समाचार
काठमाडौँ ।
नेवार समुदायका परम्परागत मुकुन्डोनाच र जीवित इतिहास समेटिएको वृहत् ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ सार्वजनिक गरिएको छ। वरिष्ठ नृत्यशास्त्री एवं अनुसन्धाता वीणा जोशी (राजभण्डारी) द्वारा लिखित यो ग्रन्थ आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच परम्परागत गुरुहरूबाट लोकार्पण गरिएको हो । लोकार्पणका क्रममा सहनाई वादन, आरतीसहित मुकुन्डोनाचका केही झाँकीहरूसमेत प्रदर्शन गरिएको थियो। लामो समयको खोज–अनुसन्धानपछि तयार भएको यस ग्रन्थमा नेवार समुदायमा प्रचलित मुकुन्डोनाचको तान्त्रिक पृष्ठभूमि, सांस्कृतिक आयाम र सिङ्गो नेपालकै ऐतिहासिक पक्ष समेटिएको छ ।
काठमाडौं लगायत मुलुकका विभिन्न स्थानका नेवार समुदायले मनाउँदै आएका जात्रा, चाडपर्व र नाच्दै आएका मुकुन्डोनाचहरूको विस्तृत दस्ताबेजसहित तयार पारिएको यो ग्रन्थ नेपाली संस्कृति, इतिहास र नृत्य जगत्का साथै सांस्कृतिक अध्येताहरूका लागि महत्त्वपूर्ण अध्ययन सामग्री बन्ने विश्वास गरिएको छ । पुस्तक सार्वजनिक भएसँगै लेखिका जोशीले ग्रन्थको सिर्जनप्रक्रिया, प्राविधिक विशिष्टता र ऐतिहासिक महत्त्वबारे विस्तृत चर्चा गरिन्। कुनै समय राष्ट्रिय नाचघरमा नृत्य निर्देशक तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा अनुसन्धानकर्ताका रूपमा काम गरिसकेकी जोशीका अनुसार समाजमा नृत्यलाई हेरुन्जेल हेर्ने र त्यसपछि बिर्सने सामान्य मनोरञ्जनका रूपमा मात्र लिने गरिन्छ ।
तर, परम्परागत र सांस्कृतिक नाचहरूका पछाडि एउटा गहिरो इतिहास लुकेको हुन्छ। ‘हामी जुन परम्परागत नाचको कुरा गरिरहेका छौँ, त्यो कुनै न कुनै कम्युनिटी (समुदाय) को इतिहाससँग जोडिएको हुन्छ’, उनले भनिन्, ‘त्यो नाच कुन वातावरणमा सिर्जना भयो ? त्यो समुदाय कस्तो सामाजिक, आर्थिक र भौगोलिक पृष्ठभूमिबाट सुरु भयो ? उनीहरूको धार्मिक आस्था के थियो ? यी सबै कुरा नाचमा प्रतिबिम्बित हुन्छन्। त्यसैले नाच भनेको समुदायको नलेखिएको जीवित इतिहास हो ।’ विभिन्न ऐतिहासिक पृष्ठभूमिबाट उत्पन्न भएका नाचहरू परम्परागत संस्कृति मात्र नभएर वैज्ञानिक रूपमा जीवन र जगत्सँग प्रत्यक्ष जोडिएको हुनाले यसको जगेर्ना गर्दै नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक रहेको उनले बताइन्।
