• २०८३ श्रावण ६, बुधबार

‘समता काव्य सन्ध्या’को ३९६औँ शृङ्खला सम्पन्न

पोखरा ।

पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रूपमा सञ्चालन गर्दै आएको ‘समता काव्य सन्ध्या’को ३९६औँ शृङ्खला श्रावण विशेष कार्यक्रमका रूपमा शनिबार पोखरामा सम्पन्न भएको छ । वि.सं. २०३४ सालदेखि साहित्य, सङ्गीत र कलाको क्षेत्रमा सक्रिय संस्थाले आयोजना गरेको कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार, सुप्रसिद्ध कलाकार तथा बिम्बकवि रमेश श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

सो अवसरमा बोल्दै श्रेष्ठले ‘समता काव्य सन्ध्या’लाई कविताको अनौपचारिक पाठशालाको संज्ञा दिँदै यहाँ अग्रज र नवपुस्ताका कविबीच सिकाइ र अनुभव आदानप्रदान हुने वातावरण बनेको बताउनुभयो । उहाँले ४००औँ शृङ्खलालाई विशेष रूपमा आयोजना गर्न सुझाव दिँदै राम्रो कविताले सर्जकलाई चुनौती र प्रेरणा दिनुपर्ने धारणा राख्नुभयो । त्यसपछि उहाँले आफ्ना कविता पनि वाचन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार प्रकाश ज्ञवालीसहित अल्पविराम पोखरेली, शिव त्रिपाठी, नवराज न्यौपाने, केशु शर्मा, रती भट्टराई, ढाकामोहन बराल, नारायण बास्तोला, आकाश अधिकारी, लोचना अधिकारी, गीता तिवारी, शान्ति कँडेल, तेजनारायण अधिकारी, आशीष रेग्मी, मुक्तिनाथ अधिकारी र मनोज गौतमलगायतका कविहरूले श्रावण महिनालाई समर्पित कविता वाचन गर्नुभएको थियो । परिवारका उपाध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएको थियो ।