• २०८१ असोज २९ मङ्गलबार

खतना

अमर न्यौपाने

अमर न्यौपाने

फूलटेक्राको ढुङ्गे बाटोको छेउमा सानो बालचौर छ, जसले केटाकेटी पर्खेर बसिरहन्छ । त्यो बालचौर हरियो दूबोले ढाकिएको छ । प्रायः केटाकेटीको अनुहारजस्तै हँसिलो देखिन्छ ।
फुर्सद मिल्नासाथ केटाकटीहरू त्यो चौरतिर गइहाल्छन् र खेल्न थालिहाल्छन् । केटाकेटीहरू त्यो हरियो बालचौरमा खेल्न पाउँदा फूलझैँ खुसी र बादलझैँ चञ्चल हुन्छन् ।
अब्दुल अजीज र विवेक पाण्डे फुर्सद पाउनासाथ त्यही चौरमा गइहाल्छन् र खेल्न थालिहाल्छन् । उनीहरूको खेल्ने तरिका भने अरूको भन्दा अलगै छ । उनीहरू अरू साथीको समूहमा कमै सहभागी हुन्छन् । उनीहरू अरूसँग त्यति घुलमिल हुन सक्तैनन् । ती दुई भने एकअर्कामा यसरी घुलमिल भएका छन् कि मानौँ अजीज पानी हो भने विवेक चिनी हो ।

ती दुई कबड्डी खेल्दैथिए । खेल्दाखेल्दै अजीज रोकियो र भन्यो– ‘मुत्न जान्छु ।’
ऊ चौरको किनारतिर दौडियो । अजीज दौडेपछि विवेक पनि उसको पछिपछि ‘मलाई पनि आयो’ भन्दै दौडियो । यस्तो लाग्थ्यो, उनीहरूलाई भोक पनि सँगै लाग्छ र तिर्खा पनि; जाँगर पनि सँगै लाग्छ र थकाइ पनि ।
पिसाब फेर्ने तयारी गर्दागर्दै विवेकको मनमा झट्ट एउटा कुरा आयो र भन्यो– ‘कस्ले टाढा पु-याउने ?’
‘ल, कस्ले टाढा पु-याउने ?’ अजीज पनि तयार भइहाल्यो ।
उनीहरू हरेक कुरामा यसरी नै आफैँ खेलको सिर्जना गरेर मनोरञ्जित हुन्छन् । प्रतिस्पर्धा पनि गर्छन् । वादविवाद पनि गर्छन् । वेलावेलामा प्रेम मिसाएर झगडा पनि गर्छन् । जे गरे पनि प्रेम र मित्रताको मात्रा धेरै हुन्छ । त्यस्तो प्रेमपूर्ण प्रतिस्पर्धामा कहिले अजीजले जित्छ, कहिले विवेकले ।

