• २०८१ भाद्र २४ सोमबार

रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार कल्पना खरेल र भवानी पाण्डेलाई

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ नेपालगन्ज, बाँकेकी कल्पना खरेल र तेमाल, काभ्रेपलान्चोककी भवानी पाण्डेलाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । पुरस्कृत प्रतिभा कल्पना खरेलको कलम विविध बिधामा चलेको छ । पछिल्लो समय उनी उपन्यास विधामा बढी समर्पित भएकी छिन् ।

उनका क्षितिज पारिका शब्दहरु ( गीतिसङ्ग्रह २०७०), कामना गीति एल्बम (आधुनिक गीति एल्बम २०७०), समलिंग्गी सम्बन्ध (उपन्यास २०७२), रागीनी (कथासङ्ग्रह २०७४), लभ इन जेरुसलेम(उपन्यास २०७७), रानीतलाउ (उपन्यास २०७९) तथा पुरुष (उपन्यास २०७९) प्रकाशित छन् ।

अर्का पुरस्कृत प्रतिभा भवानी पाण्डे कविता र वाल साहित्यमा सकृय छिन् । उनका थरिथरिका फूल (वाल कविता २०६७), प्रकृति नै गुरु (वाल कविता सङ्ग्रह २०७१), हाम्रो बाल क्लव (वाल नाटक २०७४) तथा अक्षुण्ण (बाछिटा सङ्ग्रह) प्रकाशित छन् ।

साहित्यकार अमर त्यागीले आफ्ना पिता रणबहादुर श्रेष्ठ तथा माता लक्ष्मी श्रेष्ठको नाममा नवसर्जकलाई व्यवस्थापन गर्नुभएको यस पुरस्कारको राशी रु १५ हजारको रहेको छ । पहिलो वर्ष विसं २०७८ सालमा यो पुरस्कारले रौतहटका माधव काफ्ले तथा विसं २०७९ मा चितवनकी विमला अधिकारी देवकोटा पुरस्कृत भैसकेका छन् । यस वर्ष संयुक्त रुपमा प्रदान गर्न लागिएको हुँदा जनही ८–८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ ।