कुनै- कुनै समय यस्तो लाग्छ-
बिल्कुलै घरबाट बाहिर ननिस्किऊँ
थन्किइरहूँ घरभित्रै-
कुनै अपाहिज मनुष्यझैँ पूरै चौबीस घन्टा
र, गनिरहूँ बाँकी आयु,
जसरी गन्ने गर्छ चन्द्रमाले आफ्नो आयु
पूर्णिमाको पछिल्लो रातबाट ।
लाग्छ कहिलेकाहीँ-
घरभन्दा बाहिर त्यस्तो के नै छ र ?
अनियन्त्रितरूपमा बगिरहेको मान्छेको भीड
तिनै भीडबाट उत्पन्न कोलाहलका अनेकानेक कोलाज…
जुन कोलाजमा
आफ्नो चम्किलो अनुहार खोज्न
गुजार्नुपर्छ मैले सहर्ष क्षण ।
कहिलेकाहीँ त निस्किनैपर्छ- घरबाहिर ।
पुग्नुपर्छ, अस्पतालको सघन उपचार कक्षमा राखिएको
बिरामीको आफन्तको पीडाको तह नाप्न,
पुग्नुपर्छ, कुनै कवि- मित्रको नियमित काव्यपाठमा
सानदार सहभागिता जनाउन,
पुग्नुपर्छ, वैवाहिक समारोहमा
पुग्नुपर्छ, झगडियाहरुको चर्को बहस सुन्न
पुग्नुपर्छ, कताकता ।
निस्किनै पर्छ घरबाहिर पटक- पटक ।
घरबाट बाहिर निस्किँदा होस्
वा, घरमा बस्दा होस्,
यस्तो लाग्छ- म घरमा छु कि बाहिर ?
के म यस भ्रमबाट मुक्त हुन सकूँला ?
घरभित्र रहँदा
घर बाहिर छु जस्तो लाग्छ
घर बाहिर दौडिँरहँदा
घरभित्रै अल्झिरहेको छु जस्तो लाग्छ
साँच्चै, घरभित्र छु कि बाहिर ?
बाहिर छु कि घरभित्र म ?
(वस्ती चर्चित साहित्यकार हुन्)
[email protected]