कविता
काठमाडौँ ।
लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान, कलकत्ताले यस वर्षको लैनसिंह बाङ्देल स्मृति पुरस्कार कवि, गीतकार तथा चित्रकार केवलचन्द्र लामालाई प्रदान गर्ने भएको छ । भाषा मान्यता दिवसका अवसरमा आगामी अगस्ट २३ मा कलकत्तास्थित भारतीय भाषा परिषद् भवनमा आयोजना हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । पुरस्कारमा नगद राशि, शिरोभूषण, अङ्गवस्त्र, स्मृतिचिन्ह तथा अभिनन्दनपत्र प्रदान गरिनेछ ।प्रतिष्ठानको जुलाई १५ मा बसेको कार्यकारी समितिको बैठकले यस वर्षका पुरस्कार तथा सम्मानका लागि विभिन्न व्यक्तित्वको नाम अनुमोदन गरेको हो । यस वर्ष ‘मातृभाषा सेवाश्री सम्मान’ भाषा आन्दोलनका योद्धा, साहित्यकार तथा समाजसेवी पुष्पधर शर्मालाई प्रदान गरिने भएको छ । त्यसैगरी ‘प्रभात साहित्य सेवा सम्मान’ साहित्यकार तथा नेपाली विभाग प्रमुख डा. दिवाकर प्रधानलाई र ‘वीर खड्गबहादुर विष्ट स्मृति सम्मान’ धाविका तथा समाजसेवी रोशनी राईलाई प्रदान गरिनेछ ।
समारोहमा उच्च विद्यालयस्तरीय चित्रकला प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, स्मृतिचिन्ह र प्रमाणपत्र प्रदान गरिनेछ । साथै माध्यमिक तथा उच्च माध्यमिक तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ । यसै अवसरमा लैनसिंह बाङ्देलद्वारा कलकत्ताबाट प्रकाशित ‘प्रभात’ साहित्यिक पत्रिकाको ‘कौस्तुभ’ विशेषाङ्कको विमोचनसमेत गरिनेछ । प्रतिष्ठानका अनुसार हालसम्म राजनारायण प्रधान, झमक घिमिरे, समशेर अली, हेमु राई र अमीर सुन्दास लैनसिंह बाङ्देल स्मृति पुरस्कारबाट सम्मानित भइसकेका छन् । त्यसैगरी सी.के. श्रेष्ठ, गोकुल सिन्हा, डा. राजेन्द्र भण्डारी, राधेश्याम लेकाली, चन्द्र भण्डारी, शान्ति राई टिस्टा लगायतका व्यक्तित्वहरू प्रतिष्ठानबाट सम्मान प्राप्त गरिसक्नुभएको छ ।
प्रतिष्ठानकी सभापति देविका मोक्तानको सभापतित्वमा बसेको बैठकमा प्रा. डा. किरण सुब्बा, खड्ग गुरुङ, सङ्गीता शेर्पा, सञ्जीव गुरुङ, सन्तोषचन्द्र दर्नाल, दीपेन्द्र दर्नाल, प्रा. अशेष लिम्बू, वेदान्त तामाङ, निकेश लिम्बू, निमा निष्कर्ष, अरुण राई र अजय थापालगायतको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन विकास कार्कीले गर्नुभएको थियो ।
