शरद ऋतुले कृति अनुवाद गरेर सकाउँदा आफूले मोक्ष प्राप्त गरेको अनुभूति भएको बताए । साहित्यकार ढकालले वैज्ञानिक बराल कृषि अनुसन्धानमै सीमित रहेको भए उनको ज्ञान र अनुभवको परख गर्न लोकलाई गाह्रो पर्ने बताए । उनी लेखकका रूपमा आउने निर्णयको उनले प्रशंसा गरे ।

कृतिकार बरालले लामो समय अमेरिकामा बसेको भए पनि यो कृतिको नेपाली रूपान्तरणसहित आफू ‘घर फर्केको’ उल्लेख गरे । उनले आफ्नो सफलताको सम्पूर्ण श्रेय आमा र दिदीलाई दिए । कार्यक्रममा कवि साहित्यकार भुवनहरि सिग्देलले लेखक बरालको लेखनशैली कवितात्मक हुनुका साथै परिपक्व जीवन-अनुभूतिबाट अनुप्राणित भएको टिप्पणी गरे ।