कुनै समय अभिनेता शिवहरि पौडेल एक छाकको गर्जो टार्न नयाँ सन्देश र युगसंवाद पत्रिकाहरू बाटोमा बेच्दै हिँड्थे, थोत्रा गाडीको लिलामीको टेन्डर अरूलाई बेच्थे र पनि कति साँझ एक लोटा पानी पिएका भरमा गुजारा गर्थे ।
उनी मकवानपुरको अमलेखगञ्जमा जन्मेका हुन् । उनले कक्षा सातसम्म त्यहीँको विद्यालयमा पढे । तर आर्थिक विपन्नताका कारण पिता टीकादत्त उपाध्याय पौडेलले पढाउन सक्तिनँ भनेपपछि ०३२ सालमा उनी परिवारसहित हेटौडा आए । त्यहाँको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा उनका साहिँला दाइ शिक्षक थिए र एसएलसीसम्म उनैले पढाइ दिने भए । त्यहाँ उनले कक्षा दसको टेस्ट दिनासाथ ०३८ भदौ १ गतेदेखि १० रुपियाँ दैनिक हाजिरामा अमलेखगञ्ज आयल निगममा काम गर्न थाले । त्यति बेला उनलाई पढाइ भन्दा बढी पैसाको आवश्यकता थियो । कमजोर आर्थिक अवस्था भएकै कारण पिताजीले दसैँमा लुगा हाल्ँदिदा पनि स्कुलको युनिफर्म नै छानिदिनु हुन्थ्यो । यति प्रतिकूल आर्थिक अवस्थासँग पौँठेजोरी खेल्दै आएका हुन् आजका चर्चित हास्य अभिनेता शिवहरि पौडेल । जीवनका १५–१६ वर्षभरि उनको शरीरमा हाफ प्यान्ट र पाइजामाबाहेक अरू पहिरन पर्नै सकेन । । उनले फुल प्यान्ट भिरेको त एसएलसी उत्तीर्ण गरेपछि मात्र हो । त्यो पनि दाइले एसएलसी पास गर्यौ भने फुल प्यान्ट हाल्दिन्छु भनेका थिए र मात्र । त्यो पनि हेटौडा कपडा उद्योगमा बनेकै कपडाको ।
एसएलसी गरेपछि पनि उनी दैनिक हाजिरामै काम गरिरहे । त्यही बेला आयल निगमका हाकिम काठमाडौँबाट हेटौडा झरेका थिए, निरीक्षणका लागि । उनले ती हाकिमसँग आफ्नो आर्थिक अवस्था र पढाइको कुरा उठाएर काठमाडौँ सरुवा गरिदिन रोइकराइ नै गरे । किनभने त्यहाँबाट २० किलोमिटर टाढाको हेटौडा र ३० किलोमिटर टाढाको वीरगञ्जसम्म गएर रात्रि कलेज पढ्न सम्भव थिएन । त्यसैले उनले हाकिमसँग काठमाडौँ सरुवा गरिदिन बिन्तीभाउ गरे । हामिक दयालु निस्के । उनले ‘यति पैसाले त तपाईंलाई काठमाडौँमा बस्न पनि पुग्दैन अनि केले पढ्नु हुन्छ, केले खानु्हुन्छ ? त्यसैले म तपाईंलाई अस्थायी नियुक्ति गरिदिन्छु’ भने । उनलाई ढुङ्गा खोज्दा देउता पाएजस्तै भए ती हाकिम । उनी फुरुङ्ग परे । काठमाडौँ आए । पाँच सय ३२ रुपियाँ ७५ पैसा मासिक आय हुनेभयो । हुन त त्यति पैसाले २०४० सालमा काठमाडौँका गुजारा गर्न त्यति सजिलो थिएन तर शिक्षाको भोकले उनी काठमाडौँ हान्निए र पाटन क्याम्पसमा भर्ना भए ।
स्वाभाविक थियो, यति आम्दानीले काठमाडौँमा टिक्न कठिन थियो । कोठा भाडामा मात्र मासिक एक सय २० रुपियाँ बुझाउनु पथ्र्यो । त्यसमाथि एक सय २९ रुपियाँ क्याम्पस फि । बाँकी दुई सय ८३ रपियाँ ७५ पैसाले खानालगायत खर्च चलाउनु पथ्र्यो । जिन्दगी एकदमै सकसपूर्ण थियो । तीन दिनसम्म त उनले पालुङ्गो र चम्सुरको एक मुठा साग उमालेर खाएको भरमा जीवन धाने । अनि उनले आर्थिक अवस्था अलि सजिलो बनाउने सोचले पत्रिका हकरको काम गर्न थाले । रत्नपार्कबाट नयाँ सन्देश र युगसंवाद पत्रिका ४०–४० थान किनेर बिहान टुडिखेलमा बेच्न थाले । त्यसबाट एउटा पत्रिकाको एक रुपियाँका दरले ८० वटा पत्रिकाको ८० रुपियाँ नै आम्दानी हुनथाल्यो । यस रुपियाँले उनलाई रत्नपार्कको रिमझिम भोजनालयमा मज्जाले दालभात खान पुग्ने भयो । खाजा र बेलुकाको खाना पनि बल्लतल्ल त्यसैबाट पुर्याउन थाले ।
