समाचार
काठमाडौं ।
लालबन्दी नगर वाङ्मय परिषद्द्वारा स्थापित ‘कृष्णलाल अधिकारी स्मृति पुरस्कार, २०८२’ सहितका पुरस्कार हालै प्रदान गरिएको छ । सर्लाहीको लालबन्दीमा आयोजित कार्यक्रममा नेपाली कविता र गीतको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘कृष्णलाल स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।
यस्तै, ‘भाषासाहित्य पुरस्कार’ उत्कृष्ट घोषित कथासंग्रह ‘एउटा मायी नगरमा’का निम्ति कवि तथा कथाकार रमेश क्षितिजलाई प्रदान गरियो । यी दुई पुरस्कारको राशि ५०/५० हजार रुपैयाँ छ ।
स्थानीय तहमा साहित्य र पत्रकारिताका क्षेत्रमा क्रियाशील कृष्ण समर्पणलाई ‘स्थानीय प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको परिषद्ले जनाएको छ । कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले सर्जकलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
