समाचार
काठमाडौँ ।
मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ । गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये १० किताब छनोट गरेको जनाएको छ । १० कृतिमध्ये एक कृतिलाई यसवर्षको मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ ।
छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास छन् ।
त्यस्तै वीणा जोशीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद पनि १० कृतिभित्र परेका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति जारी गरेको त्यो जानकारी दिएका हुन् ।