‘यदि एउटा परम्परागत नाच मर्यो भने त्यस समुदायको इतिहासको एउटा ठूलो अङ्ग सधैँका लागि भङ्ग हुन्छ’, उनले थपिन्, ‘हिजोआज धेरै नाचहरू लोप हुने अवस्थामा पुगेका छन्। कमसेकम यसलाई इतिहास र सिद्धान्तका रूपमा संरक्षण गर्न सकियो भने भोलिका पुस्ताले आफ्नो कल्चर र पहिचान रियालाइज गर्न पाउनेछन् ।’ लामो समय नृत्य अध्ययन–अनुसन्धानमा बिताएकी लेखिकालाई यो ग्रन्थ तयार पार्न झन्डै ३० वर्ष लाग्यो। तन्त्रविद्यासँग जोडिएको साधना र तिनका गुह्य पक्ष महिलालाई बताउनु हुँदैन भन्ने परम्परागत मान्यता र सोचका कारण पनि खोजमा विलम्ब भएको उनले बताइन् । सम्बन्धित नाचका गुरुहरूको विश्वास जितेर ऐतिहासिक पक्ष खोतल्नु उनका लागि कम चुनौतीपूर्ण थिएन। एउटै नाचको जानकारी लिन धेरै जनासँग र पटकपटक भेट्नुपरेको अनुभव उनले सुनाइन्। काठमाडौंमा डेराको दैनिकी, डेरा सर्दा र विभिन्न प्राविधिक कारणले पाण्डुलिपि हराउने समस्याले पनि उनलाई दुःख दियो ।
ग्रन्थलाई अन्तिम रूप दिएपछि सम्पादनका लागि पनि चोरी हुने वा अरूले विचार चोरेर छापिदिनेजस्ता अनेकौँ जोखिमका कारण समय लाग्यो। तर, उनीभित्र पुस्तक लेख्नुपर्छ भन्ने हुटहुटी जागिरह्यो। ‘जति नै समस्या परे पनि मनमा पुस्तक लेख्ने बत्ती कहिल्यै निभेन’, जोशीले भनिन् । धेरै मिहिनेत गरेर नेवार समुदायको ऐतिहासिक धरातलको चिरफार गरी तयार पारिएको यो ग्रन्थ रामायण र महाभारतजस्तै घरघरमा सङ्ग्रह गरियोस् भन्ने उनको चाहना छ। उनले भनिन्, ‘धेरैले ससानो किताब बनाउँछन्, जुन मानिसले पढ्छन् र पछि डस्टबिनमा फाल्छन्। मचाहिँ मेरो किताब कसैले फालोस् भन्ने चाहन्नँ। यो यति मोटो र बृहत् छ कि कसैले यसलाई फाल्ने हिम्मत पनि गर्दैन । जसले लिन्छ, उसले घरमा रामायण, महाभारतजस्तै आदरका साथ राखोस्, यो एउटा धार्मिक ग्रन्थजस्तै सुरक्षित रहोस् भन्ने मेरो चाहना हो ।’
पुस्तकमा नेवार समुदायमा प्रचलित मुकुन्डो नाचहरूको सूक्ष्म विश्लेषण गरिएको छ। नेवार समुदायका प्रायः सबै धार्मिक तथा सांस्कृतिक नाचहरू मुकुन्डो लगाएर नाचिन्छन् । यसका पछाडि गहिरो तान्त्रिक मान्यता रहेको जोशीले स्पष्ट पारिन्। तन्त्रसाधनाका अनुसार नाच एउटा ध्यान हो, जसको माध्यमबाट देवतालाई साकार र जीवित रूप दिइन्छ। लामो पूजा, वाद्यवादन र साधनापछि जब नृत्यकारले व्रह्मायणी, भद्रकाली वा अन्य देवीदेवताको मुकुन्डो लगाउँछ, तब उसको शरीरमा साक्षात् सोही देवताको शक्ति प्रवेश गर्छ भन्ने जनविश्वास र परम्परा रहेको छ। नेवार समुदायका मुकुन्डोनाचहरू मुख्यतः अष्टमातृकामा निर्भर छन् । तन्त्रको भेद र शास्त्रअनुसार कतै आठै जना, कतै सात जना, कतै पाँच जना त कतै तीन जना पात्रहरू नाच्छन्। कुनै नाचमा ब्रह्मायणी मुख्य हुन्छिन् भने कतै काली वा इन्द्रायणी। यसले प्राचीन कालमा कुन इलाकामा कुन तान्त्रिक सम्प्रदायको प्रभाव थियो भन्ने कुरा प्रमाणित गर्छ, जसको लिखित इतिहास कतै भेटिँदैन ।