दुवै एउटै लहरमा उभिए र कट्टु अलिकति तल झारेर पहिले आ–आफ्नो हेरे अनि एकअर्काको । प्रतिस्पर्धा सुरू हुनलाग्यो । दुवैले लामो सास तानेर रोके र एकसाथ भने– ‘ल, कस्ले टाढा पु-याउने ?’
उनीहरूको बोलीसँगसँगै पिसाबको धारो झर्न थाल्यो । सासले बल गरेर सकेसम्म आ–आफ्नो तर्फबाट टाढा पु-याउने प्रयत्न गरे । दुवैले आ–आफ्नो धारो हेरे अनि एक–अर्काको । अजीजको पर पुगेर झ-यो; विवेकको नजिकै झ¥यो । पर पु-याएर अजीजले भन्यो– ‘मेरो टाढा पुग्यो; तिम्रो त नजिकै खस्यो ।’
टाढा पु¥याउने बल गर्दागर्दै विवेकको पिसाबथैली रित्तियो र थोपाथोपा झर्न लाग्यो । अजीज कट्टु नतानी चिच्यायो– ‘मैले जितेँ, मैले जितेँ !’
विवेकले हार स्वीकार्दै कट्टु माथि सारेर सोध्यो– ‘तिमीले कसरी तेति टाढा पु¥याउन सक्यौ ?’
‘मलाई पिसाबले धेरै च्यापेर होला ।’
‘तेसो भए अब म धेरै पानी खान्छु र अर्कोपटक तिमीलाई जित्छु ।’
‘म पनि धेरै पानी खान्छु ।’
‘म तिमीले भन्दा धेरै पानी खान सक्छु । हेर न, मेरो पेट तिम्रोभन्दा ठूलो छ !’ विवेकले गन्जी माथि सा-यो र पेट ठूलो बनाएर देखायो ।
अजीजले पनि लामो सास तानेर पेट ठूलो बनाएर देखायो र भन्यो– ‘तिम्रोभन्दा मेरो पेट ठूलो छ ।’
पेट कसको ठूलो भन्ने प्रतिस्पर्धामा उनीहरूको हारजित भएन । त्यसपछि उनीहरू पानी खाने प्रतिस्पर्धा गर्न धारातिर दौडिए ।
विवेकको घरअगाडि धारो थियो । अञ्जुली थापेर पानी खाँदा कसले धेरै खान सक्यो भनेर छुट्याउन गाह्रो हुनेहुँदा विवेकले घरबाट स्टिलको ठूलो गिलास लिएर आयो । दुवैले नापेर पानी पिउने प्रतिस्पर्धा गर्नथाले । सात वर्षको फुच्चे विवेकले होडमा आएर तीन गिलास पानी पिउन सक्यो तर अजीजले सकेन ।
अजीजले भन्दा धेरै पानी पिउन सकेकोमा पिसाबको धारो टाढा पु¥याउन नसकेर अँध्यारिएको विवेकको अनुहार उज्यालियो र चिच्याउँदै भन्यो– ‘मैले जितेँ ।’
छक्क परेर अजीजले विवेकको अनुहार हेरिरह्यो । विवेकले भन्यो– ‘यति धेरै पानी खाएपछि त अब तिमीले भन्दा मैले नै टाढा पिसाबको धारो पु¥याउन सक्छु ।’
अजीजलाई पनि त्यस्तै लाग्यो र उसले सोध्यो– ‘तिमीले कसरी यति धेरै पानी पिउन सक्यौ विवेक ?’
‘तिमीलाई भन्दा मलाई धेरै तिर्खा लागेर होला ।’
‘तर पापाले भन्नुभको, हामी धेरै तिर्खा सहन सक्छौं रे ।’
‘कसरी ?’
‘रोजामा हेर न; एक महिनासम्म एक थोपा पनि पानी नखाई रोजा बस्छन् सबैले ।’
‘पानी नै नखाई बाँचिन्छ त ?’
‘घाम अस्ताएपछि मात्र खाने अनि घाम उदाउनुअघि मात्र खाने । रोजाको वेला पानी खाएको घामले देख्नुहुँदैन ।’
छक्क परेर विवेकले हेरिरह्यो । अजीजले थप्यो– ‘हामी जति तिर्खा सहन सक्छौँ, तेति नै भोक पनि सहन सक्छौँ । रोजाको वेला हामी घामलाई देखाएर खाना पनि खाँदैनौँ ।’
‘तेसो भए झ्यालढोका थुनेर खाए भइहाल्यो नि ।’
‘घाम हाम्रा ईश्वर हुन् । ईश्वर सबैतिर हुन्छन्; अँध्यारो कोठामा पनि हुन्छन् ।’
‘तेसो भए ईश्वर त घाम अस्ताएपछि पनि हुन्छन्, हैन र ? घाम अस्ताएपछि खाएको तिमीहरूको ईश्वरले देख्दैनन् र ?’
‘यो कुरा म अम्मीलाई सोध्छु ।’

