समाचार
काठमाडौँ ।
बैंकर तथा लेखक डा.बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना साकार हुन्छन्’ सार्वजनिक भएको छ । यसअघि ‘सफलता सम्भव छ’ पुस्तक प्रकाशित गरिसक्नुभएका डा. मल्लको नयाँ कृति नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको विमोचन समारोह शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता तथा नेपाल व्यवस्थापन सङ्घका अध्यक्ष डा. हेमा अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर तथा लेखक तुलसी निरौलाले कृतिमाथि समीक्षा गर्दै पुस्तकमा समेटिएका लेखहरूले सकारात्मक सोच, नेतृत्व विकास, व्यक्तिगत उन्नति, पारिवारिक सम्बन्ध र जीवन व्यवस्थापनका विविध पक्षलाई समेटेकाले सबै उमेर समूहका पाठकका लागि उपयोगी रहेको धारणा व्यक्त गर्नुभयो ।
४९ वटा लेख समेटिएको पुस्तकमा ‘सानो सोच्ने जोखिमबाट बच्छ, ठूलो सोच्ने इतिहास रच्छ’, ‘सधैँभरि विद्यार्थी’, ‘प्रतिकूलता परीक्षा हो’, ‘आँसु पुछ्ने हात नै महान् हुन्छन्’, ‘सफल दाम्पत्यका लागि मनको कुरा बुझ्नुपर्छ’, ‘नेतृत्वका प्रकार’, ‘अवसरलाई नचिन्ने सधैँ बन्छ खिन्न’ तथा ‘समस्या समाधानमा फाइभ ह्वाइ सिद्धान्त’ जस्ता विषय समेटिएका छन् । पुस्तकमा लेखकको पहिलो कृति ‘सफलता सम्भव छ’का लेखहरूको सार पनि समावेश गरिएको छ ।
पूर्व सञ्चारकर्मी तथा बैंकर कल्पना मल्लले सञ्चालन गर्नुभएको कार्यक्रममा पुस्तक नेपालभरका पुस्तक पसलका साथै अनलाइन माध्यमबाट पनि उपलब्ध रहेको जानकारी दिइयो । लेखक डा. मल्लले पुस्तकले पाठकमा नकारात्मक सोच कम गर्न, आशा र आत्मविश्वास बढाउन तथा ‘म गर्न सक्छु’ भन्ने भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