काठमाडौंकी रैथाने भएर पनि आफूलाई मधेसी नेवारका रूपमा चिनाउन रुचाउने जोशीका लागि तान्त्रिक ज्ञानसहितको जानकारी सङ्कलन गर्नु फलामको चिउरा चपाउनुसरह थियो। तन्त्रविद्या गोप्य राखिने र त्यसमा पनि कतिपय अवस्थामा महिलालाई दीक्षा नदिइने, केही नबताउने सामाजिक बन्देज थियो। तर उनले आफ्ना गुरु सप्तमुनि वज्राचार्यको सहयोगमा काठमाडौं उपत्यकाका परम्परागत नाचगुरु, बाजागुरु र तन्त्राचार्यहरूलाई भेट्ने र उनीहरूको विश्वास जित्ने मौका पाइन्, जसले यो ग्रन्थको मुख्य जग बसायो । ग्रन्थका सम्पादक होम भट्टराईका अनुसार यो कृति बजारमा आउनु आफैँमा एउटा ठूलो चुनौती र उपलब्धि हो । पुस्तक धेरै मोटो र विस्तृत भएकाले सुरुमा यसलाई सजिलोका लागि छुट्टाछुट्टै किताबका रूपमा प्रकाशन गर्ने कि भन्ने योजना बनाइएको थियो ।
‘विगतमा कृषिसम्बन्धी पुस्तक प्रकाशनको सिलसिलामा ठूलो भएकाले टुक्राटुक्रा गरेर निकालौँ भन्ने मेरो प्रस्तावमा डा. फणिन्द्रप्रसाद न्यौपानेले नाइँ, टुक्रा पारियो भने यसको महत्त्व घट्छ भनेर एउटै बृहत् ग्रन्थ बनाउन सिफारिस गर्नुभएको थियो, जसले पछि मदन पुरस्कारसमेत पायो’, सम्पादक भट्टराईले भने, ‘यदि त्यो टुक्रिएको भए त्यसको गरिमा रहँदैनथ्यो। त्यही निष्कर्षका आधारमा हामीले यो मुकुन्डोनाचको सम्पूर्ण सङ्ग्रहलाई एउटै बृहत् ग्रन्थ निर्माण गर्ने निर्णय गर्यौँ ।’ बजारमा उपलब्ध अन्य सांस्कृतिक पुस्तकहरूभन्दा प्रस्तुत ग्रन्थको प्राविधिक र शास्त्रीय विशिष्टता गहन एवं महत्त्वपूर्ण रहेको उनको विश्वास छ। यस ग्रन्थमा मुकुन्डोनाचको ऐतिहासिक पक्ष मात्र होइन, यसको प्रविधि, प्रस्तुति, पूजा विधि, नाचमा संलग्न सामाजिक पात्रहरूको जिम्मेवारी, गुठीको व्यवस्थापनलगायत सम्पूर्ण पक्ष समेटिएकाले यो नेवार समुदायका मुकुन्डोनाचहरूको सर्वाङ्गीण विश्लेषणसहितको ग्रन्थ बनेको छ ।
अर्धतान्त्रिक पद्धतिमा रहेका मुकुन्डोनाच प्रमुखतः शास्त्रीयतामा आधारित छन्, जसको प्रमुख आधार भरतमुनिको ‘नाट्यशास्त्र’ देखिन्छ। सम्पादकका अनुसार लेखिकाले लामो समयसम्म विभिन्न नाचहरूको प्रत्यक्ष अवलोकन, निरीक्षण गरी पात्रहरूका आङ्गिक अभिनय, सात्त्विक अभिनय, वाचिक अभिनय, आहार्य अभिनय र हस्तमुद्रा आदिको एकएक गरी शास्त्रीय विश्लेषण गरेकी छन् ।
