• २०८१ माघ ९ बुधबार

तृप्ती

कात्यायन

कात्यायन

फेरि पनि ऊनले भनिन्, “तिमीसँग मैले धेरै खुसी पाएको छु !”
मैले गौढ़ गरेर मभित्र नियालेँ – खुसी त मसँगै छ ।
विवाद अघि सर्यो र भन्यो, “ऊनीसँगै तिमी छौ !”

विचारको अन्जान टापुमा म कठाङ्ग्रिरहेको थिएँ ।
निस्वासको तातो- वाष्पले मलाई उष्णता प्रदान गर्दै ऊनले भनिन्, “ म यहीँ छु । तिमीसँगै छु ।”
उद्वेलित तर्क अघि सर्दै भन्छ, “कोही एक्लो हुनै सक्दैन ।”
मन्द- मन्द न्यानोको डोरोले, डोराउँदै मलाई लिएर जाँदै थियो, ऊनी भन्दै थिइन्, “तिमी निश्चिन्त आराम गरेको समय, मेरो अँगालोमा बेरिएका हुन्छौ ! तिमी छटपटाएर चल्मलाएको क्षण, म प्रताडित भएको हुन्छु !”
“तिमी कोक्काएर मनभित्र भक्कानिएको बेला, अश्रुधारा मेरा बगेका हुन्छन् ! सगरमाथा चुमे झैँ तिमी हर्षित भएको पल, म आफूलाई सगरमा नृत्य गरिरहे झैँ महसुस गर्छु !”
“जब तिमीमा, तिमी रहेका हुन्नौ नि रु जब-जब तिम्रा मनका आँखा पनि बन्द भएका हुन्छन् नि ? हो त्यही अवसरमा पनि म तिम्रो चिम्लिएका नजरभित्र हुनेछ ! म खुसी छु !”
मनोवेग मार्गदर्शन गर्दै, भन्दै जान्छ, “हो ! तिमीसँगै उनी छिन् !”

ऊनले भनिन्, “मैले तिमीलाई पाएको छु, तृप्त छु !”
कौतुहलता ठिङ्ग उभियो मझधारमा ।
ऊनी निर्धक्क थिइन् सायद ! भनिन्, “कुनै दिन वा रात तिमी सर्वाङ्ग भिज्ने छौ नि स्वप्न- दोषले ? मेरा सम्पूर्ण अङ्ग- प्रत्यङ्ग तिमीप्रति समर्पित भएका हुन्छन् ! मेरो तन- मन आनन्दित हुँदै लथालिङ्ग भएको हुनेछ ! मन प्लावित भएको हुन्छ तिमीलाई पाउँदा ! ।।।”
वेचैन छटपटाहट मौन रहनै सकेन, “तिमी धेरै सागर पारी छौ ! ऊ वारी छ !”
निरन्तर झैँ शान्त हुँदै ऊनले भनिन्, “ल हेर ! मैले तिमीलाई स्पर्श गरिरहेछु, र तिमीले मलाई ! तरङ्ग हो मनको, जब स्फुरण हुन्छ यसको संवेग ! कहिले, कसैले, कहीँ, कतै टुटाउन सक्दैन !”

र, यात्राभरि निरन्तर ऊनलाई आत्मसात् गरिरहेछु ।।।


कात्यायन
चाबहिल, काठमाडौँ – ७