समाचार
जीवन नदीको कलकलाहटमा निरन्तर छ
त्यसरी नै बहेको छ-
अविरल, अविच्छिन्न र सधैं नयाँ किनाराको खोजीमा !
छ जीवन नदीका ति बेगवान धारहरूमा
जसले निरन्तर जडसुत्रबादी
किनारहरूलाई प्रहार गरिरहेको छ
र,
नाशवान बनाएको छ यथास्तिथीबादलाई ।
छ जीवन बगानका प्रत्येक पुष्ष गुच्छाहरूमा
तिनका अनमोल सुगन्धमा
तिनका अत्तरले लठ्ठिएको पर्यावरणमा
उज्यालो भएर लुकेको छ जीवन
बगानभरि छरिएको छ
रङ, सुवास र नवप्रभातको स्पन्दन बनेर
प्रत्येक पुष्पगुच्छामा फक्रिने
आशाको अमर गीत बनेर !
जीवन छैन सङ्लो पानीमा
बालुवा मात्रै देख्ने नयनहरूमा
न त छ लेऊमा अल्झिएर चिप्लनेहरूमा
जीवन बालुवा मात्रै पनि होइन,
त्यसमा टलक्क टल्किने सुनको कण हो ।
समयसँगै उड्न सक्छ बालुवा
तर,
त्यसमा चम्किएको सुनौलो रूपले
मूल्य र उज्यालो आफ्नो कहिल्यै गुमाउँदैन ।
जीवन क्षणभंगुरताभित्र पनि
अर्थ, आशा र अमूल्य चमक बोकेर
बाँचिरहन्छ सदा सदा ।
कुमाराज सुवेदी
अस्ट्रेलिया