०००
फेरि दुवै पहिलेकै ठाउँमा खोल्न गए । पानी धेरै खाएकाले पहिलेझैँ उफ्रिउफ्री खेल्न सकेनन् । खेल्दाखेल्दै दुवैलाई पिसाब लाग्यो । अझ धेरै पिसाब लागोस् ताकि धारो पर पुगोस् भनेर दुवैले केहीबेर खपे । त्यसपछि पहिलेजस्तै दुवैले एकैचोटि पिसाब फेर्ने प्रतिस्पर्धा गर्नलागे ।
त्यसपटक पनि अजीजले नै टाढा पु-यायो । ‘मैले नै टाढा पु-याएँ !’ अजीज चिच्यायो ।
पानी पिउँदा धेरै खुसी भएको विवेकको मन खिन्न भयो । उसलाई आफ्नै अङ्गसँग रिस उठ्यो । तर आफूलाई उसले हिम्मत नहारेको जस्तो देखाउन खोज्यो ।
भोलिपल्ट पनि अजीजले नै जित्यो । चारपटकसम्म अजीजले जितेपछि विवेक साँच्चै नै खिन्न भयो र हार स्वीकार ग-यो । तैपनि आफ्नो खिन्नतालाई कसरी खुसीमा परिवर्तन गर्ने भन्नेबारे विचार ग-यो । सोच्दै घर पुग्यो ।
राती पनि ननिदाइन्जेल मनमा ‘कसरी पटकपटक अजीजले मात्र जित्यो’ भन्ने बारेमा सोच्यो । कसरी अजीजले त्यति टाढ पु-याउन सक्यो भन्ने कारण खोज्यो । तर पत्ता लगाउन सकेन ।
अर्को दिन पनि साँझ अन्तिमपटक उनीहरू पिसाब फेर्ने प्रतिस्पर्धामा उत्रिए । फेरि पनि अजीजले नै जित्यो । अब भने विवेकले पूरै हार खायो ।
जति हार खाए पनि हार खानुको कारण पत्ता लगाउन सकेन । कारण पत्ता लगाउन पाए अजीजलाई जित्न सक्थेँ भन्ने लाग्यो । विवेकले आफूलाई अजीजभन्दा कमजोर मान्न तयार भएन ।

