• २०८१ भाद्र २७ बिहीबार

दुई कथाकार लघुकथा समाजद्वारा पुरस्कृत

फागुन लघुकथा समाज नेपाल केन्द्रीय समिति काठमाडौँले कथा र लघुकथा विधाको महत्त्वपूर्ण सम्मान पुरस्कार एक भव्य समारोह आयोजना गरि अर्पण गरेको छ । कार्यक्रममा यस वर्षको ‘सावित्री केशर कथा सम्मान’ वरिष्ठ कथाकार बाबा न्यौपानेलाई दोसल्ला, सम्मानपत्र सहित नगद रू २१००० बाट प्रमुख अतिथि प्रा. डा. लक्ष्मणप्रसाद गौतमले अर्पण गर्नुभएको थियो । यसैगरी यस वर्षको ‘बाटुली खिलराज लघुकथा सम्मान’ पोखरामा रहेर लघुकथा उन्नयनमा समर्पित लघुकथाकार कल्याण पन्तलाई दोसल्ला, सम्मानपत्र, नगद रू २१००० सहित प्रदान गरिएको थियो ।

सम्मान प्राप्त गरेपछि निर्णयक प्रति हार्दिृक आभार व्यक्तगर्दै कथाकार न्यौपानेले भन्नुभयो ‘अहिलेको प्रविधिको युगभन्दा धेरै पहिले अटोग्राफको चलन थियो । मुक्तक र टुक्रा लेख्दा लेख्दै लेख्ने बानी पर्यो । गुरुप्रसाद मैनालीको नासो र विश्वेश्वरप्रसाद कोईरालाको दोषी चस्मा पढेपछि कथाले रुचि जगायो । म त्यति सक्रिय नभएको अवस्थामा पनि सम्झेर सम्मान पुरस्कार प्रदानगर्ने दाता र निर्णायक प्रति आभार व्यक्त गर्दछु । अर्का सम्मानित प्रतिभा पन्तले ‘नेपाली साहित्य सिण्डिकेटबाट अछुतो छैन । राजधानी र मोफसलको दूरी भएकै बेला पनि समाजले मलाई सम्झिएकोमा खुसी छु । पोखरामा रहेर लघुकथामा सक्रिय छु । हरेक महिनाको दोस्रो शनिबार लघुकथा लेख्ने र लेखाउने अनिवाचन गरिन्छ ।

प्रमुख अतिथि प्रा. डा. लक्ष्मणप्रसाद गौतमले लघुकथाको मानक सिद्धान्त तयार गरे बापत समाजले मलाई २०७३ सालमा यो सम्मान पुरस्कार प्रदान गरेको थियो । यो सम्मान पुरस्कार कल्याण पन्त जस्तो सक्रिय व्यक्तिले पाउँदा अत्यन्तै खुशी लागेको छ । २०७३ सालमा कथाकार परशु प्रधानले पाउनु भएको पहिलो सम्मान पुरस्कार बाबा न्यौपानेले पाउनु भएको छ । उहाँ बामनप्रसाद न्यौपाने हुनुहुन्छ । हामीले कथाकार बाबा न्यौपानेलाई सम्मान गरेका हौं । बाबा न्यौपाने थोरै लेखेर पनि गहिरो प्रभाव छाड्ने पोषण पाण्डे र खिलध्वज बिष्ट जस्तो हुनुहुन्छ । यस्ता साधकलाई सम्मान गर्न पाउँदा समाज आफै सम्मानित भएको छ । समाजका अध्यक्ष गोपाल अश्कको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन श्रीबाबु कार्कीले गरेका थिए ।