• २०८१ फागुन ३ शनिवार

रामशरण कार्कीको कवितासंग्रह ‘आज सबैको खाँचो छ’ लोकार्पण

भक्तपुर । कविएवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कवितासंग्रह‘ आज सबैको खाँचो छ’ लोकार्पण गरिएको छ । पुस्तक लोकार्पण चाँगुनारायण नगरपालिकाका नगर प्रमुख, चाँगुनारायण नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष श्याम श्रेष्ठ, महेन्द्रग्राम माविका प्रधानाध्यापक सोम श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नंं ८ का पूर्व वडा अध्यक्ष पराशर सापकोटाले संयुक्त रुपमा गरेका हुन् ।

वि.सं. २०१३ साल असार १३ गते सुडालको जितपुरमा जन्मिएका कवि कार्की लामो समयसम्म शिक्षण पेशामा आवद्ध थिए । पेशाबाट अवकाशपछि आफूले विभिन्न समयमा फुटकर रुपमा लेखेका कविताहरुलाई एकत्रित गरी संग्रह प्रकाशन गरेको लेखक कार्कीले बताए । उनले आफूले विगत ४ दशकदेखि लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका कविताहरुको संगालो प्रकाशन गरेको जनाए । सञ्चारकर्मी एवम् साहित्यकार हरिसुन्दर छुकांको सम्पादनमा प्रकाशित सो कवितासंग्रहमा कवि कार्कीको सो संग्रहमा ५६ वटा कविता संग्रहित गरिएका छन् ।

संग्रहमा समावेश कवितावाचन गर्दै उनले सबै क्षेत्रमा अभावै अभावको अवस्था हुँदा समाजमा विभिन्न समस्या देखिएकोमा चिन्ता जनाउँदै सोही विषयलाई समयमै खबरदारी गर्न ‘आज सबैको खाँचो छ’ प्रकाशन गरेको बताए । संग्रह विमोचन कार्यक्रममा नगर प्रमुख खत्रीले कवि कार्कीका कविताहरु सान्दर्भिक हुनुका साथ समाजको ऐनाको रुपमा आएको चर्चा गरे । उनले उनका कविताहरुले सामाजिक, शैक्षिक, वातावरणीय क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रका लागि सचेत गराउने प्रकृतिका रहेको बताए ।