त्यही बेला विभिन्न खालको टेन्डरको काम गर्ने साथी भेटिए । त्यस बेला टेन्डर हाल्न कुनै फर्म दर्ता गर्नु पर्दैनथ्यो । लाहाछाप लगाएर जसले पनि टेन्डर हाल्न पाउँथ्यो । त्यस ताका रेड क्रस, एनआईडीसी, कृषि विकास बैङ्कहरूतिर थोत्रा गाडी, मोटरसाइकल आदिको लिलामीको टेन्डर खुलिरहन्थ्यो । त्यसबाट उनलाई टेन्डर पथ्र्यो तर आफैँले त्यत्रो लगानी गरेर यस्ता साधन किन्ने हैसियत थिएन । उनी आफूभन्दा मुनिको टेन्डरवालाबाट चार–पाँच हजार रुपियाँ लिएर आफूलाई परेको टेन्डर छोडिदिन्थे । अनि फेरि अर्को ठाउँमा टेन्डर हाल्न जान्थे । यसरी सङ्घर्ष गर्दै उनी पढाइमै ध्यान दिन थाले । उनी त्यति बेलासम्म कलाकार भइसकेका थिएनन् ।
आयल निगममै काम गर्दा एकजना अमृत लामा भन्ने साथी फेला परे, पछि उनले ‘ताल’ नामक चलचित्र पनि बनाए । अमृतको अवस्था पनि उनकै जस्तो थियो । उनीहरू दुबै एउटै कोठामा बस्न थाले । अनि शिवलाई भाडा तिर्न अलि सहज भयो । त्यही बेला उनी मुखियामा स्थायी भए । तर त्यो पैसा पनि महिना मरेको १० गतेसम्म साथीहरूबाट लिएको सरसापट तिर्दा झ्वाम हुन्थ्यो । दस दिनपछि गोजी रित्तै । कतिपटक त उनी दिउँसो खाजा खाएको भरमा छर्लङ्ग रात काट्थे । ‘दुई जना भइसकेपछि चाहिँ भोकले पनि त्यति अप्ठ्यारो पारेन’ शिव भन्छन्– ‘कुरा गर्दागर्दै निदाउँथ्यौँ, भोक लागेको हेक्कै हुँदैनथ्यो ।’
त्यही बेला विभिन्न ठाउँमा खरिदारसरहको जागिरका लागि विज्ञापन भयो । उनको मनमा जागिर खानलाई पढ्नुपर्छ भन्ने कुराले झकझक्याएको थियो । त्यसैले उनले बजारमा पाइने मुखिया–खरिदारका गाइडहरू कण्ठ पारेका थिए । प्राय सबैतिर पहिलो नम्बरमै उनको नाम निस्कियो । अनि अरूतिरको वैकल्पिक पदहरू चाहि अरूलाई नै दुईचार हजारमा बेचिदिएर राष्ट्र बैङ्क गए जागिर खान । त्यहाँ गएपछि चाहिँ आयल निगमको भन्दा बढी तलब पाए– सात सय १० रुपियाँ । यसले गुजारा गर्न केही सहज भएजस्तो भयो । त्यही बेला उनले प्रेस इन्स्टिच्युटमा १० महिने पत्रकारिता तालिम पनि लिए । अनि साप्ताहिकमञ्चबाट प्रकाशित हुने रूपरङ्ग पत्रिकाबाट पत्रकारिता पनि गर्न थाले । त्यसपछि ‘दी सन’ भन्ने पत्रिका निकाले । यस पत्रिकामा पनि घाटा लाग्यो र त्यो पत्रिका छोडेर श्री भन्ने पत्रिकामा स्तम्भ लेख्न थाले । यसै क्रममा उनले कवि बसन्त चौधरीले प्रकाशन गर्ने उर्वशी सिने मासिकमा पनि प्रशिक्षार्थी पत्रकार भएर केही समय काम गरे ।
