• २०८० चैत ३० शुक्रबार

रम्बास कविता शैलीको काव्यिक भूकम्पः-

रेवती रमण सापकोटा

रेवती रमण सापकोटा

दक्षिण एसियाली मुलुक भारतवर्षको असममा सर्वप्रथम नेपाली साहित्यमा कविताको उपविधा रूपमा आत्मप्रकाश गरेको अनौठो लाग्ने तर ज्यामित्रीय आकारगत शैलीमा लेखिने रम्बासको नयाँ बौद्धिक आन्दोलन विगत २०१९ सनको कोरोनाकालले दिएको नवीनतम उपहार हो ।
वर्तमान कोरोनाकालीन समयमा बौद्धिक आन्दोलनले नयाँ सृजनशीलताका साथ गतिलिएको देखिंदैछ । अहिले यो आलै छ र यसको शैशवकाल चल्दैछ । अब यो किशोरकाल, तरूणकाल हुँदै परिपक्वकाल तिर लम्किरहेको छ ।
साहित्यमा प्रयोगवादी चिन्ता धारा ल्याउने अङ्ग्रेजी मेटाफिजिकल कवि जन डन थिए । नेपालीमा यस्तो नौलो चित्रात्मक शैली अपनाउने बैरागी काँइला हुनुहुन्छ भन्ने थाहा लागेको छ । मिलन बोहोरालाई हामीले नेपाली काव्यजगतमा एक्दमै नौलो र अलग्गै विशेषता बोकेको रम्बासीय धारा प्रवाहित गराउने पहिलो कवि भन्नुपर्छ । कोरोना कालको लकडाउनलाई आफ्नो सिर्जनात्मक कार्यमा प्रयोग गर्ने कवि मिलन बोहोराले पहिले सामाजिक सञ्जालका अनेकौं विधा जस्तै मुहार पत्रिका (फेसबुक), म्यासेन्जर र व्हाटस्एपमा रम्बास कविता लेखेर नयाँ पिँढीको ध्यानाकर्षण गरे । केही दिनकै अवधिमा उनका चेला चेलीहरू बढ्न लागे । भारतवर्षको भौगोलिक र राजनैतिक सीमा कटेर यो अहिले विश्वायनको पर्यायमा पुगेर नेपाल, बर्मा, भूटान हुँदै बेलायत, अमेरिका, अस्ट्रेलिया हुँदै विश्व भ्रमणमा रहेको छ । जहाँ नेपाली साहित्य, त्यहीँ रम्बास भने जस्तै रम्बास अहिले अन्तर्राष्ट्रिय हुन लागेको छ।
आखिर के हो त यो रम्बास कविता ? साधारण जिज्ञासु पाठकलाई मनमा खट्किएको प्रश्न हो यो । एउटा शाब्दिक वर्णबाट सुरू गरेर क्रमशः दोस्रो, तेस्रो गर्दै दशौं पंक्ति सम्म दशवटा वर्णलाई भावना अनुसार सजाएर पुनः दश पछि नौ, आठ गर्दै अन्तिम शाब्दिक वर्ण प्रयोग गरी मोठ उन्नाइस वटा पंक्तिमा एकसय वर्णमा सक्नु पर्ने ज्यामित्रीको रम्बास आकारमा लेखिने कवितालाई रम्बास कविता भनिन्छ । यो शैलीमा लेखिने कवितामा पनि अरू कवितामा भाव प्रकाश गरिने प्रकृति प्रेम, मानवीय मुल्यबोध, प्रेम, राजनीति, सामाजिक एकता, वैषम्य आदि सबै विषय वस्तु समेटिन्छन् । कविले आफ्नो प्रवाहित भावनालाई यसरी क्रमसितै मिलाएर त्यसलाई फेरि रम्बासीय शैलीमा सजाउनु कम लर्तरो काम होइन । यसका लागि कविले रम्बास कविताको नीति, शैली राम्रोसित अध्ययन गरेको हुनुपर्छ । भाषा, शब्दको प्रयोग अनि हिज्जेको शुद्धता निरूपण गर्न पहिले कविले नेपाली भाषा साहित्यको मनग्गे अध्ययन गरेको हुनुपर्छ ।

