समाचार
काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति (२०२६–२०२८) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । जुलाई ७ देखि ९ तारीखसम्म सम्पन्न भएको अनलाइन निर्वाचनमा अध्यक्ष पदमा अमेरिकाका लालगोपाल सुवेदी ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी क्यानडाका सुरेन उप्रेतीले ५५४ मत प्राप्त गर्नुभएको छ ।
अनेसास निर्वाचन समिति २०२६ ले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र सम्पूर्ण मतपरिणाम सार्वजनिक गरिएको जनाएको हो । निर्वाचनमा आजीवन सदस्यहरूले देखाएको सक्रिय सहभागिताका लागि समितिले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।
मुख्य पदहरूका विजेताहरूः
वरिष्ठ उपाध्यक्षः अमेरिकाकी तारा अधिकारी ७८४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष (अमेरिका): शकुन ज्ञवाली ९०३ मतका साथ विजयी हुनुभएको छ । सोही पदका अन्य प्रतिस्पर्धीहरू गीता बजगाईँले ४८० र अग्नि पराजुलीले ७२ मत प्राप्त गर्नुभयो ।
महासचिवः राजु सिटौला १,२०२ मतको भारी बहुमतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सहदेव कोइरालाले २७१ मत पाउनुभयो ।
निर्विरोध निर्वाचित पदाधिकारीहरूः
विभिन्न क्षेत्रका उपाध्यक्ष र अन्य महत्वपूर्ण पदहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्
उपाध्यक्ष (एशिया): दिनेशराज ज्ञवाली (जापान)
उपाध्यक्ष (युरोप): राज श्रेष्ठ (बेलायत)
उपाध्यक्ष (ओशिनिया): डा. प्रकाश पौडेल (अस्ट्रेलिया)
सचिवः ऋषभदेव घिमिरे (नेपाल)
कोषाध्यक्षः पुष्प खनाल (अमेरिका)
केन्द्रीय सदस्यहरूको परिणामः
केन्द्रीय सदस्य पदका लागि भएको प्रतिस्पर्धामा निम्न उम्मेदवारहरू विजयी भएका छन्ः १.मीरा कोइराला (अमेरिका)–१,२०३ मत (सबैभन्दा बढी) २. महेश्वर पन्त (अमेरिका)–१,०८९ मत ३.राजेन्द्र के.सी.(नेपाल)–१,००७ मत ४. हरिमाया अधिकारी (अमेरिका)–९४४ मत ५. डा. पारसमणि दङ्गाल (भारत)–९३० मत ।
सदस्य पदकै अन्य प्रतिस्पर्धीहरू डा.कृष्ण शाह यात्री (८३२ मत), नीलकण्ठ सुवेदी (६४६ मत) र पिपलमणि सिग्देल (६३४ मत) पराजित हुनुभएको छ । निर्वाचन समितिले नेपाली भाषा र साहित्यको सेवामा अनवरत संलग्न स्रष्टाहरूको गरिमामय संस्थाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरेकोमा अनेसास बोर्ड अफ ट्रष्टी, वर्तमान अध्यक्ष तथा केन्द्रीय कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण विजयी पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