०००
त्यसपछि विवेकले गहिरिएर अजीजको तुरी हे¥यो । आफ्नो पनि हे¥यो । उसले आफ्नो र अजीजको तुरी फरक देख्यो । अजीजको तुरीको मणि छालाले ढाकिएको थिएन तर आफ्नो भने ढाकिएको देख्यो । यही कारणले अजीजले जितेको हो भन्ने उसलाई लाग्यो ।
देखिरहेर पनि यादै गरेको रहेनछ विवेकले । किन अजीजको र आफ्नो तुरीको बनौट फरक भयो ? उसले आफ्नी आमाले भनेको सम्झ्यो– ‘हामी सबैलाई ईश्वरले सृष्टि गरेका हुन् ।’
भनेपछि अजीजलाई सृष्टि गर्ने ईश्वर र आफूलाई सृष्टि गर्ने ईश्वर पनि एउटै भए । दुवैको तुरी बनाउने ईश्वर पनि एउटै भए ।
उसले बुझिसकेको थियो अजीज मुलमान हो र आफू हिन्दू हो । अजीजको ईश्वर अल्लाह हुन् । अजीजलाई बनाउने मात्र होइन टाढासम्म पिसाब पु¥याउन सक्ने अजीजको तुरी बनाउने पनि अल्लाह नै हुन् । कताकता उसलाई ईश्वरभन्दा अल्लाह नै ठीक र ठूलो लाग्यो ।
विवेकले आफ्नो र अजीजको अङ्ग हेर्दै भन्यो– ‘तिम्रो अल्लाहले तिम्रो तेस्तो बनाइदिए तर मेरो ईश्वरले मेरो यस्तो बनाइदिए ।’
‘तिम्रो र मेरो एउटै थियो । मेरो यस्तो त पछि बनाएको हो ।’
‘तिम्रो पनि मेरो जस्तै थियो र ?’
‘हाँ ।’
‘ईश्वर र अल्लाहले सल्लाह गरेर बनाएछन् कि ?’
‘किन ?’
‘मैले सुनेको कुरा हो– भारतमा हिन्दू र मुसलमानको युद्ध हुँदा हजारौँ मान्छे मरे रे ।’
‘हामी त सधैँ मिल्ने है ।’
‘हुन्छ ।’
‘तर हाम्रो तुरी मिल्दैन ।’
फेरि दुवै खेल्न थाले । तर विवेकको ध्यान खेलमा केन्द्रित हुन सकेन । खालि उसलाई आफू कमजोर र निर्बल भएको अनुभूतिले खिन्न बनाइरह्यो । केके कुरा मनमा खेलिरहे । मन थाम्न सकेन र भन्यो– ‘तिम्रो फेरि देखाऊ न !’
विवेकले नजिकै गएर गहिरिएर हे-यो । आफ्नो पनि कट्टु खोलेर हे¥यो । अजीजको र आफ्नो पालैपालो चलाएर हे-यो ।
‘तिम्रो टुप्पो किन काटेको ?’
‘यसो गरेपछि मुसलमान भएँ रे म ।’
‘तेसो भए पहिले तिमी मुसलमान थिएनौ ?’
‘था छैन ।’
‘यसो गर्नुलाई के भन्छन् ?’
‘खतना ।’
‘खतना गर्दा तिमीलाई दुखेन ?’
‘धेरै दुख्यो । धेरै रोएँ । अम्मीले सम्झाउनुभयो– ‘नरो बेटा, अल्लाहले सब ठीक गर्छन् ।’
अल्लाहलाई पनि ठीक बनाउन एक महिना लाग्यो । एक महिनासम्म म बिरामीजस्तै भएँ । त्यो वेला म अल्लाहसँग पनि रिसाएँ । अल्लाहसँग रिसाउनु हुँदैन भनेर पापाले सम्झाउनुभयो । तर मैले सम्झन सकिनँ । रोइरहेँ । खतना गरेपछि आफन्तहरूले पैसा, मिठाई, लुगा, खेलौना दिए । म रून छोडेँ । तर दुखिरह्यो । बिस्तारै दुख्न पनि छोड्यो ।’
‘यस्तो दुख्ने काम किन गरेको त ?’
‘अम्मीले भन्नुभएको दुख्नुभन्दा ठूलो कुरा मुसलमान हुनु हो रे ।’
‘मुसलमान हुनु ठूलो कुरा हो ?’
‘हाँ ।’
‘मलाई त पिसाब टाढा पु-याउनु ठूलो कुरा लागिरहेछ ।’
‘मुसलमान भएपछि पिसाब टाढा पु-याउन सकिहालिन्छ नि ।’
‘खतना गरेपछि म पनि मुसलमान हुन्छु ?’
‘था छैन । अम्मीलाई सोध्नुपर्छ ।’
‘जाऊ न, तिम्रो अम्मीलाई सोधेर आऊ ।’
अजीज दौडँदै आफ्नो घर गयो र एकैछिनमा दौडेर आइपुग्यो अनि भन्यो– ‘अरू धर्मको मान्छेलाई मुसलमान बनाउन सके सबैभन्दा धेरै धर्म मिल्छ रे ?’
‘मैले खतना गराएँ भने तिमीलाई धेरै धर्म मिल्छ ?’
‘हाँ ।’
‘तेसो भए म आमालाई भनेर खतना गराउँछु र मुसलमान बन्छु । तिमीलाई धेरै धर्म मिल्छ र मलाई जित मिल्छ ।’
यति भएपछि उसलाई थाहा भयो, खतना गरेकाले नै अजीजले त्यति टाढा पिसाब पु-याउन सकेको हो । आफ्नो पनि खतना गराए टाढा पिसाब पु-याउन सक्छु भन्ने उसलाई लाग्यो ।

०००
राती सुत्ने वेलामा विवेक आमासँग लुपुक्क टाँसियो अनि अत्यन्त मायालु र विनम्र भएर भन्यो– ‘आमा !’
‘हजुर !’
‘एउटा कुरा भनम् ?’
आजसम्म विवेकले त्यसरी भूमिका बाँधेर आमालाई केही कुरा पनि भनेको थिएन । कुनै महत्वपूर्ण कुरा भन्न खोजेको भाव उसको आँखा र अनुहारमा छल्किएको बत्तीको मधुरो प्रकाशमा देखिएको थियो । आमाले हाँसेर भनिन्– ‘भन् न, के हो ? आफ्नी आमालाई सोध्न पनि यसरी भूमिका बाँध्नुपर्छ ?’
उसले अझै मायालु पारामा बिन्ती बिसायो– ‘मेरो पनि अजीजको जस्तै खतना गराइदिनू न !’

……………………………………
(न्यौपाने स्थापित आख्यानकार हुन्)
[email protected]