त्यस बेला सँगै पढ्ने केदार कार्की उनी निकट भएका थिए । केदारसँग भेट भएपछि उनको अभिनय–क्षेत्रमा प्रवेश भयो । अभियान समूहले अभिनयको तालिम दिँदै रहेछ– दुई सय ५० रुपियाँमा मासिक शुल्क लिएर । संयोगले त्यहाँ प्रशिक्षण दिने व्यक्ति रहेछन् दिल्लीको राष्ट्रिय नाट्य विद्यालयबाट स्वर्ण पदक प्राप्त गरेर डिम्लोमा उत्तीर्ण गरेका सुनील पोखरेल । त्यहाँ लय सङ्ग्रौला आइरहन्थे । शिवले तालिम लिन थालेको दुई हप्ताजति भएको थियो । उनले एक दिन भने– ‘केटा हो ! तालिम मात्र लिएर हुँदैन, ठाडै अखडामा होमिनुपर्छ, हिँड टेलिफिल्म खेल्न !’ लयले त्यस बेला ‘ऊ अब एक्लो छैन’ भन्ने टेलिफिल्म बनाउँदै रहेछन् । शिव त्यसैमा गएर पहिलोपटक होमिए । त्यसपछि उनलाई अभिनयमा मोह जागरण भयो । राष्ट्र बैङ्कमै काम गर्ने युधीर थापाको कथामा एउटा टेलिफिल्ममा उनले अभिनय गर्ने अवसर पाएका थिए तर लाज र सङ्कोचले एक शब्द संवाद पनि बोल्न सकेनन् र अभिनय गरेर खाने रहेनछु भनेर प्रोडक्सनको काम मात्र गर्न थालेका थिए । तर त्यो टेलिफिल्म पनि बनेन । तैपनि अभिनयको भूत सवार भइ नै रह्यो । ठूलाबडालाई सिफारिस गरेर दुईचारवटा टेलिफिल्महरूमा अभिनय पनि गरे तर एउटा सानो भूमिकाका लागि बिहान मेकअप गरेर पर्खिंदापर्खिंदा रातीसम्म पनि पालो आउँदैनथ्यो । त्यति गरेर अभिनय गरेका टेलिफिल्म पछि हलमा आउँदा लामो भयो भनेर उनकै भूमिका काटिएर आउँथ्यो । अनि उनलाई अब यो क्षेत्र मेरो लागि उपयुक्त रहेनछ भन्ने निर्णयमा पुगेका थिए । त्यही बेला लयले उनलाई दुईतीनवटा टेलिफिल्म अभिनय गर्ने अवसर दिए र आज उनले यो चर्चित अभिनेता हुने अवसर पाएका हुन् । त्यसैले उनी रङ्गमञ्चमा सुनील पोखरेल र ठूलो पर्दामा लय सङ्ग्रौलालाई गुरु मान्छन् ।
लयले युनिसेफद्वारा निर्मित ‘देवी’ टेलिशृङ्लामा र सुनील पोखरेलले आरोण शनिवारका लागि गरिने नाटकमा खेल्ने अवसर दिएपछि मात्र उनको अभिनयले उड्ने आकास पायो, फैलिने क्षितिज पायो र टेक्ने धर्ती पायो ।
‘देवी’ बाट मेरो कायापलट भयो, म हिट भएँ’ शिव पुराना स्मृतिका पत्रहरू पल्टाउँदै भन्छन्– ‘त्यसपछि मलाई ठूला फिल्महरूका लागि प्रस्ताव आउन थाले ।’ तर आठ वर्षसम्म उनले जति फिल्ममा खेले पनि पारिश्रमिक एक पैसा पाएनन् । त्यस बेलासम्म उनले तीन वर्षमा लगातार ३९ वटा ठूला फिल्मका अभिनय गरेका थिए ।
तर सङ्घर्ष गर्न छाडेनन् र अभिनय क्षेत्रबाट हताश पनि भएनन । एक दिन अवश्य सफल हुन्छु भनेर उनी अभिनयमा लागिरहे । आरोहणमा काम गर्ने कलाकार खेम शर्मासँग उनको जोडी मिल्न थाल्यो । आफैँले हास्य–व्यङ्यका पटकथा–संवाद लेख्न, निर्देशन गर्न र रङ्गमञ्चमा अभिनय गर्नथाले । त्यसपछि अलिअलि आर्थिक भरथेग हुँदै जानथाल्यो ।
उनी भन्छन्– ‘अहिलेलाई चाहिँ म यो किनेर लगाउँछु, यस्तो खान्छु भन्ने कुराको अभाव छैन । काठमाडौँमा एउटा घर पनि बनाएँ । गाडी पनि चढ्छु र सबैले माया गर्ने परिचित अभिनेता भएको छु ।’ तर उनी आफू अरू कलाकारले जस्तो धाकधक्कु लगाउन चाहँदैनन् । भन्छन्– ‘म ए ग्रेडको कलाकार पनि होइन र सी ग्रेडमा पनि म जान चाहन्नँ । म बी ग्रेडको कलाकार हुँ ।’ यसरी उनले २९ वर्षको अभिनय–यात्रा पार गरिसकेका छन् ।