तर धेरै क्षेत्रमा रम्बास कविता लेख्ने नवीन कविहरूले यी मौलिकता बाट आफुलाई ओझेलमा राखेर रम्बासको आकारमा मनमा उब्जिएका शब्दहरूलाई फगत सजाउन भगीरथ प्रयास गरेको देखिएको छ । उनीहरूको प्रयासलाई गोर्खे सलाम छ र शुभकामना पनि छ । तर उनीहरूको प्रयासमा परिपक्वता आउन केही समय अवश्य लाग्ला । मिलन बोहोरा पछि केही परिपक्व कविले पनि यसलाई अपनाएको देखियो, माया गरेको अनुभव भयो । त्यस्ता पुष्ट कविहरूका रम्बास कविता राम्रो सित अध्ययन गरे नवीनहरूले लेख्ने प्रेरणा अवश्यै पाउनेछन् ।
असममा भुमिष्ठ भएको रम्बास कविताले भूकम्पझैं झट्का हान्दै छ । यस झट्काले नेपाली कविता त हाम्रो पैत्रिक सम्पति जस्तै हो, हामी मात्रै स्तरीय नेपाली कविता लेख्ने कवि हौं भनेर परोक्ष रूपमा अप्रासङ्गिक रूपमा अर्थहीन रूपमा गाली गरेर प्रभावित गर्न प्रयास पनि गरेको देखिएको छ।
साहित्यमा समालोचना छैन भने त्यो के को साहित्य ? हामी अब रम्बास कविता आन्दोलनमा होमिएकाहरूलाई त्यस्ता तीर्यक समालोचनाको औधि नै खाँचो छ । उहाँहरूलाई यस्ता समालोचना गरिरहन आग्रह छ । तर तीब्र गतिमा कोरोना वाइरस फैलिएझैं नेपाली कविता विधामा यो रम्बास उपविधाको रूपमा फिँजिन लागेको छ । यसलाई कसले कसरी रोक्ने ?अङ्ग्रेजी साहित्यमा जसले ”ड्राइडेन र पोपको” काव्यिक झगडाड अध्ययन गरेका छन्, उनीहरूले अवश्यै लम्बाइलाई ”यो यस्तै हुन्छ” भनेर स्वीकार्ने छन् । तर समालोचना सृजनात्मक र जसको कृतिको समालोचना गरिन्छ, त्यसका दोष र गुण दुवै दिशालाई कलात्मक पाराले उजागर गर्दै लेखकलाई उत्प्रेरित गर्ने खालको होस् । निकट भविष्यमा रम्बास शैलीलाई उचित समयमा सारगर्भित समालोचना र समीक्षा गर्ने साहित्यकार अवश्य पनि निस्कने छन् ।
वर्तमान रम्बास कविताको लोकप्रियता र रम्बास कविता लेख्ने कविहरूको जनसङ्ख्या तडित गतिमा बृद्धि भइरहेको छ । अहिलेसम्म एकसय भन्दा धेर कविले भारत, नेपाल र म्यानमारमा यो शैलीमा कविता लेखिरहेका छन् ।
भारतवर्षको उत्तर पूर्वाञ्चलको असम राज्यमा भुमिष्ठ भएको यो रम्बासीय शैलीको जनक मिलन बोहोराको पहिलो कृति अनि नेपाली काव्य साहित्यमा रम्बास उपविधाको पनि पहिलो कृति हो तानाबाना । जनवरी २०२१ मा प्रकाशित भएको यो कृतिमा मोठ ५६ वटा रम्बासीय शैलीमा तानाबाना बुनिएका छन् । यसमा मानवीय पक्षदेखि लिएर प्रेम, ऐश्वरिक अनुभव, सुख दुःख, आधुनिकताको प्रभावमा मानिसको स्वरूप, जीवनका भोगाइ, नास्तिकता, विश्वास, परिवर्तन, परिवेश आदि विषयवस्तुले सन्तुलित रूपमा आत्मप्रकाश गरेका छन् । ७० पृष्ठमा पोखिएका यी काव्यिकअभिव्यक्ति पठनीय छन् । अब उसो रम्बास आन्दोलनको जोड, ऊर्जाले लोकप्रियताको सगरमाथा चुम्ने क्रममा अति छिट्टै भाषा साहित्य प्रेमी कविद्वय पुरूषोत्तम उपाध्याय र खडानन्द दुलालको इच्छामा रम्बासीय कविहरूलाई उत्प्रेरित गराउन एउटा रम्बास कविता सङ्कलन प्रकाशित हुन गइरहेको छ । यो सङ्कलनले अवश्य पनि नेपाली काव्य जगतमा एउटा नयाँ दिशा थप्नेछ ।
यहाँ उदाहरणार्थ यस उपविधाका प्रतिपादक कवि मिलन बोहोराको एक कविता दिइएको छ ।

ऋण


तिरूँ
कसरी
सबै ऋण ?
जन्मदै लाग्यो
जननीको ऋण
फेरि आयो पितृको
लिनै पर्यो प्रकृतिको,
साथीको, गुरूको ज्ञानको
कसको तिर्नु कसको छाड्नु ?
डुबेको छु ऋणले पूर्ण
कम हुन्छ ञ्यो जीवन
एउटै- मात्र तिर्न
यस्तै छ जीवन
ऋणको भारी
मर्नु ञ्पर्छ
नतिरी
ऋण
यी

रम्बास कविता साहित्य विधामा नौलो कुरा हो । यसलाई परिपक्वता दिन अझैं समय लाग्ला । तर एकदिन यो अवश्यै नेपाली भाषाबाट फल्दै फुल्दै विश्वका अन्य भाषामा लेखिने कविता विधामा पनि प्रवेश गर्नेछ । असमीया कवितामा यो आइपुगेको छ भने नेपाली साहित्यको स्तरीय अनलाइन ई-पत्रिका साहित्य पोष्टका पन्नामा पनि रम्बासले प्रविष्टि पाइसकेको छ । ‘तानाबाना’ को भूमिका लेखिदिने भारतेली आधुनिक नेपाली साहित्यका अन्यतम धरोहर साहित्यकार ज्ञान बहादुर छेत्री र त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट उत्तर आधुनिकतावादका लेखक डा. गोविन्दराज भट्टराईद्वारा पनि रम्बास शैलीलाई नेपाली काव्य जगतमा न्यानो स्वागत गरिसक्नु भएको छ । आशा छ, पिरामिड पछिको यो नौलो कविता विधालाई पाठक समाजले अँगाल्ने छन् ।


रेवतीरमण सापकोटा, ओदालगढी,असम, भारत
[email protected]