मुख्यतः उनी आरोहण शनिवारमा नाटक गरेका कारण लोकप्रिय भएको मान्छन् । त्यस बेला आरोहणले फ्रान्सेली सांस्कृतिक केन्द्रसँग सहकार्य गरेकाले त्यहाँ नाटक हेर्न आउने दर्शकहरू वरिष्ठ पत्रकार, राजदूत, सचिव हुन्थे । त्यहाँ नाटक खेलेकाले सुरुवाती दिनमा उनी अभिनेताका रूपमा चिनिए र लयको देवी टेलिशृङ्खलामा अभिनय गरेका कारण आमदर्शकमाझ लोकप्रिय भएको स्वीकार्छन् ।
एकपटक उनको जीवनमा अनौठो घटना भयो, जुन घटनाले उनलाई राष्ट्र बैङ्कले भैरहवाबाट काठामाडौँ फर्काउन बाध्य पार्यो । काठमाडौँबाट डेपुटी गभर्नर निरीक्षणमा भैरहवा त्यहाँ गएका थिए । दुई बजेपछि बैङ्कमा बाहिरको काम हुँदैनथ्यो तर पनि मानिसहरूको बाक्लै भीड देखेर त्यहाँको प्रबन्धकलाई काउन्टरहरू नबडाएर किन भीड थुपारेको भनेर उनले झापे । प्रबन्धकले यथार्थ कुरा भने । ती मानिसहरू बैङ्कसँग कारोबार गर्न होइनन्, यहाँ काम गर्ने अभिनेता शिवहरि पौडेलसँग फोटो खिच्न भीड लागेका हुन भने र थपे– ‘उहाँलाई यहाँ काम गर्न एकदमै गाह्रो छ, बाटो हिँड्न पनि मुस्किल पर्छ ।’ त्यसपछि एक वर्ष पुग्नासाथ डिपुटी गभर्नरले उनलाई काठमाडौँमै सरुवा गरिदिए । एउटा अभिनेता भएर पाएका यस्ता स्याब्बासी र प्रशंसाका कथाहरू त उनीसँग कति छन् कति ! संयोगले उनीसँग हालका प्रधानमन्त्रीकी श्रीमती र पूर्व सेना प्रमुख छत्रमान गुरुङकी श्रीमतीसँगै उनले त्यहाँ काम गरेको अनुभव पनि छ ।
यतिखेर उनको आफ्नै लेखन–निर्देशनमा निर्माण भइरहेको ‘लक्का जवान’ चलचित्र अन्तिममा चरण छ । १२ वर्षसम्म ‘जिरे खुर्सानी’ चलचित्रको लेखन, निर्देशन र अभिनय गरे, ‘ब्रेक फेल’ मा पटकथा–संवाद र करिब एक सयवटा नाटक लेखे । यही अनुभवका आधारमा अब उनी आफ्नो पहिलो चलचित्र लिएर चैतमा दर्शकसामु आउँदै छन् । यसको सारा श्रेय उनी पत्रकारितालाई दिन्छन् । उनले लेख्ने कला पत्रकारिताबाटै सिकेको स्वीकार्छन् । र, ‘लक्का जवान’ सफल भयो भने त्यसको श्रेय पनि रूपरङ्ग, उर्वशी, श्रीलयागत पत्रिकालाई दिनेछन् । जुन पत्रिकाहरूले उनलाई लेख्न सिकायो । उनी भन्छन्– ‘रङ्ग पत्रिकारितामा लागेकाले मलाई दुइटा फाइदा भए– एउटा लेख्ने र अर्को चलचित्रकलालाई नजिकबाट बुझ्ने ।’
किन नेपाली चलचित्रले बजार लिन नसकेको भन्ने प्रश्नमा उनी भन्छन्– ‘प्रचार–प्रसारको कमी । मैले डुबेका भनिएका केही चलचित्र युट्युबमा हेरेको छु, ती असाध्य राम्रा छन् तर प्रचार–प्रसारको अभावमा दर्शकको जानकारीमा पुग्नै सकेनन् ।’ उनी थप्छन्– ‘आजको समयमा कुनै भोजभतेरमा आफ्नै काकालाई त निम्तो नदिई आउँदैनन् भने चलचित्रबारे प्रचार–प्रसार नगरी कसरी दर्शक हलसम्म आउँछन् त !! त्यसैले उनले ‘लक्का जवान’ कोे प्रचार–प्रसार गर्न कम्मर कसेर अहिलेदेखि नै लाग्नथालेका छन् ।